धरान । सुनसरीको धरान उपमहानगरपालिका–११ मंगलबारे चोकबाट प्रहरीले लागू औषध ब्राउन सुगरसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मङ्गलबार राति करिब ९ः१० बजे विशेष सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय धरानको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले धरान–११ का ३५ वर्षीय डिपल भट्टराईलाई नियन्त्रणमा लिएको जनाएको छ । उनी सवार रहेको प्र१–०२–०४५ प ४९७५ नम्बरको मोटरसाइकललाई प्रहरीले शंका लागी रोकेर कानुनबमोजिम चेकजाँच गर्दा, भट्टराईको साथबाट ब्राउन सुगर जस्तो देखिने ३.०६ ग्राम (तीन ग्राम छ मिलिग्राम) पदार्थ फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले लागू औषधसहित मोटरसाइकललाई पनि नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा ल्याएको छ । पक्राउ परेका भट्टराईविरुद्ध आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीको अनुसन्धान तथा योजना शाखाले जनाएको छ ।
