धरान । दशैप्रति सर्वसाधारणको आस्था झन झन बढ्दै गएको पाइएको छ ।नौरात्रीको अन्य दिन विविध कारणले सुनसान रहेको धरानको दन्तकाली मन्दिर फूलपाति भित्र्याएपछि भने चहलपहल बढेको थियो । नेपालको शक्तिपीठमध्ये एक दन्तकाली मन्दिरमा अष्टमीका हाँस, बोका, रागा लगायतको बली चढाउने परम्परा रही आएको छ । नवरात्रीको अन्तिम दिन भएकेले यो दिन दन्तकाली मन्दिरमा अत्याधिक भीड रहेको थियो । दशै आउनु पूर्व बाढी पहिरोले धनजनको क्षतिका कारण धरान १४ विजयपुरमा रहेका मठमन्दिरमा नौरथा जानेको संख्या न्यून भए पनिे सप्तमीका दिन फूलपाति भित्र्याए पछि भने उल्लेख्य उपस्थितिले सर्वसाधारण धर्म, साँस्कृतिक पर्वप्रतिको आस्था भने नघटेको स्पष्ट हुन्थ्यो । धरान २ का पितरुमल अग्रवाललले ४१ बर्षदेखि नौरथाको समयमा दैनिक दुर्गा माताको दर्शन आउनुहुन्छ । आज समेत दन्तकाली मन्दिरमा दर्शन गर्दै गर्दा भेटिनु भएका उहाँले पूजाआजा गर्दा आफूले सोचेको, मागेको कुरा पूरा भएरै नवरथाको समयमा नौ दिन नै दन्तकाली मन्दिरमा आएर दर्शन गर्न आउने गरेको बताउनुभयो ।

अग्रवालमात्र हैन मन्दिरमा आएकाहरु सबैले दशैमा देवीको आस्था प्रगाढ रहेको बताएका थिए । धरान १४ विजयपुरका गोविन्द मैनालीले नौरथामा माता दुर्गाप्रति आस्था र विश्वास भएकै कारण नौरथाभरि दन्तकाली मन्दिरमा आएर पूजाआजा गर्ने र दर्शन गर्ने गरेको सुनाउनुभयो । मन्दिरको ढोका भने विहान ४ बजे खोलिएको थियो । अन्य बेला खासै भक्तजन दर्शन गर्न नआउने भएपनि नवरात्रीको अन्तिम दिन भएका कारण भक्तजनहरु अन्य दिनभन्दा बढी आएको बताएका छन् । सप्तमी र अष्ठमी, अष्ठमी र नवमी एकै दिन परेका कारण शास्त्र अनुसार मन्दिरमा पूजाआजा गरिएको मन्दिरमा खटिएका पूजारी तथा
कर्मचारीहरुले बताएका छन् ।वास्तवमै दशै पर्व नेपालीहरुको मौलिक पर्व हो । यो पर्वमा परिवार तथा साथीभाईसँगै भेटघाट हुने, मन्दिरको दर्शन गर्ने, पिङ खेलेर रमाइलो गर्ने, मीठो मसिनो खाएर रमाउने, मान्यजनबाट टिका ग्रहण गरेर आर्शिवाद लिने यो पर्व नेपाल र प्रवासमा बसेका नेपालीहरु बाहेक अन्य हिन्दुधर्मालम्बीहरुले महत्व दिँदैनन् । हिन्दुहरुको भन्दा पनि नेपालीको पर्व भएकै कारण जस्तोसुकै विपत्तका समयमा पनि विपत्तको सामना गरेर दशै मनाउने प्रचलन बढ्दै गएको छ ।
