धरान । नेपालको राष्ट्रिय झण्डाको गरिमालाई बढाउनकै लागि धरानमा पहिलो पटक राष्ट्रिय झण्डा दिवस २०८१ मनाइएको छ । २०१९ साल पुसको १ गते संयुक्त राष्ट्रसंघमा नेपालको झण्डालाई अंगीकार गरिएको र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको दिनको रुपमा यो दिवस मनाउन थालिएको भएपनि धरानमा भने इतिहासमै पहिलो पटक आयोजना भएको हो । ्राष्ट्रिय झण्डको महत्व, गरिमाको विषयलाई प्रतिविम्बित गरेको नेपालको राष्ट्रिय झण्डाले नेपाल र नेपालीको गौरवमात्र हैन अन्तर्राष्ट्रिय स्तरमा झल्काउने काम गरेको छ । तर नेपालको राष्ट्रिय झण्डाको गरिमा बढाउने काममा कहीकतैबाट प्रयास गरिएको भने पाइदैन । धरानमा राष्ट्रिय झण्डा दिवसको अवसरमा स्थानीय सरकार धरान उपमहानगरपालिकाले आयोजना गर्ने दायित्व हुँदा हुदै पनि अन्य संघ संस्थाले आयोजना गरेर उपमहानगरपालिकालाई संयोजनको भूमिकामा राखेर दिवस मनाए । धरान उपमहानरपालिकाको गेट अगाडिबाट राष्ट्रिय झण्डासहित, राष्ट्रिय झण्डा अंकित टोपी र व्याज लगाएर शुरु भएको ¥याली धरानको भानुचौकमा पुगेर झण्डोत्तलन गरेर कोणसभाको आयोजना गरेपछि सम्पन्न भएको थियो ।
शाक्यमुनि युवा समूको आयोजना तथा नेवार एकता समाज धरानको विशेष सहयोगमा आयोजना भएको सो कार्यक्रममा धरान उपमहानगरपालिकाले संयोजन गरेको थियो । सो अवसरमा बोल्दै नेवार एकता समाजका अध्यक्ष महेश श्रेष्ठले राष्ट्रिय झण्डाको गौरवलाई बढाउदै जनस्तरसम्म यसको महत्व झल्काउन तथा अन्तर्राष्ट्रिय स्तरसम्म नेपाली झण्डको उचाई बढाउन पहिलो पटक धरानमा राष्ट्रिय झण्डा दिवस मनाइएको बताउनुभयो । राष्ट्रिय झण्डा फेर्नेदेखि लिएर पछिल्लो समय झण्डाको दुरुपयोग भएको विषयमा कोही कसैलाई चासो नभएको उहाँको भनाई थियो ।


सो अवसमा बोल्दै धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र विक्रम बेघाले सूर्य चन्द्र अंकित नेपालको राष्ट्रिय झण्डा नेपाल र नेपालीलाई एकताबद्ध बाध्ने काम गरेको बताउदै नेपालको झण्डामुनि बसेर मुलुकको संविधानलाई अंगीकार गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा बोल्दै कोशी प्रदेशका पूर्व सभामुख प्रदीपकुमार भण्डारीले नेपालको झण्डको इतिहास, महत्वका विषयमा जानकारी दिनुभएको थियो । उहाँले सबै नेपाली मिलेर नेपालको झण्डाको गौरममय इतिहासलाई बचाउँदै गणतान्त्रिक संविधानलाई पालना गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । २०१९ पुष एक गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगिकृत गरिएको थियो । सोही दिनको सम्झनामा प्रतिष्ठानले २०७५ पुष १ गते देखि दिवसको रुपमा मनाउँदै आएको छ । तर धरानमा स्थानीय सरकारको पहलमा नभई नेवारी संघ सस्थाको पहलमा पहिलो पटक राष्ट्रिय झण्डा मनाइएको हो । नेवारी संघ संघ सस्थाले सो् अवसरमा राष्ट्रिय धाविकालाई समेत ट्याकसुट दिएर सम्मान गरेको थियो । स्थानीय सरकारले गर्ने काम संघ संस्थाले गरिदिएर पाठ सिकाउने काम गरेको छ ।
