धरान । धरानमा १३ औं राष्ट्रियकर दिवसको सप्ताहको आयोजना गरिएको छ । आन्तरिक राजस्व कार्यालय धरानको आयोजनामा ‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने नाराका साथ मंसिर १ गतदेखि ७ गतेसम्म राष्ट्रिय कर सप्ताहको आयोजना गरिएको हो । सो अवसरमा उद्योगी तथा व्यवसायीहरुले कर प्रशासनले उद्योगी व्यवसायीहरुलाई अनावश्यक ‘टचर’ दिने र राज्यको ८० प्रतिशत भन्दा बढी कर बुझाउदा समेत सधै उपेक्षित हुनुपर्ने अवस्था रहेको गुनासो पोखेका थिए । कर सप्तामा बोल्दै सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले राजस्व संकलनमा उद्योग व्यवसायीको ठूलो हात रहेको बताउनुभयो । उहाँले उद्योगी व्यगसायीले तिरेको ८० प्रतिशत करले राज्यको अर्थतन्त्रको ठूलो हिस्सा समटे पनि राज्यले उद्योगी व्यवसायी सधै उपेक्षा गरेको बताउनुभयो । जसले राज्यलाई इमान्दारितापूर्वक कर तिरेको हुन्छ त्यसलाई बढी तनाव दिने काम हुने उहाँको गुनासो थियो । त्यस्तो प्रवृधिलाई हटाउदै करको दायरा बढाउनुपर्नेमा जोड दिनुभयो । जबसम्म करको दायरा बढाउन सकिदैन तवसम्म राज्यले राजस्व संकलन गर्न नसक्ने उहाँको भनाई छ । करको दायरा बढाउन उद्योगी व्यवसायी र कर कार्यालयबीच हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

व्यवसायीहरुको गुनासो सुनिसकेपछि आन्तरिक राजस्व कार्यालय धरानका प्रमुख बुद्धिप्रसाद आचार्यले व्यापार व्यवासाय गर्नेहरु नै करदाता हुने भएकोले करदाता कर्मचारीभन्दा एक कदम अगाडि रहने बताउनुभयो । उहाँले करप्रशासनले व्यापारी व्यवसायीहलाई अनावश्यक तनाव दिने काम नगर्ने स्पष्टीकरण दिनुभयो । कर प्रशासन सञ्चालन गर्ने क्रममा आन्तरिक राजस्व कार्यालय धरानले इमान्दारितापूर्वक कर प्रशासन सञ्चालन गर्नुपर्छ भन्नै अभिप्रायले समयमै कर बुझाउदा हुने फाइदा र नबुझाउँदा हुने वेफाइदाको विषयमा करदाताहरुलाई बुझाउदै आएको बताउनुभयो । सो अवसरमा बोल्दै इलाका प्रशासन कार्यालय धरानका प्रमुख लक्ष्मीप्रसाद रेग्मीले देशलाई विकास र समृद्धिको मार्गमा अगाडि बढाउन, विकसिल राष्टूमा रुपान्तरण हुन, विकासको लक्ष्य हासिल गर्न ठूलो लगानीको आवश्यकता पर्ने कुरा एकातिर रहेको र संघीयतासँगै देशको राज्य प्रणालीलाई सञ्चालन गर्न आवश्यक पर्ने अर्थात जनताको अपेक्षा पूरा गर्न कर प्रणाली नै भएकोले यसलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । राष्ट्रियकर सप्ताको आयोजना गर्नुको प्रमुख उद्देश्यमा आन्तरिक राजस्व कार्यालय धरानले आफ्नो अधिकारक्षेत्रभित्र र कार्यक्षेत्रभित्र रहेर आन्तरिक राजस्व व्यवस्थापन गर्ने, सूचना प्रविधिको उपयोग गर्दै करदाता सेवा प्रदान गर्ने, सबै करदाताको पहिचान दिने गरी स्थायी लेखा नम्बर जारी गर्ने, स्वयं कर निर्धारण प्राालीलाई व्यवस्थित गर्दै सीमित करदाताको कर परीक्षण र अनुसन्धान गर्ने, सूचना प्रविधिको उपयोगबाट करदाता र कर प्रशासनको प्रत्यक्ष सम्पर्क घटाउँदै कर सहभागिता बढाउने, कर संकलन गर्ने अनौपचारिक अर्थतन्त्रलाई करको दायरामा ल्याउन जोड दिनेजस्ता कार्यनीति तथा कार्यक्रमहरु मार्फत राजस्व प्रशासन सम्बन्धी कार्यहरु सञ्चालन रहेको बताइएको थियो ।
