धरान । पछिल्लो समय अध्ययनका लागि विदेशी विश्वविद्यालयमा जाने विद्यार्थीहरूको संख्या तीव्र गतिमा बढ्दै गएको छ । शिक्षाको गुणस्तर नेपालमै प्राप्त गर्न सकिए पनि विद्यार्थी मात्र होइन, अभिभावकले समेत विदेशलाई अन्तिम गन्तव्यका रूपमा हेर्ने प्रवृत्ति देखिएको छ । यसै कारण धेरैजसो विद्यार्थीले नेपालमा रोजगारीका अवसर खोज्ने प्रयास नगर्ने अवस्थासमेत सिर्जना भएको छ । विद्यार्थीहरूलाई नेपालमै रोजगारीको अवसर पहिचान र प्रोत्साहन गर्ने उद्देश्यसहित धरान–१५ मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले विगत चार वर्षदेखि खरिदार तहको प्रश्नपत्रका आधारमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्दै आएको छ । विगतका वर्षहरूमा सुनसरी जिल्लाका विद्यालयलाई मात्र समेट्दै आयोजना हुँदै आएको यो प्रतियोगिता यस वर्ष कोशी प्रदेशभरका विद्यालयहरूलाई समेटेर आयोजना गर्न लागिएको विद्यालयले जनाएको छ । आउँदो पुष ९ र १० गते दुई दिने अन्तरविद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता ‘हिबिस्कस क्विज मेनिया सिजन–४’ सञ्चालन हुने भएको हो । विद्यालयका अनुसार प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाबाट करिब १५० विद्यालय सहभागी हुने अपेक्षा गरिएको छ । प्रतियोगिताको उद्देश्य कक्षा १२ पास गरेलगत्तै विदेश अध्ययनमा जाने प्रवृत्तिलाई केही हदसम्म रोक्दै विद्यार्थीहरूलाई नेपालकै प्रतिस्पर्धात्मक परीक्षा तथा रोजगारीतर्फ उन्मुख गराउने रहेको छ ।

प्रतियोगिता आयोजक समितिका सदस्य विकास साहका अनुसार खरिदार तहको प्रश्नावलीका आधारमा हाजिरीजवाफ सञ्चालन गरेर विद्यार्थीहरूमा लोकसेवा आयोगजस्ता प्रतिस्पर्धात्मक परीक्षाप्रति रुचि जगाउने प्रयास गरिएको हो । प्रतियोगितामा पहिलो हुने टोलीले २० हजारसहित रनिङ ट्रफी, मेडल र प्रमाणपत्र, दोस्रो हुने टोलीले १५ हजार, मेडल र प्रमाणपत्र, तेस्रो हुने टोलीले . ८ हजार, चौथोले . ६ हजार, पाँचौँले . ४ हजार, र सान्त्वना पुरस्कारस्वरूप .२ हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

विद्यालयका निर्देशक गंगाराम कुलुङले यस वर्ष प्रतियोगिताको दायरा प्रदेश स्तरसम्म विस्तार गरिएको भन्दै सहभागी विद्यालयहरूलाई सामाजिक सञ्जाल तथा अन्य माध्यममार्फत आमन्त्रण गरिएको जानकारी दिनुभयो ।
प्रतियोगिताको प्रारम्भिक चरण पुष ९ गते सम्पन्न हुनेछ भने सोबाट छनोट भएका छवटा टोलीले पुष १० गते फाइनल प्रतिस्पर्धा गर्नेछन् । विद्यालयका शिक्षक नयनराज राईका अनुसार प्रश्नहरू खरिदार तहको सिलेबसका आधारमा तयार पारिँदैछन्, जसले विद्यार्थीहरूमा तर्कशक्ति, सामान्य ज्ञान र प्रतिस्पर्धात्मक क्षमताको विकासमा सहयोग पु¥याउनेछ ।

विगतका तीन संस्करणमा पहिलो वर्ष हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल, दोस्रो वर्ष नेपाल पुलिस स्कुल, र तेस्रो वर्ष पुनः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल विजेता बनेका थिए । यस वर्षको संस्करणलाई अझ व्यवस्थित र आकर्षक बनाउने उद्देश्यले विद्यालयका शिक्षक सुवास मोक्तानको संयोजकत्वमा कार्यक्रम संयोजन समिति गठन गरिएको विद्यालयले जनाएको छ ।
