मन्त्री राणाको भ्रमण फलदायी

धरान । नेपालकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको ६ दिने भारत भ्रमणले दुई देशबीचको पारस्परिक सम्बन्ध थप मजबुत भएको भारतीय विदेश मन्त्रालय उत्तरी महाशाखाले जनाएको छ । महाशाखाले भाद्र ३ गते सोमबार एक विज्ञप्ती प्रकाशित गरी उक्त कुरा जनाएको हो । दुवै देशका परराष्ट्र मन्त्रीले भारत–नेपाल द्विपक्षीय साझेदारीका व्यापक पक्षलाई समेट्दै द्विपक्षीय वार्ता गर्नुभएको थियो । उहाँहरुले विभिन्न द्विपक्षीय पहल र विकास परियोजनाहरुमा भएका प्रगतिको समीक्षा गर्नुका साथै पारस्परिक लाभदायी सहकार्यका विद्यमान र नयाँ क्षेत्रमा थप सहयोगका अवसरहरुका बारेमा पनि छलफल गर्नुभएको थियो । जारी विज्ञप्तीमा भनिएको छ, गहिरो ऐतिहासिक, सभ्यतागत, साँस्कृतिक र जनता जनताबीचको सम्बन्ध रहेको भारत र नेपाल घनिष्ठ हितैषी छिमेकी हुन् । हालैका बर्षहरुमा भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनाहरुले गति हासिल गरेको छ । विशेष गरी पूर्वाधार, अन्तरदेशीय रेलमार्ग, सडक र पुलहरुसँग सम्बन्धित अन्य परियोजना, एकीकृत जाँचचौकी, पेट्रोलियम पाइप लाइन र डिजिटल वित्तीय कनेक्टीभिटीका क्षेत्र जस्तै भौतिक, डिजिटलका साथसाथै जनता जनताको बीचको सम्बन्धले स्पष्ट पारेको छ ।

नेपालले हाल एक हजार मेघावाट विद्युत भारतमा निर्यात गर्न थालेपछि यसले नेपालका लागि आम्दानी र भारतका लागि स्वच्छ ऊर्जाका थप स्रोतहरुको सिर्जना गर्ने सम्बन्धमा चर्चा गर्दै दुवैपक्षले ऊर्जा सहकार्यको क्षेत्रमा पारस्परिक लाभदायी साझेदारीमा भएको प्रगतिका सम्बन्धमा समेत छलफल भएको थियो । यस सम्बन्धमा दुवै देशका परराष्ट्रमन्त्रीले दीर्घकालीन ऊर्जा व्यापार सम्झौताको कार्यान्वयनका कारण ऊर्जा सहकार्यका क्षेत्रमा उपलब्ध अभूतपूर्व अवसर माथि पनि छलफल गर्नुभएको थियो । विज्ञप्तीमा भनिएको छ, नेपाल र भारतबीच सहकार्यको अर्को क्षेत्रका रुपमा खेलकुद रहेको छ । नेपाली क्रिकेट टोलीको लागि हालै बैंगलोर स्थित नेशनल क्रिकेट एकेडेमीमा व्यवस्था गरिएको प्रशिक्षण कार्यक्रमको प्रशंसा गरिएको थियो । भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री राणाले भाद्र ३ गते नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि शिष्टाचार भेट गर्नुभएको थियो । उक्त भेटमा आपसी हितका विविध क्षेत्रमा भारत नेपाल सहकार्यलाई थप सुदृढ बनाउने सम्बन्धमा छलफल भएको थियो । छिमेकी पहिलो नीति अन्तर्गत नेपाल–भारतको प्राथामिकतामा पर्ने साझेदार मुलुक हो । परराष्ट्रमन्त्रीको भ्रमण दुई देशबीचको नियमति उच्च स्तरीय आदानप्रदानको परम्परा अनुरुप भएको र भ्रमणले हाम्रा द्विपक्षीय सम्बन्धलाई थप अगाडि बढाउन सहकार्यका नयाँ क्षेत्रहरुबारे छलफल र पहिचान गर्ने अवसर पनि प्राप्त भएको विज्ञप्तीमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया