काठमाण्डौ । नेपालस्थित भारतीय राजदुतावास काठमाण्डौले नेपाली यु १९ क्रिकेट खेलाडीहरुलाई भारतको भोपालमा एक महिने तालिम प्रदान गर्ने भएको छ । भारतीय राजदुतावासले २०८२ जेठमा नेपाली यु १९ क्रिकेट खेलाडीलाई भारतमा प्रशिक्षण दिने घोषणा गरेको थियो । नेपाली युवाका लागि राजदुत क्रिकेट फेलोसिपको पहिलो चरणका लागि फेलोसिपमा भाग लिन तीन जना आशलाग्दा अण्डर १९ क्रिकेटरहरु नरेन भट्ट, साहिल पटेल र सुश्री पूजा महतो असार ३१ गतेदेखि साउन १९ गतेसम्म भारतको भोपालस्थित एलबी शास्त्री क्रिकेट शालामा एक महिने लामो व्यवसायिक प्रशिक्षण कार्यक्रममा भाग लिने भएका हुन् ।
भारतीय राजदुतावासद्वारा शुक्रबार जारी विज्ञप्तीका अनुसार दुतावासले गरेको यो पहलको प्रमुख उद्देश्य क्रिकेटप्रतिको साझा जोशमार्फत भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ गर्दै युवा नेपाली क्रिकेट प्रतिभाको विकासका सहयोग गर्नु रहेको जनाइएको छ । क्रिकेटमा व्यवसायिक अनुभवले नेपाली खेलाडीहरुको सिपमा उल्लेखनीय बृद्धि गर्ने र नेपालको क्रिकेट आकांक्षामा योगदान पु¥याउने अपेक्षा विज्ञप्तीमा गरिएको छ । जारी विज्ञप्तीका अनुसार नेपालको लागि भारतीय राजदुत नविन श्रीवास्तवले असार २७ गते शुक्रबार नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दको उपस्थितिमा नेपाली क्रिकेटका तीन जना प्रशिक्षणमा जान लागेका खेलाडीहरुसँग भेटेर अन्तरक्रिया समेत गर्नुभयो । उहाँले उनीहरुकोे प्रशिक्षण कार्यक्रमको सफलताका लागि शुभकामना समेत दिनुभयो । अन्तरक्रियाले भारत र नेपाल बीचको जनस्तरको सम्बन्धलाई गहिरो बनाउन खेलकुद सहयोगको महत्वलाई थप बल प्रदान गरेको छ ।