धरान । किराँत लिम्बु भाषा, सिरिजंगा लिपी, किराँत साहित्य र संस्कृतिका धरोहर इमानसिंह चेम्जोङ्गको १२३ औं जन्मजयन्तिका अवसरमा पूर्वाञ्चलमा बसोबास गर्ने लिम्बु समुदायहरुले विविध कार्यक्रमका साथ स्मरण गरेका छन् । पौष १७ गते अर्थात् जनवरी १, सन १९०४ मा पिता मेघवरसिंह चेम्जोङ र आमा दावपुहाङमाको कोखबाट भारतको पश्चिम बंगाल कालिम्पोङको रिंकेबुङमा जन्मनु भएका चेम्जोङ्गले किराँत खादुन मुन्धुमका शिक्षालाई उच्च महत्व दिनु भएको छ । किराँत खादुन मुन्धुममा उहाँले ‘पढ्दा ज्ञान पाइन्छ, धर्म के हो, पाप के हो, जानिन्छ, बुझिन्छ, उज्यालो के हो, अँध्यारो के हो, सभ्यता के हो, असभ्यता के हो जानिन्छ बुझिन्छ’ भनेर शिक्षाको महत्वलाई उजागर गर्नुभएको छ ।

चेम्जोङ्गको पुख्र्यौली घर पाँचथर जिल्लाको आङसराङको बसाङ्ग गाउँ हो । उहाँका बाजे पुस्ता सुखको खोजी गर्दै कालिम्पोङको रिंकेबुङ पुगेर बसोबास गरेको इतिहासमा उल्लेख छ । इमानसिंह चेम्जोङ्गले कालिम्पोङबाट सन १९२६ मा म्याट्रिक पास गरेपछि परिवारकै सहमतिमा उच्च शिक्षाका लागि उहाँलाई कोलकाता पठाइयो । उहाँले कोलकातास्थित सेन्ट जेभियर कलेजबाट आइए र बिए पास गर्नुभयो । त्यसपछि उहाँले किराँत भाषा, लिपी, साहित्य, संस्कृति र किराँतहरुको इतिहासको खोजमा आफूलाई समर्पित गर्नुभयो । त्यस कार्यमा उहाँले आफ्ना जीवनको ६० वर्ष समर्पण गर्नुभएको थियो । उहाँलाई किराँत लिम्बुहरुले सांस्कृतिक योद्धाका रुपमा स्मरण गर्ने गर्छन् । यसका लागि इमानसिंह चेम्जोङ्गले लेख्नु भएका कृतिहरुले उहाँलाई थप अनन्त कालसम्म सम्झिने आधार बनाएको छ । किराँत धर्मका अर्थात् मुन्धुमविद् येहाङ्ग लावतीका अनुसार चेम्जोङ्गका हालसम्म फेला परेका १७ वटा कृतिहरु प्रकाशित भइसकेका छन् । अंग्रेजी भाषामा राम्रो दख्खल भएका चेम्जोङ्गका कृतिहरु अधिकांश अंग्रेजीमै प्रकाशित छन् । पछि अन्य विद्वानहरुले नेपाली लगायत अन्य भाषामा अनुवाद गरेका छन् । यस पटक चेम्जोङ्गको १२३ औं जन्मजयन्तिका अवसरमा लिम्बु र नेपाली भाषामा प्रकाशित किराँती दन्त्य कथाहरुको संग्रहलाई चेम्जोङ्गकै नातिनी मोहेन्दु चेम्जोङ्ग कार्कीले अंग्रेजी भाषामा अनुवाद ‘किराँती फोक स्टोरिज’ सार्वजनिक समेत गर्नुभएको थियो । यद्यपि उहाँका अप्रकाशित कृतिहरु दर्जन भन्दा बढी रहेको लावतीले जानकारी दिनुभयो । आज चेम्जोङ्गका अप्रकाशित दर्जनौं हस्तलिखित पाण्डुलिपीहरु कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयमा सुरक्षित राखिएको पुस्तकालयले जनाएको छ ।
