धरान । सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य संस्थाहरूलाई समेत शनिबार र आइतबार गरी दुई दिन साप्ताहिक बिदा दिने निर्णय गरेपछि त्यसको प्रभाव स्वास्थ्य सेवामा समेत देखिन थालेको छ । यसको प्रत्यक्ष उदाहरण धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीहरूको बढ्दो चाप हो । दुई दिनको बिदाले स्वास्थ्यकर्मी तथा चिकित्सकलाई केही सहजता प्रदान गरे पनि सेवाग्राही भने समस्यामा परेका छन् । धरान–९ का फणिन्द्र तिम्सिनाले सरकारले लागू गरेको दुई दिनको बिदाका कारण सेवाग्राहीहरू अत्यन्तै मारमा परेको बताउनुहुन्छ । प्रतिष्ठानमा बिल काउन्टरमा लाइन, चिकित्सकसँग चेकजाँच गर्न लाइन, चेकजाँचपछि रिपोर्टका लागि रगत दिन लाइन लगाउनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । पटक–पटक प्रतिष्ठान जाँदा पनि बिरामीको अत्यधिक चापका कारण चिकित्सकसँग चेकजाँच गराउन नपाएको उहाँले गुनासो गर्नुभयो । उहाँ त प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । उहाँजस्तै धेरै सेवाग्राहीको समस्या उस्तै छ । अस्पतालमा अत्यधिक भीडभाड हुँदासेवाग्राहीहरूले समयमै उपचार सेवा पाउन नसक्ने अवस्था सिर्जना भएको छ । तर प्रतिष्ठानले बिरामीहरूको समस्यालाई मध्यनजर गर्दै बढ्दो चाप व्यवस्थापन गर्न ओपीडी पुर्जा वितरणका लागि थप काउन्टर सञ्चालन गर्ने जनाएको छ । प्रतिष्ठानका निमित्त उपकुलपति डा. इन्द्र लिम्बुका अनुसार स्वास्थ्य बीमामार्फत सेवा लिने बिरामीका लागि जीओडीबीचको भवनमा १२ वटा काउन्टर सञ्चालन गरिनेछ । त्यसैगरी, अन्तिम भवनमा स्वास्थ्य बीमा नभएका तथा शुल्क तिरेर पुर्जा लिने सेवाग्राहीका लागि ५ वटा काउन्टर सञ्चालनमा ल्याइनेछ ।

शुक्रबार, शनिबार र आइतबारको बिदापछि सोमबार अस्पताल खुल्दा बिरामीको अत्यधिक चाप हुने भएकाले उपचार सेवालाई सहज र व्यवस्थित बनाउन पुर्जा काउन्टर थप गर्नुका साथै केही सेवा केन्द्रको स्थानान्तरणसमेत गरिएको डा. लिम्बुले जानकारी दिनुभयो । सरकारको निर्णयअनुसार जेठ ८ गतेदेखि प्रतिष्ठानमा दुई दिन साप्ताहिक बिदा लागू गरिएको छ । गत साता बिरामीको चाप अत्यधिक बढ्दा एकै दिन ४ हजार २ सयभन्दा बढी बिरामी उपचारका लागि पुगेका थिए, जसका कारण सेवाव्यवस्थापनमा चुनौती देखिएको थियो ।
यस्तै, सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेपछि बी.पी. प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको संख्या अझ बढ्ने अनुमान गरिएको छ । यही अवस्थालाई ध्यानमा राख्दै सेवा व्यवस्थापनका लागि आवश्यक तयारी गरिएको प्रतिष्ठानले जनाएको छ । त्यसैगरी, प्रतिष्ठानका विभिन्न वार्डमा भर्ना भएका बिरामीहरूको सहजताका लागि सम्बन्धित वार्डमै छुट्टै काउन्टर सञ्चालन गर्ने व्यवस्था मिलाइएको डा. लिम्बुले जानकारी दिनुभयो । प्रतिष्ठानले सेवा प्रवाहलाई थप प्रभावकारी, छिटो र व्यवस्थित बनाउन काउन्टर संख्या वृद्धि गरिएको जनाएको छ । हाल प्रतिष्ठानमा दैनिक बिरामीको चाप बढ्दै गएको छ । गर्मी मौसमका कारण झाडापखाला, दम, ज्वरोलगायतका बिरामीसमेत उपचारका लागि प्रतिष्ठानमा आउने भएकाले बिरामीको चाप व्यवस्थापन गर्न प्रतिष्ठानलाई हम्मेहम्मे परेको छ ।
