धरान । नेपाल उद्योग तथा व्यवसायी महासंघ धरान उपमहानगर कमिटीद्वारा माघ २६ देखि फागुन १० गतेसम्म आयोजना गरिएको विजनेश एक्स्पो २०८१ को आयव्यय प्रतिवेदन सार्वजनिक गरिएको छ । धरानस्थित रंगशालामा आयोजित एक्स्पो कोशी प्रदेश भ्रमण बर्ष २०८२ लाई लक्षित गरी आयोजना गरिएको थियो । जसमा १ सय व्यापारिक स्टल, एक लाख भन्दा बढी आगन्तुक र ५ करोड कारोबार भएको आयोजकद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । जारी प्रतिवेदन अनुसार एक्स्पोमा प्रमुख आकर्षण जुत्ता चप्पल, दैनिक उपभोग्य वस्तुहरुको प्रदर्शनी तथा विक्री, महिलाहरुद्वारा उत्पादित हस्तकलाका विभिन्न सामाग्रीहरुको विक्री, नर्सरी, प्राथमिक उपचार, प्लाष्टिक्स जन्य सामाग्रीको विक्री, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुति, बाल बालिकाहरुको प्रतिभा प्रस्फुटनका लागि नृत्यु प्रतियोगिता, बाल उद्यान, बृटिश आर्मी व्याण्डद्वारा सांगीतिक कार्यक्रम, खानाका परिकारहरु विशेष रुपमा रहेका थिए ।

महासंघका अध्यक्ष शिवराज श्रेष्ठद्वारा जारी प्रतिवेदन अनुसार एक्स्पोमा नेपालमा उत्पादित विभिन्न ब्राण्डका जुत्ता चप्लहरु १५ प्रतिशतदेखि ६० प्रतिशतसम्म छुटमा विक्री गरिएको थियो । थकाली चामल खरिदमा २० प्रतिशत देखि ३० प्रतिशत सम्म छुटका साथै विभिन्न घरेलु समाग्रीहरुमा स्किम दिइएको थियो । यसैगरि प्लास्टिक्सका सामाग्री, वाईवाई चाउचाउ खरिदमा कम्पनीको दररेटसँगै स्किम, काठबाट निर्मित सामाग्रीमा बजार दररेट भन्दा सस्तो मूल्य, महिलाद्वारा उत्पादित सामाग्रीमा छुट, सांगीतिक कार्यक्रममा जिल्ला तथा जिल्ला वाहिरबाट आउनु भएका पाहुनाका कारण होटल तथा रेष्टुरेन्टको व्यापार व्यवसाय चलायमान भएको जनाइएको छ । प्रतिवेदन अनुसार एक्स्पोबाट ६९ लाख ३२ हजार ५ सय ७० रुपैया आम्दानी भएको र राजस्व दाखिला, मर्मत खर्च, इन्टरनेट खर्च, होटल खर्च, विज्ञापन खर्च, स्टेशनरी खर्च, यातायात खर्च, इन्धन खर्च, टेन्ट हाउस, साउन्ड सिस्टम, सहयोग, प्रिन्टिङ्ग खर्च,
सुरक्षा खर्च, साँस्कृतिक कार्यक्रम खर्च र विविध खर्चबाट २ लाख ५८ हजार ८ सय ८५ बचत भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
