धरान । अखिल नेपाल फुटबल संघ एन्फाले दक्ष खेलाडी उत्पादनलाई प्राथमिकतमा राख्दै प्रशिक्षक उत्पादनमा जोड दिइएको छ । यसै क्रममा एन्फाले धरानमा समेत फुटबल प्रशिक्षकलाई प्रशिक्षण दिएको छ । कोशी प्रदेश फुटबल संघदारा आयोजित एसियाली फुटबल काउन्सिल लाइसेन्स ‘डी’ तहको सामुदायिक फुटबल प्रशिक्षक प्रशिक्षण उद्घाटन समारोहमा खेलाडीहरुलाई समय अनुसारको प्रशिक्षणको खाँचो रहेको बताइएको छ । सो अवसरमा बोल्दै कोशी प्रदेश सरकारका कृषि, उद्योग, सहकारी मन्त्री खगेन्द्रसिंह हाङगामले खेलमा कुनै जाति, धर्म तथा समुदाय, संस्कार, संस्कृति तथा राजनीति नहुने भएकोले भविष्यमा प्रभावशाली खेलाडीहरुलाई देशका कुना काप्चाबाट खोजी गरी प्रशिक्षण दिन सकेको खण्डमा अब्बल खेलाडीहरु उत्पादन गर्न सहयोग पुग्ने बताउनुभयो । एन्फा एकाडेही हलमा आयोजित प्रशिक्षक प्रशिक्षण उद्घाटन कार्यक्रममा बोल्दै उहाँले संघ, प्रदेश र स्थानीय
सरकार मिलेर फुटबल खेलको विकासमा जुट्नुपर्नेमा जोड दिनुभयो । उहाँले अन्य क्षेत्रमा भन्दा तीनै तहका सरकारले फुटबल खलमा कम बजेट विनियोजन गरेको बताउदै कम बजेट विनियोजनको बाबजुद पनि एन्फाले फुटबल खेलमा गरेको अथक प्रयासलाई कम आँक्न नमिल्ने स्पष्ट पार्नुभयो । ताप्लेजुङको प्रगतिशील फुटबल क्लबका संस्थापक अध्यक्ष समेत रहनु भएका मन्त्री हाङगामले प्रशिक्षणबाट उत्पादन भएका प्रशिक्षकले राम्रो प्रशिक्षण दिएर राम्रो खेलाडी उत्पादनमा दत्तचित्त भएर लाग्न आग्रह गर्नुभयो ।

एन्फा टेक्निकल डाइरेक्टर एवम् विभागीय टिम नेपाल फुलिस क्लबका पूर्व कप्तान हरि खड्काले चारदिने आवासीय प्रशिक्षण लाभदायी, फलदायी हुने अपेक्षा लिएको बताउनुभयो । उहाँले खेलाडीको खेल जीवन उमेरको चरणसँगै हराएर जाने भएपनि प्रशिक्षकको पेशा जति काम गर्दै गयो त्यति नै निखारिदै जाने भएकोले प्रशिक्षकको काम एउटा राम्रो खेलाडी उत्पादन गर्ने मात्र नभई जिम्मेवारी वहन गर्नै कामको रुपमा आफूले लिएको बताउनुभयो । कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले अब खेल्ने खेलाडीहरुलाई व्यवासायिककरण बनाउने लक्ष्य एन्फाले लिएको बताउनुभयो । उहाँले नेपालले अबको १० बर्षमा विश्वकप खेल्ने उद्देश्यका साथ खेलाडी, प्रशिक्षक तथा खेलको प्रवद्र्धनमा लागेका क्लबहरु अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । एन्फा केन्द्रीय सदस्य दीपेन्द्र धिमाल, एएफसीका प्रतिनिधि दीपक राई, एन्फा टेक्निकल डाइरेक्टर शिव लामिछानेले लगायतले प्रशिक्षार्थीहरुलाई प्रशिक्षण पश्चात राम्रो, दक्ष खेलाडी उत्पादनमा अग्रसर हुन आग्रह गर्नुभएको थियो । ४ दिन सम्म चलकोे प्रशिक्षक प्रशिक्षणमा प्रदेशका ६० जना सहभागी रहेका थिए । यो प्रशिक्षणममा सहभागी प्रशिक्षणहरुको तालिमबाट उत्पादन भएका जनशक्तिले भविष्यमा नेपालमा दक्ष खेलाडी उत्पादनसँगै खेलकुदको विकासम सहयोग पुग्ने अपेक्षा समेत लिइएको थियो ।
