शिक्षा, स्वास्थ्य र सँस्कृति क्षेत्रमा ६२.५ करोडको १० परियोजना कार्यान्वयनमा हस्ताक्षर

काठमाण्डौ । मित्रराष्ट्र भारत सरकारको अनुदान सहयोगमा शिक्षा, स्वास्थ्य र सँस्कृति क्षेत्रमा नेरु ६२.५ करोडका १० वटा परियोजना कार्यान्वयनका लागि चैत्र १९ गते समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु (एचआइसिडिपी) कार्यान्वयनका लागि नेपालस्थित भारतीय राजदुतावास, नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल सरकरका परियोजना कार्यान्वयन इकाईहरुबीच त्यस्तो समझदारी पत्रमा हस्ताक्षर भएको हो । कार्यान्वयनमा आउने त्यस्ता १० वटा परियोजनाहरुमा कोशी प्रदेशको ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिकास्थित सान्वा माध्यामिक विद्यालयको भवन निर्माण, सोलुखुम्बुको लिखु पिके गाउँपालिकास्थित न्गाग्युर न्यिङ्गमा पल्युल ढोङ्गा गछोलिङ्ग गुम्बाको निर्माण रहेको छ । यसैगरि अन्य ८ वटा परियोजनाहरुमा बागमती प्रदे्शको चितवनको भरतपुर महानगरपालिकास्थित राष्ट्रिय प्राथमिक विद्यालय नेपाल– भारत मैत्री ई पुस्तकालयको निर्माण, सिन्धुपाल्चोक जिल्लाको इन्द्रवती गाउँपालिका वडा नं. ३ स्थित स्वास्थ्य चौकी भवनको निर्माण, सिन्धुपाल्चौक जिल्लाकै इन्द्रवती गाउँपालिका वडा नं. ६ स्थित स्वास्थ्य चौकी भवनको निर्माण, लुम्बिनी प्रदेशको गुल्मी जिल्लाको घुर्कोट गाउँपालिकास्थित निन्युखर्क माध्यामिक विद्यालय भवनको निर्माण, रुपन्देही जिल्लाको बुटवल उपहानगरपालिकास्थित नयाँ गाउँ माध्यामिक विद्यालय भवनको निर्माण, कर्णाली प्रदेशको हुम्ला जिल्लाको चंखेली गाउँपालिकामा नेपाल–भारत मैत्री अस्पताल भवनको निर्माण, सुदुरपश्चिम प्रदेशको बझाङ्ग जिल्लाको जयपृथ्वी नगरपालिकास्थित सत्यवादी माध्यामिक विद्यालयको प्रशासनिक तथा छात्रावास भवनको निर्माण र कैलाली जिल्लाको धनगढी उपमहानगरपालकास्थित सिद्धनाथ माध्यामिक विद्यालयको भवन निर्माण रहेको छ । समझदारी पत्रमा हस्ताक्षर भएका यी परियोजनाहरु नेपाल सरकारका स्थानीय निकायहरु महानगर पालिका, पमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुमार्फत कार्यान्वयनमा आउने भएका छन् ।


भारतीय राजदुतावास काठमाण्डौद्वारा चैत्र १९ गते एक विज्ञप्ती प्रकाशित गरी परियोजनाहरुका सम्बन्धमा जानकारी दिएको हो । विज्ञप्तीमा उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) को कार्यान्वयनले नेपाली जनताहरुलाई राम्रो शैक्षिक शिक्षा, स्वास्थ्य सेवा र साँस्कृतिक सुविधाहरु उपलब्ध हुने विश्वास व्यक्त गरिएको छ । सन् २००३ यता भारतले चैत्र १९ गते समझदारीपत्रका हस्ताक्षर भएका १० वटा परियोजनासहित नेपालमा ५७३ भन्दा बढी एचआइसिडिपीहरुमा काम गरेको र नेपालका सातवटै प्रदेशका तल्ला तहमा शिक्षा, स्वास्थ्य, सडक, पुल, खानेपानी, विद्युतीकरण, सिँचाई, सँस्कृति, समाज कल्याण र अन्य सार्वजनिक उपयोगिताहरुको सिर्जनाका क्षेत्रमा ४९५ वटा परियोजनाहरु पूरा गरिसकेको छ । बाँकी परियोजनाहरु विभिन्न चरणमा सञ्चालन भइरहेका छन् । विज्ञप्तीमा अगाडि भनिएको छ, निकटको छिमेकी भएको नाताले भारत र नेपालबीचमा व्यापक र वहुक्षेत्रीय सहकार्य रहेको छ । नेपाली जनताको उत्थान र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका हरेक प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको विज्ञप्तीमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया