धरान । लागू औषध मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले धरानबाट पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय
धरानबाट खटिएको प्रहरी टोलीले सम्मानित सुनसरी जिल्ला अदालतको २०८१ मंसिर १२ गतेको फैसलाअनुसार लागू औषध मुद्दामा लगत नम्बर ४७५० अन्तर्गत ७६० दिन कैद सजाय तथा रु. २१ हजार जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–११ निवासी ४० वर्षीय उमेश भट्टराई रहेका छन् ।
प्रहरीले उनलाई धरान उपमहानगरपालिका–१७ स्थित रेल्वे क्षेत्रबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका भट्टराईलाई अदालतको फैसला कार्यान्वयनका लागि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । फरार अपराधी तथा अदालतबाट सजाय तोकिएका व्यक्तिहरूलाई खोजी गरी पक्राउ गर्ने अभियानअन्तर्गत उक्त सफलता हासिल भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
