चिस्यान केन्द्रले व्यापारी र कृषकलाई सुविधा

धरान । तीन बर्ष अगाडि कोशी प्रदेश सरकारको सहयोगमा चिस्यान केन्द्र निर्माणपश्चात धरान १३ स्थित कृषि बजारमा कृषि सामाग्री लिएर आउने व्यापारी तथा कृषकहरुलाई सहज भएको छ । विगतमा चिस्यान केन्द्र नहुदा लामोसमय सम्म सागसब्जी तथा फलफूल भण्डारण गर्न अफ्ठयारो थियो । त्यसबेला कृषि सामाग्री कुहेर फाल्नुपर्ने अवस्था थियो तर अहिले भने चिस्यान केन्द्र स्थापना पछि व्यापारी तथा व्यवसायी ढुक्क छन् । तीन बर्ष अगाडि सम्म कोशी पहाडी जिल्लाबाट धरान स्थित कृषि उपज बजार स्थलमा आएका कृषिजन्य उत्पादनहरु समयमै बिक्रि नसकिदा फ्याक्नुपर्ने बाध्यता थियो । फ्याक्नु पर्ने डरले जति मुल्य पाए पनि बिक्री गर्नुपर्ने हुन्थ्यो । भण्डारण गर्ने स्थलको अभावमा कृषिजन्य उत्पादनहरु कुहिएर जान्थे । तर अहिले भण्डारण केन्द्र बनेपछि सहज भएको व्यापारी तथा कृषकहरु बताउँछन् ।

लामो समय सम्म कृषिजन्य उत्पादनहरु चिस्यान केन्द्रमा राखेर बिक्रि गर्न पाएकामा उनीहरु दंग छन् । उनीहरुले मूल्य घटबढ भएको अवस्थामा पनि चिस्यान केन्द्रमा राखेर मूल्यको प्रकृति हेरेर कृषि सामाग्री विक्री गर्ने गर्छन् । सरकारले संचालन गरेका ११ वटा कृषि उपज बजार स्थल मध्ये धरान स्थित कृषि उपज बजार स्थलमा तीन बर्ष अगाडि चिस्यान केन्द्र स्थापना गरेको थियोे । कृषि बजारमा भोजपुर, संखुवासभा, धनकुटा लगायतका जिल्लाहरुबाट कृषि उत्पादनहरु आउने गरेका छन् । पहाडी जिल्लाबाट आएका किवी, सुन्तला लगायतका कृषिजन्य उत्पादनहरु चिस्यान केन्द्रमा भण्डारण गरिएको छ ।
चिस्यानकेन्द्र सञ्चालनमा आए पछि कृषकहरु लाभान्वित भएको बजारका व्यवस्थापक लक्ष्मण भट्टराई बताउनुहुन्छ् । भण्डारण गर्ने स्थान नहुँदा सस्तो मुल्यमा बिक्रि गर्नुपर्ने बाध्यताबाट मुक्त हुँदै उचित मुल्यमा बिक्रि गर्ने अवश्था सिर्जना भएको उहाँको भनाई छ । कृषि बजार पहाडी जिल्ला तथा तराईका कृषक तथा व्यापारीहरुको व्यापार गर्ने संगम स्थल भएकोले प्रदेश सरकारले निर्माण गरिदिएको चिस्यान केन्द्रबाट सहज भएको १३ नं वडा समितिका वडाध्यक्ष नेत्रप्रसाद काफ्ले बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया