धरान । नेपाल सरकारले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखी तथा आर्गनिक तरकारी उत्पादनमा कृषकलाई बढावा दिने उद्देश्यले धरान १३ कृषि उपज बजारभित्र राखेको विषादी परीक्षण प्रभावकारी बनाउन सर्वसपक्षीय छलफल भएको छ । विषादी परीक्षणकालागि बनेको समितिका पदाधिकारी, प्रहरी प्रशासन, धरान उपमहानगरपालिकाका जनप्रतिनिधिहरु, कृषि बजार व्यवस्थापन समितिका पदाधिकारीहरु, विषादी मापनका विज्ञ कर्मचारीहरु लगायत व्यापारी तथा कृषहरुको सर्वसपक्षीय छलफललले यसलाई व्यवस्थित बनाएर लाने निर्णय नै गरेका छन् । नेपाल सरका कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विभागले केन्द्रीय कृषि प्रयोगशाला विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले धरान १३ कृषि बजारमा पहाड तथा तराईबाट आएका कृषिजन्य सामाग्रीको विषादी मापन गरे पनि कृषि बजारबाहेक धरान २ मा रहेको सब्जीमण्डी, धरान ३ मा रहेको पालिका तरकारी बजार लगायतका अन्य कृषि सामाग्री वितरण केन्द्रमा मापन नगरेको भन्दै यसले गरेको मापन गुणस्तरीय र प्रभावकारी नभएको छलफलमा कुरा उठेको थियो । छलफलमा कृषकका तर्फबाट समितिमा रहनु भएका मचिन्द्र राईले कृषि बजारमा मात्र विषादी मापनलाइ केन्द्रित गर्दा कृषकहरुले कृषि बजारमा आफूले उत्पादन गरेको सामाग्री कृषि बजार ल्याउनै छाडेको बताउनुभयो । उहाँले अहिले जति पनि मापन भएका कृषि सामाग्रीहरु रहेका छन् ती सबै व्यापारीले कृषकबाट विक्री गर्न ल्याएको बताउदै मापनबाट व्यापारीहरु सबैभन्दा बढी मारमा परेको बताउनुभयो । उहाँले कृषकसम्मै पुगेर सचेतना कार्यक्रम नगरेसम्म उपभोक्ताले अर्गानिक तरकारी उपभोग गर्न सम्भव नै नहुने बताउनुभयो । यस्तै कृषि बजार व्यवस्थापन समतिका अध्यक्ष काजी गिरीले प्रदेश स्तरीय विषादी मापन केन्द्रको रुपमा कृषि बजारमा स्थापना भएपनि यसले कृषि बजारबाहेक अन्य कुनै ठाउँमा समेट्न नसकेको तर्क राख्नुभयो ।


यसैगरि इलाका प्रशासन कार्यालय धरानका प्रमुख लक्ष्मीप्रसाद गौतमले अहिले यहाँ मापन गरिएका र बढी विषादी भेटिएका कृषि सामाग्री नष्ट गरेर कारात्मक सन्देश प्रवाह भएको भन्दै अनिवार्य रुपमा यहा मापन गर्ने प्रवधानमा जोड दिँदै कृषि बजारबाट आएका सागसब्जी विषादी मापन गरिएको अर्गानिक सागसब्जी रहेको सकारात्मक प्रचार गरेर ब्राण्डिङ्ग गर्ने कामलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । यस्तै धरान उपमहानगरपालिका बजार अनुगमन अधिकृत बेदप्रसाद सापकोटाले विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइको क्षेत्राधिकार कोशी प्रदेशभरि नै भए पनि धरानमा समेत समेट्न नसकेको बताउदै यसलाई वृहत बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै उपप्रमुख अइन्द्र विक्रम बेघाले यसलाई व्यवस्थित बनाउनका लागि अन्य पालिकासँग समेत समन्वय गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले कार्यक्षेत्र धेरै भएपनि उपमहानगरपालिकाका उपमेयर संयोजक रहेको समितिले अन्य पालिकासँग समन्वय नगरी काम गर्न अफ्ठ्यारो पर्ने भएकोले यस विषयमा अन्य पालिकाका उपप्रमुखसँग छलफल चलाइने बताउनुभयो । बिषादी परीक्षण शरु भएपछि पहिलो पटक एक पटक २४ सय किलो काउली बिषादीयुक्त भेटिदा नष्ट गरिएको थियो । पछिल्लो समय गत साता १९ किलो रायोको साग पनि बिषादीयुक्त भेटिपछि नष्ट गरिएको थियो । कोशी पहाडी क्षेत्रबाट आउने तरकारी कृषि थोक बजार हुदै धरानको खुद्रा र इटहरी, इनरुवा, विराटनगरको बजार जाने गर्छ ।
