लागूऔषधको कुलतमा फस्दै ‘सेक्स वर्कर’ महिला : जीवन परिवर्तनको पाठ सिकाउँदै महिला सहयोगी समूह

इटहरी । इटहरी वडा नं. १४ की चौधरी थरकी युवती साथीभाइसँग हिँड्दा हिँड्दै ‘सेक्स वर्कर’ को रुपमा काम गर्न थालिन् । उनले ‘सेक्स वर्कर’ को रुपमा काम गर्न हिँड्दा पुरुष ग्राहकले अलि अलि गर्दागर्दै मनोरञ्जनका लागि भन्दै जाँड–रक्सी र चुरोटको प्रयोग गर्न सिकाए । यतिबेला ती युवती लागूऔषधको लतमा पुरै फसिसकेकी छन् । उनीजस्तै, ‘सेक्स वर्कर’ को रुपमा काम गर्ने धेरै महिलाहरु विस्तारै विस्तारै प्रयोग गर्दा यतिबेला लागूऔषधको लतमा फसेका छन् । कतिपयको ध्यान लागूऔषधबाहेक अन्यत्र जाँदैन् । यसरी लागूऔषधको लतमा फसेका महिलालाई उनीहरुका बाबुआमा, आफन्त र छिमेकीले पनि वास्ता गर्न छोडेका छन् । ‘धेरैको वास छैन, धेरैजसोको सडकमै बास हुने गर्छ,’ सेक्स वर्कर महिलाहरुको हितमा कार्यरत संस्था महिला सहयोगी समूह इटहरीकी पूर्व अध्यक्ष ज्ञाना खड्काले भनिन् ‘नागरिकता नभएकाले गर्दा त्यसरी सडकमा हुने महिलालाई आश्रममा पनि कसैले राख्दैन अनि उनीहरु सडकमै रमाउन बाध्य छन् ।’ ‘सेक्स वर्कर’ महिलाहरुमा लागूऔषध खाने बानी छुट्ने छनक नदेखिएको खड्काले बताउँछीन् । उनका अनुसार अहिलेसम्म २५० जनाले नसालु पदार्थ जाँड–रक्सी र चुरोटको लतमा फसेका छन् । यस्तै, धरान क्षेत्रमा १६ जना सेक्स वर्कर महिला कडा खालको लागूऔषध प्रयोग गर्ने गरेका छन् ।

खासगरेर मानसिक तनाबमा रहेका ‘सेक्स वर्कर’ महिलाहरुले तनाब कम गर्नका लागि जाँड—रक्सी र चुरोटसँगै कडा खाले लागूऔषध प्रयोग गर्ने गरेका हुन् । ‘एकातिर सेक्स वर्कर महिलालाई मानसिक पीडा छ भने अर्कातिर उनीहरुसँग बस्ने पुरुष ग्राहकले नसालु पदार्थ नखाईकन रमाइलो नै हुँदैन भनेर बाध्य पार्ने गरेका छन,’ उनले भनिन्, ‘यसरी नसालु पदार्थ सेवनले गर्दा दुवैको ज्यान जोखिममा रहने गरेको छ ।’ महिला सहयोगी समूह इटहरीले नसालु पदार्थ प्रयोग गर्ने महिलालाई परामर्श दिने गरेतापनि पर्याप्त नभएकाले गर्दा सरकारी निकायबाटै लामो समयका लागि कार्यक्रम सञ्चालन गरिनुपर्ने उनले माग गरिन् ।
यहाँ कार्यरत ‘सेक्स वर्कर’ महिला आफ्ना श्रीमानका कारण पनि त्यो पेसामा संलग्न हुने गरेका छन् । विशेषगरी इनरुवा क्षेत्रमा आफ्ना श्रीमान्कै कारण महिला ‘सेक्स वर्कर’ बनेका छन् । कतिपय आर्थिक अवस्था दयनीय भएका परिवारमा पुरुषले नै श्रीमतीलाई प्रोत्साहन गर्ने गरेको जानकारी दिइयो । महिला सहयोगी समूहले ‘सेक्स वर्कर’ भन्नाले व्यस्क व्यक्तिहरुद्दारा सहमतिमा पारिश्रमिक लिएर गरिने कार्य भएको जनायो । नेपालमा ६७ हजार ३०० ‘सेक्स वर्कर’ महिला रहेका छन् । जसमा सुनसरीमा एक हजार ५०० सेक्स वर्कर रहेका छन् । सुनसरीमा रहेका ‘सेक्स वर्कर’ महिलाहरु आफ्नै ग्राहकबाट समेत कतिपय सुरक्षित नभएको जानकारी दिइयो । खासगरेर सेवा लिने र पैसा नदिने नियत राखेका ग्राहकबाट महिलाहरु सुरक्षित नभएको महिला सहयोगी समूहकी कार्यकारी निर्देशक विमला ठकुरीले बताइन् । उनका अनुसार महिला सहयोगी समूहले अहिलेसम्म ‘सेक्स वर्कर’ महिलामध्ये एचआइभी÷एड्स, यौन रोग, हिंसा र क्यान्सरबाट बचाउन विभिन्न खाले कार्यक्रम सञ्चालन गर्दै आएको छ । अब लागूऔषधको लतमा फसेकालाई पनि विशेष कार्यक्रम सञ्चालन गरिनेछ । ‘सेक्स वर्कर’ महिलाहरुले विना गल्ती पक्राउ गर्ने र मानसिक तथा शारीरिक यातना दिइने कार्य बन्द गर्न माग गरेका छन् । ‘सेक्स वर्कर’ महिलाका लागि महिला सहयोगी समूहले सन् २०२० मा कोरोना भाइरस (कोभिड–१९ ) को महामारीले विश्वलाई नै आक्रन्त बनाएको बेला खाद्यन्नलगायतका राहत सामग्री वितरण गरिएको र नियमित रुपमा सरसफाईका सामग्री एवम् सिनेटरी प्याड प्रदान गर्दै आएको छ । यस्तै, ‘सेक्स वर्कर’ महिलालाई सही ग्राहक रोज्न र सुरक्षित स्थान पहिचान गर्न सचेतना फैलाउने गरेको छ । सही ग्राहक नरोज्दा कहिलेकाँही अपराधिक मानसिकताका व्यक्तिद्दारा अनपेक्षित रुपमा दुर्घटनाका घटना हुन सक्ने भएकाले गर्दा त्यसमा विशेष सावधानी अपनाउने सचेत गर्ने गरिएको जारी विज्ञप्तिमा उल्लेख छ । सुनसरीका ‘सेक्स वर्कर’ महिलाको हकहितमा महिला सहयोगी समूहले काम गर्दै आएको छ भने देशभरका ‘सेक्स वर्कर’ महिलाको पक्षमा स्वासा नेपाल काठमाडौंले काम गर्दै आएको छ । स्वासा नेपालले देशभरका १७ वटा सिभिओसँगै अन्य संस्थाको सहकार्यमा काम गर्दै आएको जानकारी दिइयो ।

तपाईको प्रतिक्रिया