लाजै लजाउने उफ्राइ
सहकारी ठग नटवरलाल घण्टेका छाउराहरु यतिबेला लाजै लजाउने गरी उफ्रिदैछन्, नाचेका छन्, भोजभतेर गरेका छन् । छाउरहरुको उफ्राइ देख्दा लाजले पनि मुख छोपेर हिड्न थाल्या जस्तो छ । अदालतले घण्टेले सहकारी ठगेको होइन भन्न नमिल्ने भएको भन्दै ६५ लाख धरौटीमा हाललाई छाडिदिएको हो । मुद्धाको किनारा लाग्या छैन, सिद्धिएको छैन । अब कुन दिन देखि छाउराहर घण्टेले क्लिनचिट पायो भन्दै उफ्रिए पनि अनौठा नमाने हुन्छ । अझ गोडा ६ एक सहकारीको छिनोफानो भएकै छैन, पासपोर्ट काण्ड ज्यूँका त्यूँ छ । दोषी नभा भए अदालतले ६५लाख धरौटी राख भन्ने नै थिएन । हुन त घण्टेका छाउराहरुलाई कानुनी कुरा बुझाउनु र भैसीलाई बाँसुरीको धुन सुनाउनु उस्ताउस्तै हो । यतिबेला घण्टाघरलाई बुढी मरि भन्ने पिरोलो भन्दा पनि काल पल्केला कि भन्ने चिन्ता लाग्या छ । अब ६५ लाख बुझाएका धरौटी निकाल्न कुनचाहिँ सहकारी घण्टेले हान्ने हो ? सहकारीहरुले समयमै शतर्कता अपनाउँदा वेश होला । कि कसो हौ ?
राजनीति छाड्ने रे
संखुवासभाका खड्डु ऊर्जा मन्तरीले अस्तिका दिन आफ्ना वैरीहरुलाई गतिलै चुनौति दिएछन् । भ्रष्टाचारमा निर्लिप्त भा’ भन्दै केही दिनदेखि सामाजिक सञ्जाल र अन्य मिडियाहरुले तिनको पिँधमा बारुद पड्काउन थालेसी’ अस्तिका दिन तिनले आफूलाई लगाएका आरोप प्रमाणित गर्दिए राजनीति नै छाड्न्े भनेछन् । हैन तिनले राजनीति अँठ्याउन् कि छाडून् कसैलाई बाल मतलब छैन । बिना लगानीको भ्रमको व्यापार गरेर अकुत कमाउने खड्का पनि एक हुन क्यारे । अख्तियारमा त्यसै तिनका जन्मकुण्डली कोरिएर फाइल तयार भएको हैन क्यारे ? आफैले नियुक्त गरेको प्राधिकरण सञ्चालक समितिका सदस्येलाई काम गर्न अदालतले त्यसै रोक लगाएका हैन क्यारे । नेपाल स्काउटको जग्गा हड्पेर व्यापार गरेका हैनन कि ? अझै पनि छाड्छु भनेर के ल्याङ्गल्याङ्ग गरिबस्या ? हावा नचली पात हल्लदैन क्यारे ।
झल्लुले नि हान्देछन् गफ

माकुन्याउका पिछलग्गु सर्पनाथ उर्फ झल्ला झलुले अस्तिका दिन राम्रै गफ हान्देछन् । कसैले पुछताछ गर्न छाडिहाले, एक्लै बस्दा बस्दा विरक्तिएपछि गफसम्म त हान्नै प¥यो । पृथ्वी जयीन्तका दिन तिनले भौगालिक अखण्डता, शान्ति, अग्रगति समृद्धिका लागि सबै एक हुनुपर्छ भनेर अकबरे ओठ हल्लाएर बोलेछन् । घण्टाघरलाई अचम्म लाग्या छ यस्तै झल्लु जस्ता व्यक्तिले समृद्धि, सुशासनको कुरा गर्दा रै’छन् । अरुले सिटामोल खान नपाएर मर्दा झल्लु राज्याकोषबाट राजकानीको अप्रेशन गराउन विदेश हान्निएर, सर्प पाल्ने नाममा करोडौ डकारे । अनि समृद्धिको कुरा गर्न ? वाहियात ।
अपानवायु जस्तो गफ
सभामुख देवराज घिमिरे त असल मान्छे होलान् भन्या त ती पनि उही ड्याङ्गको मुला निस्किए । शिक्षाले राजनीतिलाई ठीक दिशातर्फ लैजान्छ भनेर अस्तिका दिन अपानवायु जस्तो गफ हन्दिए त गाँठे । हुन त तिन्लाई थाहा नभाको कि थाहा भएर पनि बुझपचाएका हुन् ? यो देश भाडभैलो बनाउने काम आफूलाई शिक्षित हुँ भन्नेहरुले नै ग¥या छन् । गाउँमा बसेर खेतिपाति गर्ने, सहरमा बसेर ज्यालामजदुरी गर्ने, खाँडीमा गएर पसिना बगाइ परिवारको भरणपोषण गर्नेले कहीँ घुस खाएका छन् ? घुस खाएको बात लागेका छ ? घुस खाएवापत जेल गएका छन् ? अदालतमा धरौटी बुझाएका छन् ? यमानको जन्ती लिएर राज्यकोष दोहन गरेर विदेश भ्रमणमा गएका छन् ? वात करता है ।
गणेमा छोटे राजाको मोज
गाँडतन्त्रमा छोटे राजाहरुको क्या मोज छ । छोटे राजाहरुले अरबौ ठगे पनि ६५ लाख बुझाएर फुत्त निस्कन्छन् । गाँडतन्त्र त आम नेपालीलाई अभिषाप बन्दै गएको छ । यसो सानो तिनो गल्ति ग¥यो कि जेलकै बाँस । अब त सरकारले पनि गणे राजाहरुको इच्छा बमोजिम अध्यादेश ल्याउला जस्तो छ । सुन तस्करले सुन फिर्ता गरिदिए उन्मुक्ति पाउने, हत्याराले बन्दुक फिर्ता गरिदिए सफाइ पाउने, व्यभिचारीले अर्काकी श्रीमति फिर्ता गरिदिए पुग्ने, घुस्याहा कर्मचारीले घुस फिर्ता गर्दिए कारबाही नहुने । यस्तो अध्यादेश ल्याउन अब सरकारले कम्मर कस्नैपर्छ । यस्तो अध्यादेश ल्याए भिआइपीहरुले थप राहत पाउने थिए । आखिरी गाँडतन्त्र भन्या भिआइपीहरुका लागि त हो ।
सूर्यदर्शनका पीडित अदालत जाने
सूयदर्शन सहकारीका पीडित जिल्ला अदालतको फैसला विरुद्ध उच्च अदालत र सर्वोच्च अदालत जाने भा’छन् । विचराहरु नगएर पनि के गरुन ? जीवनभरि दुःख, कष्ट गरेर आर्जन गरकोे रकम नटवरलाल घण्टे लगायतले चप्काए पनि अदालतले गोर्खेलौरी कसेर थुन्नु भन्ने आदेश
दिएन । पीडितहरुकै ठगेको रकम धरौटीमा राखेर छोड्ने आदेश अदालतले दिएसी’ पीडितहरु छटपटाएका छन् । विचराहरुको पीडा कस्ले बुझिदिने ? सरकार सुन्दैन, प्रहरी आलटाल गर्छ, अदालत धरौटी माग्छ । पीडितको ढेउवाचाहिँ कस्ले दिने ? जताबाट पनि डोढ्याङ्ग खाने त आखिरी भुइँ मान्छे त हो । जुनसुकै तन्त्र आएपनि भुइँ मान्छे कुवाको भ्यागुतो कुवामै भनेझै । कि कसो हो ?
वाइडवडीमा र्याले दम्पति
वाइडबडी जहाज खरिद प्रकरणमा लाउरेसका सभापति र्याले काजी पनि मुछिएन् रे । होला पनि सम्पत्तिका अगाडि शिवजीका तीन नेत्र भन्छन् । वाइडवडी खरिद हुँदा लाउरेसका र्याले काजी नै पर्धानमन्तरी थिए । दुई अर्ब भन्दा बढी घोटाला भएको कुरा त यतिबेला सर्वत्र चर्चा छ । ठेकेदार कम्पनीलाई अम्रिकाले जरिवाना नै गरिसक्यो तर खरिद गर्नेहरु माल डकारेर मैमत्त भएर उग्राएर बस्या छन् । हुन त त्यत्रो रकम दायाँबायाँ हुनुमा र्याले काजीको मात्रले आँटचाहिँ आउँदैन । जोइ जुआर राणाले सबै तारतम्य मिलाएको हो । त्यसै जुआर राणालार्ई भ्रष्टाचारकी कुदेवी भन्या होइन नि । र्याली काजी सिंहदबारको कुर्सीमा बस्ने जुआर राणाचाहिँ तारतम्य मिलाउने । यो कुरा त जगतलाई थाहा छ । अब किस वातकी डेर ? जुआर राणासँग सोधपुछ गरे भइहाल्यो । क्या गज्जब छ उड्ने, गुडुन, घस्रने, दौडने केही पनि छोडेनन् । त्यसै बुढानिलकण्ठे दरबार बन्या त होइन नि । वात करता है ।
अन्तेमा
हैन हो नेपालीले हिरा नचिनेको हो त ? बेलायतीहरुले निक्कै अघि नै चिनिसकेका रै’छन् । अब हेरम न लाउरेसका नेता शेखर दा’ यतिखेर बेलायतको संसदलाई संवोधन गर्न अस्तिका दिन त्यतातिर हान्निएका छन् । बुढा बेलायत पुगेपछि ठ्याक्कैे सहकारी ठग घण्टेकै शैलीमा नारा लागेको छ । बेलायती जनता के भन्छन् शेखर कोइरालालाई ले भन्छन्, विदेशमा यस्ता नारा यस अगाडि कुनै पनि नेपाली नेता जाँदा लाग्या थिएनन् । हैन हौ बुढा अब बेलायकै प्रधानमन्त्री हुन्छन् कि क्या हो ? बेलायत जानु भन्दा अगाडि राम्रै तयारी भा’रैछ । के गर्नु बेलायतीहरुले शेखर दा’लाई चिनिसक्या रै’छन् । पालीहरुलेचाहिँ कहिले चिन्ने होला ? दुई–दुई पटक सभापति लड्दा नि पछारे । बुढा फेरि पनि उठ्छु भन्दैछन् । घण्टाघरलाईचाहिँ नेपाली लाउरेसका कार्जेकर्तासँग साह«ै विश्वास लाग्दैन । जता मल्खु उतै ढल्कु ।
