मोरङ । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले आगामी फागुन १२ गतेदेखि सुरु हुने ‘जनतासँग माओवादी, तराई–मधेश जनजनगरण अभियान’का क्रममा अन्य पार्टीका हजारौं कार्यकर्ता भित्र्याउने दाबी गरेको छ । कोशी प्रदेश परिषद बैठकको निर्णय सार्वजनिक गर्न सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र कोशी प्रदेशले यस्तो दाबी गरेको हो । उक्त अभियान १२ गते झापाको कचनकबलबाट सुरु भई हुलाकी राजमार्ग हुँदै कञ्चनपुरमा समापन गर्ने तय गरिएको छ । जसअन्तर्गत कोशी प्रदेशका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा एक एक दिन अध्यक्ष प्रचण्डसहितका सम्पूर्ण पदाधिकारीको टोली अभियानमा खट्ने माओवादी कोशीका अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले जानकारी दिनुभयो । जसअनुसार फागुन १२ गते झापाको कचनकवल गाउँपालिकाको बनियानीमा उद्घाटन हुने, बाह्रदशी गाउँपालिका र झापा गागाउँपालिकामा भेटघाट, जनअन्तरक्रिया तथा सभाको आयोजना गर्ने तय भएको छ । फागुन १३ गते मोरङको रतुवामाई नगरपालिकाको आमवाडी चौक, कानेपोखरी गाउँपालिकाको रमाइलो चोक, धनपालथान गाउँपालिकाको कर्सिया र विराटनगरमा भेटघाट, जनअन्तरक्रिया तथा सभाको आयोजना गर्ने माओवादीले जनाएको छ । यस्तै फागुन १४ गते सुनसरीको बर्जु गाउँपालिकाको चिमडी, गढी गाउँपालिकाको
हरिनगरा, लौकही र इनरुवामा भेटघाट, जनअन्तरक्रिया तथा सभाको आयोजना गर्ने तय भएको छ ।

अभियानको क्रममा पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, महासचिव र उपमहासचिवहरुसहितको केन्द्रिय टोली सबै कार्यक्रममा सहभागी हुने अध्यक्ष नेम्वाङले जानकारी दिनुभयो । यस्तै केन्द्रीय टोलीको विदाईपछि फागुन महिनाभरी हुलाकी राजमार्ग केन्द्रीत प्रदेशस्तरीय अभियान संचालन गर्ने उहाँले जानकारी दिनुभयो । े जनसाङ्गीतिक अभियान ‘समाजवादी संस्कृति र चेतना जागरणको लागि तराई चुरे अभियान’ समेत संचालन गरिने उहाँले जानकारी दिनुभयो । अभियानकै क्रममा हिमाली र पहाडी जिल्लाबाट बसाई सराइ वा अन्य कामको शिलसिलामा झापा, मोरङ, सुनसरी, उदयपुरमा रहेका पार्टीका कार्यकर्ता तथा शुभचिन्तकहरुलाई संगठित गर्ने, किसानहरु समस्याहरुलाई समाधान गर्न र सहजीकरण गर्न पार्टीको केन्द्रीय सदस्य र प्रदेशको नेतृत्व र जनप्रतिनिधिहरुमार्फत कृषि मल, बिउ, प्रबिधि, सिंचाइ, कृषि उपजको बजारीकरण र प्रशोधनलगायत समस्याको समाधान गर्न सहजीकरण गर्ने, भ्रष्टाचार, बेथिति, ढिलासुस्ती, कर छली, तस्करी र अनियमितताविरुद्ध निगरानी र भण्डाफोर अभियान चलाउने पनि उहाँले जानकारी दिनुभयो ।
