कांग्रेसले चतरावाट पानी ल्याउन संघर्ष गर्ने

धरान/ नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १ सुनसरीले धरानको खानेपानी समस्याको दीर्घकालीन समाधान गर्न चतरा कोशीवाट पानी ल्याउनुपर्ने भन्दै संघर्ष गर्ने भएको छ । एकिकृत सहरी विकास कार्यक्रम अन्तर्गत एशियाली विकास बैंकको ३५% क्रृण तथा २६% अनुदान, नेपाल सरकारको २४% अनुदान र धरान नगरुपालिकाको  १५% लगानीमा सन् २०१७ मा आयोजनाको पूर्वाधार निर्माणको कार्य सम्पन्न गरी पानी उत्पादन र वितरण गर्ने गरी करिव २२.०७ मिलियन यु.एस. डलर अर्थात २ अरब १६ करोड ४ लाख लागत अनुमान गरिएको भुमिगत पानीको श्रोतमा आधारित धरान खानेपानी आयोजना अल्पकालीन र महंगो समेत भएको भन्दै कांग्रेस क्षेत्रीय समितिले दीर्घकालीन खानेपानी समस्याको दीर्घकालीन समाधान गर्न चतरा कोशीबाटै पानी ल्याउनुपर्ने निर्णय गर्दै क्षेत्रीय सचिव एवम् महाधिवेशन प्रतिनिधि सुजेन्द्र तामाङको संयोजकत्वमा क्षेत्रीय समितिका अन्य पदाधिकारी, सदस्य, सल्लाहकार, आमन्त्रित सदस्य र क्षेत्र नं. १ का महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला पदाधिकारी तथा सदस्य र क्षेत्रीय प्रतिनिधिहरुका साथै नगर समिति, गाउं समिति र नगरवडा समितिका पदाधिकारी तथा सदस्यहरु लगायत भातृ तथा शुभेच्छुक संघसंस्थाका पदाधिकारी तथा सदस्यहरु सदस्य रहने गरी संघर्ष समिति गठन गरेको छ ।
साथै तामाङको संयोजकत्वमा नेत्र कुमारी राई, चन्द्रशेखर लामा, ललिता अधिकारी, उमेश थापा, पर्वत राई, श्यामा रेग्मी, अनिल श्रेष्ठ, माधव घिसिङ, द्धारिकानाथ श्रेष्ठ, मुरारी भट्टराई, सागर प्रसाई, गोविन्द बस्नेत र सन्तोष वि.क. सदस्य रहेको तथा श्याम पोखरेल सदस्य सचिव रहेको सचिवालय तथा स्टेरिङ कमिटि समेत गठन गरेको छ । कार्यवाहक सभापति सुरेशमान श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले धरान ४ को सुकुम्वासी वस्तीमा खहरेले कटान गरेकाले तत्काल तटबन्ध निर्माण गर्न पनि नगरुपालिकाको ध्यानाकर्षण गराएको छ ।
कांग्रेस क्षेत्रीय सचिव एवम् संयोजक तामाङले धरानका राजनीतिक दल, नागरिक समाज, सामाजिक, धार्मिक, सांस्कृतिक एवम् जातीय संघसंस्था, उद्योगी व्यवसायी, पेशाकर्मी, बुद्धिजीवी, पत्रकार लगायत सम्पूर्ण सरोकारवालाहरुसंग समन्वय र सहकार्य गरी निर्णयक संघर्ष गरिने बताउंदै साथ, सहयोग र एक्यवद्धताका लागि धराने जनता समक्ष अपिल गरेका छन् । कांग्रेसले तामाङकै नेतृत्वमा विस्तृत अध्ययन गरी आयोजना दिगो नहुनुका साथै महंगो समेत भएको प्रतिवेदन सार्वजनिक गरी चतरावाटै पानी ल्याउन माग गर्दा पनि यसतर्फ आयोजना व्यवस्थापक र नगरुपालिका गम्भिर नभएकाले संघर्ष गर्न जरुरी भएको जनाएको छ । नेपाल खानेपानी संस्थानले गरेको सर्वे डिजाइनलाई उदृत गर्दै तामाङले ८० करोड मै चतरावाट पानी ल्याउन सकिने हुंदा बांकी १ अरब ३६ करोड ४ लाख रकमले बसपार्क, धरान प्रवेशद्धार, सर्दू, सेउती र खहरेको तटबन्ध, जलाधार क्षेत्रको संरक्षण, बहुजातीय संग्रहालय, सुकुम्वासी वस्तीमा खानेपानी, ढल, विजुली, वाटो र पांचकन्या क्षेत्रको भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने बताए । उनले एडिवीवाट हामीले क्रृण तथा अनुदान लिएकाले एडिवीले मनोमानी खर्च गर्ने नभई हामी आफैले प्राप्त आर्थिक श्रोतको सदुपयोग गर्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया