पेन्सन वितरण कार्यालय धरानमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस सम्पन्न

धरान । भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस भव्यताका साथ सम्पन्न गरिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघको ६९औँ महासभामा सन् २०१४ मा योग सबैका लागि सधैँका लागि आवश्यक भएकोले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा प्रस्ताव गरेपछि संयुक्त राष्ट्रसंघले सन् २०१५ जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गरेको हो । घोषणा अनुरूप सन् २०१६ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस संसारभरि मनाइँदै आएको छ ।


आइतबार पेन्सन वितरण कार्यालय परिसरमा वृहत् योग शिविरको आयोजना गरिएको थियो । शिविरमा कार्यालयका सम्पूर्ण कर्मचारी, उनीहरूका आश्रित परिवार, भारतीय भूतपूर्व सैनिक तथा उनीहरूका परिवार, स्थानीय समुदायका सबै उमेर समूहहरूको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि डा. मेजर सम्मी सुवर्ण र श्रीमती सुवर्ण रहनुभएको थियो । योग शिविरमा मुख्य प्रशिक्षकको रूपमा योग गुरु बृद्धिचन्द अग्रवाल र सहयोगी भरतराज शर्माले सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो । कार्यक्रम समापनका अवसरमा योग गुरु अग्रवालले वैज्ञानिक तथ्यमा आधारित योगले मानिसको स्मरण शक्तिमा सुधार ल्याउने, जीवनशैलीमा सहजता ल्याउने र शान्ति कायम गर्ने भन्दै योग दिवसको सबैमा शुभकामना व्यक्त गर्नुभएको थियो । यसैगरी सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने योग गुरु अग्रवाल र सहयोगी शर्मालाई मायाको चिनो कार्यालय प्रमुख समेत रहनुभएका डा. मेजर सुवर्णले प्रदान गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया