धरान । धरानको इतिहाँसमा पहिलो पटक व्यवसायी एवम् करदाताहरु सबैभन्दा बढी आतंकित भएका छन् । २०६४ साल भन्दा अगाडिका व्यवसायीहरुको म्यानुअल सिस्टम फाइल अपडेट नगरी, परीक्षण नगरी २०५८ सालदेखिको कर बक्यौता बाँकी छ भन्दै धरानका ११ हजार भन्दा बढी व्यवसायीहरुलाई पत्र काटेपछि उनीहरु आतंकित मात्र नभएर व्यवसाय बन्द गरेर पलायन हुन थालेका छन् । आफ्नो नाम उल्लेख नगर्ने शर्तमा आन्तरिक राजस्व कार्यालयका एक कर्मचारीले भने सिमराहामा हुँदा पनि व्यवसायीहरुलाई अनाहकमा दुःख दिने गरेको सुन्नमा आएको थियो । कार्यालय प्रमुखको रुपमा बृद्धिप्रसाद आचार्य धरान आएपछि व्यवसायी र आन्तरिक राजस्व कार्यालय बीचको सम्बन्ध नै टुटेजस्तो भएको छ । उनले भने हामीले पहिला व्यवसायीको फायल हेरौ, कर तिरे नतिरेको निक्र्यौल गरौ त्यसपछि नतिरेकाहरुलाई सरकारले दिएको छुटको अवधिसम्म बक्यौता तिर्न पत्राचार गरौ भनेर सल्लाह दिँदा उनले मानेनन् । उनले भने पत्र काटेका अधिकांश व्यवसायीले कर तिरेका छन् । केही छुटेका होलान् । केहीले व्यवसाय नै छाडिसकेका छन् । कार्यालय प्रमुखले जस्तो आदेश दियो हामीले त्यसै गर्ने हो उनले सुनाए ।
धम्क्याउने, तर्साउने र बार्गेनिङ्ग गर्ने गरेको गुनासा


आन्तरिक राजस्व कार्यालय धरानका प्रमुखको रुपमा गत माघमा आएका बुद्धिप्रसाद आचार्यले असारदेखि धरानका व्यवसायीहरुलाई आतंकित बनाउन थालेको धरानका एक अर्का व्यवसायीले धरान साप्ताहिकलाई बताए । उनका अनुसार व्यवसायीहरुले पत्र पाइयो होला भेट्न आउनु पर्दैन ? भेट्न आउनु भन्दै फोन गर्छन् । कर दाता कार्यालयमा पुग्दा धम्क्याउने, तर्साउने र बार्गेनिङ्ग गर्ने मात्र नभएर अपराधिको नजरले हेर्छन् । उनले भने मलाई विगत ६ महिनादेखि वर्तमान कार्यालय प्रमुखले एकदमै तनाव दिएका छन् । मेन्टल्ली र इनान्सियल तनाव दिएका छन् । म मात्र नभएर अहिले गएर भ्याट एसिस्मेन्टको बारेमा हे¥यो भने कतिलाई पीडित बनाएको छ भन्ने कुरा स्पष्ट हुन्छ । उनले भने हामी पनि धरानकै हौं, यसै पनि व्यवसाय चौपट्ट छ । यद्यपि, व्यवसाय किन छोडिहाल्नु भनेर सबै प्रकारको कर नियमित चुक्ता गर्दा पनि विगत ५÷६ बर्ष अगाडिको अडिट भइसकेको फायल पनि मेरो अधिकारमा पर्छ भनेर पटक पटक फोन गर्ने, चिठ्ठी बुझ्न आउनु भन्नुको रहस्य के हो ? उनले भने व्यवसायीमात्र नभएर अडिटरहरु पनि त्रसित छन् । अडिटरहरु कार्यालय प्रमुख आचार्यको बदनियतबाट वाक्क भएर तपाइको फाइल तपाइ नै डिल गर्नुस् भन्न थालिसके । उनले भने अब हामीले व्यापार गर्ने कि कर कार्यालयका चक्कर लगाउने ? हामी साना व्यवसायी साह«ै मारमा परेका छौं । फोन गर्न, भेट्न आउनु भन्ने, भेट्न जाँदा राम्रोसँग कुरै सुन्न नचाहने, सिधै ठग होस् भन्ने, अपराधिक नजरले हेर्ने, तैले कमाइस्, तेरो कारोबार मलाइ थाहा छ भन्ने गरेको उनले सुनाए । उनले भने पदको दुरुपोग गरेर फाइल गायब बनाउने काम समेत गरिरहेका छन् ।
व्यवसायीहरुलाई हेर्ने दृष्टिकाण नै गलत छ
धरान उपमहानगरपालिका वडा नं. १ का सामान्य व्यवसायीले भने कर कार्यालय प्रमुख आचार्यको व्यवसायीलाई हेर्ने दृष्टिकोण नै गलत भएको गुनासो गरेका छन् । उनले भने मेरो व्यापार नै हजुरको नाममा गरिदिन्छु । म मेरो व्यवसाय बन्द गरेर विदशतिरै जान्छु, बाँकी बक्यौता केही बाँकी छैन, हरेक बर्ष कर क्लियरेन्स लिइरहेको छु भन्दा सिधै तँ ठग होस्सम्म भने । राज्यलाई कर तिर्नुपर्छ, मैले तिरिरहेको छु । यो करदाता हो, व्यवसायी हो, व्यापार व्यवसायमा मन्दी छ भन्ने सामान्य सोच समेत कार्यालय प्रमुख आचार्यमा देखिएन, उनले भने । उनले भने एक सय रुपैया तिर्नुछ भने ४ सय रुपैयाको डर देखाएर दुई सयमा मिलाउने र यतिमा मिलाई दिएँ हामीलाई पनि केही हुनुपर्छ भन्ने गर्छन् । यो त सिधै घुस मागेको होइन र ? उनले भने कर कार्यालयका अन्य सबै कर्मचारीले वास्तविकता बुझेका छन् । उनीहरु व्यवसायीलाई अनाहकमा दुःख दिनु हुँदैन, यसो नगरौ नत्र ठूलो द्वन्द्व हुन सक्छ भनेर प्रमुखलाई भन्ने गरेको भएपनि उनी सुन्न तयार नभएको उनले सुनाए । कतिपय व्यापारी फोन गरेपछि कार्यालयमा पुग्दा म्यानुअल सिटमका फायल नै गायव बनाइदिने, फायलमा भएका कागजात गायव बनाइदिने गरेको समेत पाइएको छ । व्यापारीलाई तँ मर कि बाँच, जहाँ सुकै जाँ, तेरो व्यापारसँग हामीलाई के मतलब समेत भन्ने गरेको ती व्यवसायले सुनाए । उनले भने हामीले दुःख गरेर, बैंकसँग ऋण लिएर केही होला कि भनेर व्यापार गरेका हौं । तर व्यवसायीलाई बेबकुव खालका प्रश्न गर्ने, होच्याउने, फटाहा भन्ने, ठग होस भन्नु त जायज होइन । उनले भने एक बर्षको अवधिमा धरानबाट एकसय जनाले व्यवसाय कार्यालय प्रमुखकै कारणले छोडिसकेका छन् । गुनासो लिएर प्रमुख कार्यालय गयो भने चिठ्ठी बुझाइदिन्छु भन्ने, हावामा चिठ्ठी पठाउने गर्छन् । कार्यालय प्रमुख आचार्यलाई चिठ्ठी पठाउन सजिलो भएको छ । हावा हावा कुरा गर्ने, युजलेस, सेन्सलेस कुरा गर्ने अनि अन्तिममा मिलाउने होला नि भन्नुको तात्पर्य के हो उनको गुनासो थियो ।
नेपाल उद्योग तथा व्यवसायी महासंघको आपत्ति
धरानका व्यवसायीहरुलाई पत्र आतंक मच्चाएपछि नेपाल उद्योग तथा व्यवसायी महासंघले आपत्ति जनाउँदै सोमबार महासंघका पदाधिकारीहरु कार्यालय प्रमुख बृद्धिप्रसाद आचार्यलाई भेट्न पुगेका थिए । व्यवसायीहरुप्रति कार्यालय प्रमुखको एकल निर्देशनमा पत्र आतंक मच्चाएपछि आक्रोसित भएको महासंघले आन्दोलको चेतावनी दिँदै शनिवार स्थानीय ड्रिमल्याण्ड होटलमा वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना समेत गरेको थियो । सोमबार कर कार्यालयमा पुगेका आक्रोसित व्यवसायीहरुले तपाईले आतंक मच्चाउने ढंगले पत्र काटनु भयो । अधिकांशले बुझाइसकेकाले, बुझाउन बाँकी भएकाले बुझाइदिनु होला, नबुझाउनेले बुझाउनुस्, अपडेट भइसकेकाहरुले जानकारी गराइदिएको भए हुन्थ्यो भनेर कुरा राख्दा उनले आफूबाट गल्ति भएको भन्दै माफी मागेका थिए । महासंघका अध्यक्ष शिवराज श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलसँग आफूले गल्ति गरेको भन्दै माफी मागेका थिए ।
प्रतिनिधि मण्डलका एक सदस्यका अनुसार कार्यालय प्रमुख आचार्यले मेरो गल्ति भयो । मैले सुनसरी उद्योग वाणिज्य संघसँग ७÷८ पटक मिटिङ बस्दा उनीहरुले वास्तै गरेनन् । त्यही भएर मैले चिठ्ठी काटे मबाट गल्ति भयो । पहाडका उद्योग वाणिज्य संघहरु भन्दा पनि सुनसरी उद्योग वाणिज्य संघका पदाधिकारीहरु खत्तम रहेछन् सम्म आचार्य प्रमुले भन्न भ्याए । म बाट मिस अन्डरस्टाडिङ्ग भयो । मैले के गर्नुपर्छ तपाईहरु नै भनदिनुस् सम्म आचार्यले भन्न भ्याए । व्यवसायीहरुको अगाडि आचार्य पूरै विचलित देखिन्थे उनले भने । पुरानो अपडेट नगरी किन चिट्टी पठाएको भन्ने सवालमा आचार्यले भने हामीले कम्युटरमा भएकाहरुलाइ आधार मानेर पत्र पठाएको हो । जसको अपडेट छ उसले पैसा तिर्नुपर्दैन, पैसा तिरेको नभएर सुविधा पाउन भनेर चिठ्ठी काटेको समेत आचार्यले भने । पहिला पहिला उद्योग वाणिज्य संघलाई ढड्डा दिनु हुन्थ्यो यस पटक किन नगरेको भन्ने सवालमा उनले ०५८ सालदेखिको अपडेट नहुने भएकोले चिठ्ठी पठाएको बताएको प्रतिनिधि मण्डलमा सहभागी अर्का व्यवसायीले बताए । (क्रमश : आगामी अंकमा)

