जातीय संस्कृति जोगाउन जुट्दै : मेला उत्सवमा यस्ता कार्यक्रमको प्रवद्र्धन

धरान । नेपाल वहुधार्मिक, वाहुसाँस्कृति र वहुजातीय मुलुक भएकै कारण साँस्कृतिक रुपमा यो मुलुक समृद्ध मुलुकको रुपमा लिन सकिन्छ । पश्चिमा मुलुकले गाँजेको बेला नेपालमा यस्ता साँस्कृतिक सम्पदा लोप हुन थालेपछि पछिल्लो समय यस्ता सम्पदालाई संरक्षण गर्नकै लागि विभिन्न जातिले मेला, पर्व तथा विभिन्न कार्यक्रमहरुमा प्रदर्शन गर्दै संरक्षणको अभियानलाई निरन्तता दिइएको पाइएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिमा भर्खरैमात्र खाना महोत्सव सम्पन्न भयो । त्यसको लगत्तै १२४ औं धरान उत्सव सम्पन्न भयो भने अहिले धरान एक्सपो सञ्चालन भइरहेको छ । यी यस्ता महोत्सवको आकर्षक केन्द्रविन्दुको रुपमा हरेक जातजातिको साँसकृतिक पर्व तथा पर्वमा प्रयोग गरिने बाजा रहने गरेको छ । साँस्कृतिक विविधताका बीच एकता कायम राख्न तथा नेपालको साँस्कृतिक सम्पदाको संरक्षणका लागि पनि यस्ता महोत्सवहरु तथा विभिन्न कार्यक्रमहरुमा प्रयोग गरिदै आएको साँस्कृतिक पर्व तथा वाजागाजाले सहयोग पु¥याउदै आएको छ भने यस्ता पर्व तथा बाजागाजा युवा पुस्तासम्म पु¥याउन सहज भएको छ । धरान एक्स्पोमा समयमा लिम्बु जातिको साँस्कृतिक बाजागाजासहित उद्घाटन स्थलमा पुगेका लिम्बु, मगर, नेवार तथा पञ्चेबाजा संरक्षण अभियानमा जुटेका महिलाहरुको जमातले प्रदर्शन गरेको आ–आफ्ना पर्वमा प्रयोग गरिने बाजागाजासहितको ¥यालीले महोत्सवको गौरव अझ बढाएको स्पष्ट देखिन सकिन्थ्यो । समय समयमा हुने यस्ता सामुहिक कार्यक्रम तथा मेला उत्सवका कारण हराउदै गएको आफ्नो सँस्कृतिको जगेर्नामा ठूलो सहयोग पुगेको लिम्बु जातिका अग्रज सुकबहादुर लिम्बु बताउनुहुन्छ । उहाँले युवा पुस्ताले यस्ता साँस्कृतिक पर्व र पर्वमा प्रयोग गरिने बाजागाजाका विषयमा विर्सदै गएकोले सम्बन्धित समुदाय र राज्यले संरक्षणको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै नेवार समुदायभित्र पर्ने खड्गी समाजका अध्यक्ष मनिष खड्गीले नेवार समुदायको सँस्कृति भनेकौ नेवारीहरुको पहिचानसँगै राज्यको समेत सम्पति भएकोले यसको संरक्षणमा नेवारी जातिहरु लागि परेको बताउनुभयो । उहाँले नेपाल साँस्कृतिक विविधताको धनी भएकोले पर्यटक भित्र्याउने माध्यमको रुपमा यसलाई लिइएको बताउनुभयो । उहाँले नेवारीहरुको विशेष पर्वमा पर्व अनुसारको साँस्कृतिक पर्वको प्रदर्शन गर्नेमात्र नभई समय समयमा हुने मेला उत्सवमा पनि नेवारी समुदायको पहिचान झल्कने साँस्कृतिक नाच, बाजागाजाको प्रदर्शन गरिने गरिएको बताउनुभयो । पछिल्लो सबै जातजातिले आफ्नो पहिचान नगुमोस् भन्ने अभिप्रायले साँस्कृतिक अभियानलाई युवापुस्तासम्म पु¥याउने कामलाई अगाडि बढाएका छन् । युवालाई तालिम दिने, साँस्कृतिक चाडपर्वमा अगाडि बढाउने कामलाई तिब्रता दिएका छन् । युवा पुस्तामात्र अगाडि छैनन् पछिल्लो समय महिलाहरु समेत यस्ता साँस्कृतिक बाजागाजा तथा परम्परा जगेर्नामा अगाडि देखिएका छन् । विगतदेखि नै शुभविवाह, शुभकार्यमा प्रयोग गरिदै आएको नौमति बाजाको ठाउँमा वेण्डबाजाले ठाउँ लिन थालेपछि धरान १५ का महिलाहरु यसको संरक्षणमा जुट्दै आएका छन् । पश्चिममा महिलाहरुले पञ्चेबाजा संरक्षणमा जुटेको देखेपछि तीन बर्ष अगाडि प्रगतिशील नौमति बाजा महिला समूह गठन गरेर महिलालाई तालिम दिने र तालिम लिएका महिलाहरुले विवाह, ब्रतबन्ध तथा यस्ता सामुहिक कार्यक्रमहरुमा सहभागी हुदै आएको समूहकी अध्यक्ष लिला ढकालले बताउनुभयो । उहाँले संस्था गठन गरेर पञ्जेबाजा संरक्षणमा लागेपछि अहिले धरानमा बेण्डबाजाको प्रयोगमा कमी आएको दाबी गर्नुहुन्छ । हराउन लागेका यस्ता साँस्कृतिक पर्व र पर्वमा प्रयोग गरिने बाजाको संरक्षणमा जेष्ठ नागरिक, युवा पुस्तासँगै महिलाको भूमिका भएकै कारण अहिले पनि सबै जातजातिको सँस्कृति तथा साँस्कृतिक पर्वमा मनाइने बजाइने बाजाको संरक्षण हुदै आएको छ । आ आफ्नो स्थानबाट यसरी सबैले संरक्षण गर्ने अभियान अगाडि बढाइरहँदा यसलाई मुलुकका तीन तहका सरकारले साँस्कृतिक पर्वलाइ संरक्षण गर्नका लागि नीति नियम बनाएर अगाडि बढ्नुपर्नै अभियन्ताहरुको माग छ ।

तपाईको प्रतिक्रिया