शेरा खोला आसपासमा बस्ने सर्वसाधारण अझै पनि त्रासमा बस्छन्

धरान । धरान उपमहानगरपालिका वडा नं. ५ र ६ जोड्ने शेरा खोलामा पक्की पुल निर्माण भइसक्दा यस आसपासका सर्वसाधारण ढुक्क छैनन् । यसको प्रमुख कारण पुल निर्माण भएपनि बर्षेनी खोलाको सतह अग्लो हुदै जाँदा बाढी आएको समयमा गाउँम नै पानी पस्नु हो । बर्षेनी यो समस्याले आजित यी वडाका सर्वसाधारण बर्षाद्को समय आउन लाग्दा समस्याको समाधानमा पहल गरिदिन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । बर्षेनी गाउँ डुबान हुने समस्या हुदा सम्बन्धित पक्षले गम्भीरतापूर्वक नलिएको स्थानीयहरुको गुनासो छ । बर्षादका समयमा खोलाको सतह बढ्दै जाँदा गाउँमा पानी पसेर हैरान पार्ने गरेको गुनासो उनीहरुको छ । त्यतिमात्र हैन करोडौ लगानी लगाएर बनाएको पुलमा समेत क्षति पुग्ने खतरा बढ्दै गएको धरान ६ पानबारीका स्थानीय कृष्ण गौतम बताउनुहुन्छ । विगतमा समेत खोलाको पानी गाउँमा पसेर क्षति पु¥याएपछि स्थानीय सरकार धरान उपमहानगरपालिकालाई अवगत गराउँदा समेत मेयर हर्कराज राई आएर हेरे पनि समस्या समाधानमा पहल नगरेको उहाँको भनाई छ ।

यता स्थानीय सरकार धरान उपमहनगरपालिका ६ नं. वडा कार्यालयले भने समस्या समाधानका लागि पहल गर्दै आएको जनाएको छ । वडा सदस्य राजेन्द्र न्यौपानेले बाढी आउनु पूर्व नै विगतको जस्तो क्षति नपु¥याओस् भन्ने हेतुले सम्बन्धित पक्षलाई जानकारी गराउँदै आएको बताउनु भयो । अधिकांश यहाँका सर्वसाधारण कृषि पेशामा आश्रित भएकाले वडाले यस क्षेत्रका सर्वसाधारणका लागि सिंचाइका लागि ३ वटा सिंचाईका लागि प्रदेश सरकारबाट बजेट विनियोजन भएको वडा सदस्य न्यौपानले बताउनुभयो । बर्षैनी खोलाको सतह बढ्दै जाँदा क्षति समेत बढी हुने भएकोले तत्काल समाधान गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाई छ । यहाँको दीर्घकालीन समस्या समाधानका लागि स्थानीय सरकार, प्रदेश सरकारलाई जानकारी गराउँदासमेत समस्या समाधानमा कुनै पहल नभएको ६ नं. वडा समितिका वडाध्यक्ष भुपेन्द्र भट्टराईले जानकारी दिनुभयो । उहाँले बजेट अभावकै कारण काम अगाडि बढ्न नसकेको बताउनुभयो । बाढी पहिरो तथा प्रकोपका विषयमा तीनै तहका सरकारले सचेतनामूलक कार्यक्रम अगाडि सार्ने गरेका छन् । तर जोखिम क्षेत्रको पहिचान गरी दीर्घकाली समस्या समाधानमा खासै ध्यान दिएको पाइदैन । धरान ५ र ६ को बीचमा रहेको शेरा खोलाको बाढीले त्यहाँ बसोबास गरेका हजारौ सर्वसाधारणको उठी बास लगाउन सक्ने सम्भावना बढेर गएको छ । त्यसैले यसको दीर्घकालीन समस्या समाधानमा सम्बन्धित पक्षलैश बेलैमा ध्यान दिन सकेको खण्डमा भविष्यमा हुने ठूलो क्षतिबाट रोक्न सकिन्छ । यसतर्फ सम्बन्धित पक्षको ध्यान किन केन्दित हुन सकेन ?

तपाईको प्रतिक्रिया