फागुन ५ देखि जनकपुरमा साहित्य, कला र अन्तर्राष्ट्रिय नाट्य महोत्सव शुरु

जनकपुर । मिथिलाको वैभव साँस्कृतिक सम्पदा संरक्षण, प्रवद्र्धन गर्ने उद्देश्यले फागुन ५ गतेदेखि पाँचौँ शृंखलाको साहित्य, कला र अन्तर्राष्ट्रिय नाट्य महोत्सव जनकपुरमा शुरु भएको छ । मैथली विकास कोषको आयोजना, मधेश प्रदेश शिक्षा तथा संस्कृति मन्त्रालय र जनकपुरधाम उपमहानगरपालिकाको सहआयोजनामा शुरु भएको महोत्सव फागुन ८ गतेसम्म सञ्चालन हुने आयोजक मैथली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिनुभएको छ ।
अध्यक्ष चौधरीले दिनुभएको जानकारी अनुसार मैथिलीबासीका लागि समृद्ध मैथिली भाषा, साहित्य, संस्कृति, भेषभूषा, रहनसहन पहिचान हुन् । महोत्सवमा यिनै कुराहरूमाथि निरन्तर विमर्श हुनेछ । महोत्सवप्रति मिथिलाबासीहरूले उत्साहप्रद रूपमा सक्रियता देखाउनुभएको छ । यसले महोत्सव आयोजनका लागि आयोजकलाई प्रेरित गरेको समेत उहाँले बताउनुभयो ।

मैथिली विकास कोषले हरेक दुई–दुई वर्षमा महोत्सवको आयोजना गर्दै आएको छ । चौथो महोत्सवमा सामाजिक न्याय, स्त्रीवाद, दलित विमर्श, शिक्षा जस्ता संवेदनशील विषयमा विमर्श गरिएको थियो । महोत्सवमा विगतमा झैँ यस वर्ष पनि २० भन्दा बढी विषयमा कार्यक्रम केन्द्रित रहने आयोजकले जानकारी दिएको छ । उद्घाटन सत्रका अवसरमा विविध साँस्कृतिक झाँकीसहित सहरमा शोभायात्रा गरिएको थियो । महोत्सवमा भारतको पटनास्थित चेतना नाट्य समूह, रंग दर्पण जनकपुर, मिनापले आफ्नो कला पस्कने भएका छन् भने महोत्सवका अवधिभर विद्यालयस्तरीय वक्तृत्वकला, कविता प्रतियोगिता, मिथिला चित्रकला प्रतियोगिता, लोकनृत्य प्रतियोगिता, पुस्तक प्रदर्शनी, मैथिली आख्यान लेखन जस्ता कार्यक्रम रहेको अध्यक्ष
चौधरीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया