मुन्धुम पदमार्ग प्रवद्र्धनका लागि सम्मेलन पदमार्ग गर्ने

धरान । कोशी प्रदेशको भोजपुर र खोटाङको सीमास्थित मुन्धुम पदमार्ग प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय स्रष्टा सम्मेलनसँगै पदयात्राको आयोजना हुने भएको छ । नेपाल सरकारले निर्धारण गरेका एक सय वटा पदमार्ग गन्तव्य भित्र परेको भोजपुर–खोटाङ मुन्धुम पदमार्गमा पदयात्राको लागि नेपालका सातै प्रदेशका साहित्यिक स्रष्टा र दर्जनभन्दा बढी देशका स्रष्टा तथा पदमार्गीहरू आउने आयोजकले जानकारी दिएका छन् । संस्कृतिविद् डा. भक्त राईले शनिवार भोजपुरको टेम्के मैयुङ्ग गाउँपालिकामा आयोजना गरिएको कार्यक्रममा उक्त जानकारी दिनुभएको हो । उहाँले सूचीकृत पदमार्ग कोशी प्रदेशमा रहेको र यस प्रकारको पदमार्ग नेपालका अन्य कुनै पनि जिल्लामा नभएकोले यसलाई नेपालमात्र नभएर विश्वमै चिनाउनका लागि कार्यक्रमको आयोजना गर्न लागिएको हो । आगामी बैसाखको अन्तिम साताबाट सुरु गरिने बताइए तापनि मिति, तिथि, आपसी छलफल र नेपाल सरकारको सरोकारवाला निकायसँगको समन्वयमा कार्यक्रम तय गरिने समेत राईले जानकारी दिनुभयो ।

मुन्धुम पदमार्गमा खोटाङको साकेला गाउँपालिकालाई उद्गम विन्दु बनाएर भोजपुरको टेम्के डाँडा, चखेवा भन्ज्याङ्ग, जुके ह्याकुले, धोद्रे, हाँसपोखरी, लौरे धावाखाप, साल्पापोखरी हुँदै पुनः भोजपुरको टक्सार पोखरीसम्मको यात्रा तय गरिने भएको छ । नेपालमै सम्भवत् सबैभन्दा लामो पदमार्गको रूपमा मुन्धुम पदमार्गलाई लिइन्छ । यो पदमार्गको कुल लम्बाइ १ सय ५३ किमी रहेको छ । पदमार्ग तय गर्न पाँचदेखि १० दिन लाग्ने आयोजकको अनुमान छ । यहाँ स्मरणीय कुरा के छ भने पदमार्गमा आधारित पर्यटन विकास परियोजना (टिटीडिपी), नेपाल सरकार र स्वीजरल्याण्ड सरकारले यसमा सहयोग गर्दै आएका छन् । मुन्धुम पदमार्गका क्रममा स्रष्टाहरूले आफ्ना रचनाहरू पाठ गर्ने, स्थानीय खानपानमा रमाउने, प्राकृतिक दृश्यहरूको अवलोकन गर्नेछन् । स्वीजरल्याण्ड सरकारले मुन्धुम पदमार्गका अलावा इलाममा चियाबारी पदमार्ग, फाल्गुनन्द पदमार्ग, सन्दकपुर पदमार्गको प्रवद्र्धनमा समेत सहयोग पु¥याउँदै आएको छ ।

तपाईको प्रतिक्रिया