संखुवासभा (किमाथांका) । नेपालको राजनीतमा चरम भ्रष्टाचार, विकृति, विसंगति, दण्डहीनता विरुद्ध जनेजी युवाहरुले स्वस्फूर्त रुपमा भाद्र २३ र २४ गते गरेको देशव्यापी आन्दोलनका क्रममा काठमाण्डौमा स्वतन्त्र तिब्बत मोभमेन्ट देखिएपछि चीनले उच्च शतर्कता अपनाएको छ । चीनसँग सीमा जोडिएका नेपालका उत्तरका १५ जिल्लामा रहेका १८ वटा सीमा नाकाहरुमा चिनियाँ जनमुक्ति सेनाले एकाएक निगरानी बढाएको हो । जेनजी मोभमेन्टका क्रममा फ्रि तिब्बत अभियान TOB -Tibetan orginal Blood_ का नाममा बाक्लो संख्यामा मोभमेन्ट देखिएपछि नेपाल स्थित चिनियाँ राजदुतावासले परराष्ट्र मन्त्रालयसँग त्यस बारेमा जानकारी समेत मागेको स्रोतहरुले जनाएको छ । चीनले भाद्र २५ गते नेपालको अन्तरिम प्रधानमन्त्रीमा सुशिला कार्की चयन भएसँगै उत्तरी सीमा नाकाहरुमा जनमुक्ति सेनाको निगरानी बढाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले समेत उल्लेख गरेका छन् ।


कोशी प्रदेशको संखुवासभाको किमाथांका र ताप्लेजुङ्ग जिल्लाको टिप्तला भन्ज्याङ नाकामा भाद्र २५ गतेपछि चिनियाँ जनमुक्ति सेना देखिएको स्थानीयहरुले बताएका छन् । उनीहरुका अनुसार किमाथांका स्थित कामा खोलाले दुवै देशको भूगोल छुट्याएको छ । कामा खोला पारि चीनतर्फ यसभन्दा अगाडि चिनियाँ प्रहरीहरु देखिए तापनि चिनियाँ जनमुक्ति सेनाहरु देखिएका थिएनन् । उनीहरुका अनुसार बाक्लो संख्यामा आधुनिक हातहतियार सहित उनीहरुले गस्ती गर्ने गरेका छन् । किमाथांकाकै जस्तो अवस्था टिप्तला भन्ज्याङ्गमा पनि देखिएको स्थानीयहरुले बताएका छन् । ताप्लेजुङ्ग जिल्लाको नेपाल चीन परम्परागत नाकालाई नेपालतर्फ टिप्तला भन्ज्याङ र चीनतर्फ कायर विङचङ, संखुवासभाको सीमा नाकालाई नेपालतर्फ किमाथांका र चीनतर्फ लेङदुप च्याङ्गा भन्ने गरिन्छ । उत्तरी चीनसँग नेपाल १ हजार ४३९ किमी लामो सीमा जोडिएको छ । नेपालका १५ जिल्ला चीन (तिब्बत) का ८ जिल्लाले छोएको छ । जसमा चीन तर्फ रोङ डिङे, टिङरी डिङ्गे, म्याङ्मु ¥यालम डिङ्गे, ग्याइडा डिङ्गे, याग्रा झोङ्वा, डोङ्मा डिङ्गे र पुराङ डिङ्गे रहेका छन् । यसैगरी किमाथांका र टिप्तला भन्ज्याङ्ग नाकाका अलावा सोलुखुम्बुस्थित नाङपाला–यङलप, दोलखाको लाप्ची– राम्डिङ, सिन्धुपाल्चोकको तातोपानी–खासा, रसुवाको रसुवागढी–केरुङ, गोरखाको लार्के, सामागाउँ रुइला, छेकम्बार–दुइला, मनाङको च्याखु–रिगातोङवा, मुस्ताङको कोरोला–न्हचुङ लिजी, डोल्पाको मरिम भन्ज्याङ– मायुङ भन्ज्याङ्ग, मुगुको नाम्चेनाङ–ह्यारिमार, हुम्लाको यारी हिल्सा–शियरवा, लाप्चे भन्याङ–लाप्चस्या, बझाङको उराई–विलिङ, ठाडो ढुंगा–झन्झ्याङ र दार्चुलाको टिंकर भन्ज्याङ–तालोङ ताम्लाकोट रहेका छन् । स्रोतले दिएको जानकारी अनुसार १८ वटा सीमा नाकाहरुमध्ये मुख्य नाका तातोपानी, केरुङ्ग बाहेकका अन्य परम्परागत नाकाहरुमा चिनियाँ सैनिकहरुको संख्या कम रहेको छ । कोभिड पश्चात चीनले किमाथांका, टिप्तला भन्ज्याङ्ग जस्ता परम्परागत सीमा नाका पूर्ण रुपमा बन्द गरेको थियो । तर दुई बर्ष अगाडि उसले मुख्य नाकासँगै ७ वटा परम्परागत नाकाहरु खोलिदिएको थियो ।
