भारतीय विदेशमन्त्री डा. एस. जयशंकरको निमन्त्रणमा परराष्ट्रमन्त्री खनालको भारत भ्रमण

धरान । भारतीय विदेशमन्त्री डा. एस. जयशंकरको हार्दिकतापूर्ण निमन्त्रणमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले जेठ २२ गते भारतको औपचारिक भ्रमण शुरु गर्नुभएको छ ।
भारतीय विदेशमन्त्री डा. जयशंकर र परराष्ट्रमन्त्री खनालका बीचमा जेठ २३ गते नयाँदिल्लीमा द्विपक्षीय वार्ता भएको छ । दुवै मन्त्रीहरुबीच भएको वार्तामा विकास सहकार्य, कनेक्टिभिटी, व्यापार तथा पारवहन, ऊर्जा र दुवै देशका जनताबीचको प्रगाढ सम्बन्धका समग्र पक्षको समीक्षा भएको थियो । वार्ताका क्रममा उहाँहरुले आपसी हितका क्षेत्रीय तथा बहुपक्षीय विषयहरुमा समेत आफ्ना धारणाहरु एकआपसमा साटासाट गर्नुभएको थियो । भारतीय विदेश मन्त्रालय दिल्लीद्वारा शनिवार जारी विज्ञप्तिअनुसार मन्त्रीद्वयले नेपाल र भारतबीच विभिन्न क्षेत्रहरुमा भएका द्विपक्षीय सहकार्यको प्रगतिप्रति सन्तोष व्यक्त गर्नुभएको थियो । नवप्रवर्तन तथा स्टार्टअप, डिजिटल तथा वित्तीय प्रविधि एवं तालिम तथा क्षमता अभिवृद्धिका क्षेत्रहरुमा सहकार्य बढाउन चालिएका हालैका पहलहरुको उहाँहरुले स्वागत गर्नुभएको थियो । यसैगरी भारत र नेपालबीचको बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउँदै नयाँ उचाइँमा पु¥याउने प्रयासलाई तीव्र बनाउने उहाँहरुबीच सहमति समेत भएको छ ।


जारी विज्ञप्तिअनुसार दुवै मन्त्रीहरुले आपराधिक मामिलाहरुमा भारत–नेपाल पारस्परिक कानुनी सहायता सम्झौता (एमएलएए) कार्यान्वयनमा ल्याउनका लागि आन्तरिक प्रक्रियाहरु पूरा भएकामा त्यसको स्वागत गर्नुभएको थियो । कानुनी सहायता सम्झौताले सीमापार अपराधहरुसँग सम्बन्धित अनुसन्धान, अभियोजन र न्यायिक कारबाहीको प्रभावकारिता बढाउन एक संस्थागत कानुनी ढाँचा प्रदान गरी भारत र नेपालका नागरिकहरुलाई लाभ पु¥याउनेछ । दुवै मन्त्रीहरुबीच भएको द्विपक्षीय वार्तापश्चात् भारतका विदेशमन्त्री डा. एस. जयशंकरले नेपालका परराष्ट्रमन्त्री खनाललाई नेपालका लागि भारतको सन् २०१५ को महाभूकम्पपछिको पुनर्निर्माण सहयोगअन्तर्गत सम्पन्न भएका ७२ वटा स्वास्थ्य संस्था र १२ वटा सांस्कृतिक सम्पदा क्षेत्रका परियोजनाहरु हस्तान्तरण गर्नुभएको थियो । भारत र नेपालबीच सीमापार व्यक्तिगत विप्रेषणलाई सहज बनाउन मन्त्रीद्वयले संयुक्त रुपमा भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (युपीआई) र नेपालको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) बीच पियर–टु–पियर आबद्धताको शुरुवात गर्नुभएको थियो । यसैगरी भ्वाइस फस्ट भाषा अनुवाद प्लेटफर्मका लागि राष्ट्रिय डिजिटल पूर्वाधार सह–निर्माण गर्न डिजिटल इण्डिया भाषिनी र काठमाडौं विश्वविद्यालयबीच समझदारीपत्रमा भएको हस्ताक्षरको मन्त्रीद्वय साक्षीको रुपमा उपस्थित हुनुभयो । भेटवार्ताका क्रममा दुई देशबीचको विशिष्ट र विशेष सम्बन्धलाई प्रतिबिम्बित गर्दै छलफलहरु मैत्रीपूर्ण र रचनात्मक वातावरणमा सम्पन्न भएका थिए । भ्रमणका क्रममा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटेर वार्ता गर्नुभएको थियो । यहाँ स्मरणीय कुरा के छ भने सन् २०२६ मार्चमा नेपालमा नयाँ सरकारले कार्यभार सम्हालेयता दुई देशबीच परराष्ट्रमन्त्री स्तरमा भएको यो पहिलो भ्रमण हो । भारतको छिमेकी पहिलो नीति अन्तर्गत नेपाल भारतका लागि सर्वाधिक प्राथमिकतामा रहेको एक साझेदार देश हो र यस भ्रमणले दुई घनिष्ट तथा मित्रवत् छिमेकीबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई थप सुदृढ बनाएको छ । भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, भ्रमणले दुवै देशका जनताको आकांक्षा पूरा गर्नका लागि द्विपक्षीय साझेदारीलाई थप बढाउने विषयमा विचार आदानप्रदान गर्नुका साथै साझा उद्देश्यतर्फ दुवै देशका प्रयासहरुमा नयाँ ऊर्जा थपेको छ ।

तपाईको प्रतिक्रिया