लेखनाथ जयन्तिका अवसरमा प्रतियोगी कवि पुरस्कृतसँगै स्रष्टा सम्मान

धरान । कवि शिरोमणि लेखनाथ पौड्यालको १४२ औं जन्मजयन्तिका अवसरमा कवि शिरोमणि साहित्य साधना समाज धरानले खुल्ला कविता प्रतियोगिताका प्रतियोगी कविलाई पुरस्कृतसँगै स्रष्टा सम्मान गरेको छ । कवि शिरोमणि साहित्य साधना समाज धरान–१६ को आयोजनामा सोमबार धुलिखेल सेवा समाजको सभाहलमा दुई चरणमा सम्पन्न कार्यक्रमको पहिलो चरणमा स्रष्टालाई सम्मान गरिएको थियो भने दोस्रो चरणमा प्रतियोगी कविहरुलाई पुरस्कृत गरिएको थियो ।
सम्मानित हुनुहुने स्रष्टाहरुमा वीरेन्द्रसिंह थापाद्वारा आफ्ना हजुरबुबा तथा हजुरआमा वेदकुमारी खड्गबहादुरको स्मृतिमा स्थापना गर्नुभएको १० हजार राशि सहित सम्मानपत्र र दोसल्लाबाट विगत ४४ वर्षदेखि कविता, रङ्गमञ्च र अभिनय क्षेत्रमा समर्पित मोरङ झोराहाटका भरतप्रसाद गुरागाईं र प्राध्यापक टिकाप्रसाद शर्मा वस्ती स्मृति पुरस्कारबाट इलामका प्रसिद्ध विद्वान खोलाघरे साइँलो सम्मानित हुनु भएको थियो । कार्यक्रमको दोस्रो चरणमा देश तथा विदेशबाट अनलाइन तथा स–शरीर उपस्थित भएर प्राप्त भएका १ सय कविताबाट छानिएका १४ वटा कविताहरु कवि तथा कवयित्रीहरुले वाचन गरेका थिए । ती मध्ये टिका आत्रेय, उपप्राध्यापक दीपक पराजुली, इन्दु नेपाल योन्जनको तीन सदस्यीय निर्णायक मण्डलले भोजपुरकी रोजिना विश्वकर्माको ‘गरिबीको गणित’, कास्कीका बसन्त चालिसेको ‘बा’, पर्वतका प्रकाश नेपालीको ‘बुढो मार्कर’, नुवाकोटका कृष्णप्रसाद पौड्यालको ‘अनेकतामा एकता’ कविता क्रमशः प्रथम, द्वितीय, तृतीय एवम् सान्त्वना घोषित गरेका थिए । प्रथम प्रतियोगीलाई ११ हजार, द्वितीयलाई ७ हजार, तृतीयलाई ५ हजार र सान्त्वनालाई ३ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

उत्तरआधुनिकता, डायस्पोरा लगायतका विषयहरुमा समालोचनात्मक कृतिहरु प्रकाशन गरिरहनु भएका प्रा.डा. गोविन्द भट्टराईले प्रमुख अतिथिका रुपमा आफ्ना धारणा राख्दै भन्नुभयो— कवि शिरोमणि लेखनाथ पौड्यालले नेपाली समाजलाई दिएका रचनाहरु अमूल्य रहेका छन् र अझ पनि कतिपय प्रकाशन हुन बाँकी रहेको अवस्थामा स्व. प्रा. टिकाप्रसाद वस्तीका सुपुत्र सन्तकुमार वस्तीको सम्पादकत्व एवम् नेपालयको प्रकाशकत्वमा हालै पाँच भागमा ‘लेखनाथ रचनावली’ प्रकाशन हुनु महत्वपूर्ण उपलब्धि हो । कार्यक्रममा प्राज्ञिक व्यक्तित्व प्रा.डा. गोपाल भण्डारी, प्रा.डा. खेम दाहाल, प्रा.डा. भीम खतिवडा, प्रा.डा. भरतप्रसाद भट्टराई, प्रा.डा. खेमराज खनाल, प्रा.डा. सागरमणि सुवेदी, प्रा.डा. वंशीधर शर्मा कट्टेल, सह–प्रा.डा. आनन्द आचार्य, सह–प्रा.डा. गुरुप्रसाद कोइराला, सह–प्रा. टेकनाथ घिमिरे, डा. अस्मिता विष्ट, उपप्रा. सुमन खतिवडा लगायतले कवि शिरोमणि लेखनाथ पौड्यालको विविध पक्षका बारेमा धारणा राख्नु भएको थियो । समाजका अध्यक्ष डा. भवानीशंकर भट्टराईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव भरतमणि भट्टराई र सहसचिव विजय घिमिरेले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया