काठमाण्डौ । नेपाल–भारत सवकास सहकार्य अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न स्याङ्जा जिल्लाको गल्याङ्ग नगरपालिकास्थित गल्याङ्ग नगर अस्पतालको एक समरोहबीच शुक्रबार उद्घाटन गरिएको छ । भारत सरकारको ४ करोड १३ लाख रुपैयाको आर्थिक सहयोगमा निर्माण सम्पन्न उक्त असपताल भवनको काठमाण्डौस्थित भारतीय राजदुतावासका प्रथम सचिव अविनाशकुमार सिंह, जिल्ला समन्वय समति स्याङ्जाका सभापति श्रीप्रसाद जि.टी. र गल्याङ्ग नगरपालिकाका नगरप्रमुख गुरुप्रसाद भट्टराईले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । सो अवसरमा स्याङजाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, राजनैतिक दलका प्रतिनिधिहरु, समाजसेवीहरु, अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरु, अस्पतालका चिकित्सक, मेडिकल स्टाफ तथा गल्याङ्ग नगर अस्पतालका पदाधिकारीहरुको समुपस्थिति रहेको थियो ।


नेपाल–भारत विकास सहकार्य अन्तर्गतको भारत सरकारको अनुदान सहयोगमा भवनका अलावा गल्याङ्ग अस्पताललाई चाहिने अन्य भौतिक उपकरण, चिकित्सककीय उपकरण समेत उपलब्ध गराइएको छ । नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौता अन्तर्गत उक्त परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अगाडि बढाइएको थियो । उक्त परियोजनाको कार्यान्वयन जिल्ला समन्वय समिति स्याङ्जाले गरेको थियो ।
सो अवसरमा समन्वय समितिका सभापति, गल्याङ्ग नगरपालिकाका नगरप्रमुख, विभिन्न राजनैतिक दलका प्रतिनिधि, अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहले आफ्नो मन्तव्य राख्नु भएको थियो । उहाँहरुले भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको अस्पतालमा सम्पूर्ण सेवा सुविधा रहेकोले अब स्थानीयहरुले उपचारका लागि अन्यत्र जानु नपर्ने बताउनु भएको थियो । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने र स्वास्थ्य सम्बन्धी विभिन्न समस्या समाधान गर्ने उद्देश्यले नेपाल सरकारको स्वीकृतिमा स्थानीय जनताले एउटा सानो भाडाको घरमा सन् २०१० मा गल्याङ्ग सामुदायिक अस्पतालको स्थापना गरेका थिए । गल्याङ्ग नगरपालिकाको आर्थिक सहयोग रहको उक्त अस्पतालको नाम परिवर्तन गरी हाल गल्याङ्ग नगर अस्पताल नाम राखिएको छ । उक्त नगर अस्पतालले स्याङ्गजा, पाल्पा,पवर्त र गुल्मी जिल्लाका सर्वसाधारणलाई स्वास्थ्यसेवा प्रदान गर्दै आएको छ । दुतावासद्वारा एक विज्ञप्ती प्रकाशित गरी गल्याङ्ग अस्पतालको सुविधा सम्पन्न नव निर्मित अस्पतालबाट सर्वसाधारणले गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरेको छ ।
