धरान । मुकुम्लुङ बचाऔं संघर्ष समिति तथा राजनीतिक दलको समर्थमा आइतबारबाट गरिएको लिम्बुवान बन्दका सबैभन्दा बढी मारमा यात्रुहरु परेका छन् । गन्तव्यसम्म पुग्न नसक्दा उनीहरु बाटैमा अलपत्र परेका छन् । केबलकार खारेज हुनुपर्ने माग सहित स्थानीय गोली लागेका घाइतेहरुको सहज रुपमा उपचारको माग गर्दै सशक्त आन्देलनमा उत्रिएका पहिचानवादीहरुको आन्दोलनका कारण गन्तव्यसम्म हिडेका यात्रुहरु अलपत्र परेका हुन् । धरानमा पाहुन आएका आफ्ना पाहुनालाई सवारी साधनमा चढाएर पठाउनका लागि आइतबारदेखि धरानको भानुचौकमा प्रतिक्षा गरेका छिरिङ शेर्पाले बन्द लामो समयसम्म हुदा सर्वसाधारणले दुःख पाएको बताउनुहुन्छ । संखुवासभा जानुपर्ने पाहुनाको घरमा धेरै काम भएको र समयमै घर पुग्नुपर्ने बताउदै बन्द लामो समयसम्म हुँदा सर्वसाधारणले धेरै सास्ती भोग्नुपरेको बताउदै बन्द खुलिदिए हुन्थ्यो भन्ने मनसायमा उहाँ हुनुहुन्छ । उहाँमात्र हैन धनकुटामा आफन्तको विवाहमा जान आतुर रहनु भएका हेमबहादुर भण्डारीको समेत भनाई उस्तै छ । बन्द नखुलेकै कारण जान नपाएको गुनासो गर्दै बन्दकर्ताहरुले बन्दको विकल्पमा निकास निकाल्नुपर्नेमा जोड दिनुभयो ।


उहाँहरुमात्र हैन आइतबारदेखि भएको बन्दका कारण धेरै यात्रुहरु गन्तव्यसम्म पुग्न सकेका छैनन् । सरकारले पहिचानवादीहरुलाई वार्तामा बोलाए पनि घाइतेहरुको स्वास्थ्यपचार, उचित क्षतिपूर्ति तथा स्थानीयहरुलाई पनि वार्तामा बोलाउनुपर्ने भन्दै अडान कसेका छन् । उनीहरुले ऐतिहासिकता क्षेत्रको संरक्षणसँगै सरकारको तानाशाही प्रवृत्तिका विरुद्ध आफूहरु आन्दोलनमा उत्रिनुपरेको बताएका छन् । आफ्ना कार्यकर्ता गोली लागी घाइते भएसँगै मुकुम्लुङ बचाऔं संघर्ष समितिका पाँच घटक तथा राजनीतिक दलहरुको समर्थनमा आइतबारदेखि भएको बन्दले जनजीवन प्रभावित बनेको छ । सशस्त्र प्रहरीले मुक्कुमलुङ संरक्षणकारीहरूमाथि २०८१ माघ १२ गते गोली चलाएर घाइते बनाएको भन्दै अहिलेको सरकार तानाशाही सरकार भएको आरोप लगाएका छन् । उनीहरुले माग सुनुवाई नभएसम्म आन्दोलनलाई जारी राख्ने चेतावनी समेत दिएका छन् । केवलकारको विषयमा भएको किचलोका कारण बन्द हड्तालमा उत्रिएका पहिचानवादीहरु आक्रासित बनेका छन् । यो आन्दोलनलाई सरकारी पक्षबाट वार्ताको सहज वातावरण नभएसम्म बन्द हड्ताल अझ कडा भएर जाने देखिएको छ । सर्वसाधारणको दिनचर्यालाई सहज बनाउन आन्दोलनकारी पक्ष र सरकार गम्भीर हुन जरुरी छ ।
