धरान । धरानका बौद्धिक व्यक्तित्व, शिक्षाप्रेमी, अत्यन्तै सरल धरानेहरुका प्रिय राजेन्द्रप्रसाद आचार्य (राजेन्द्र सर) अब हामी बीच रहनु भएन । उहाँको नस्वर शरीरले २०८१ भाद्र २ गते आइतबार विश्रम लिएको छ । वि.सं. १९८७ सालमा धनकुटा जिल्लाको सिभुवामा पिता कुलप्रसाद आचार्य र माता जनमायाँको कोखबाट कान्छा सुपुत्रको रुपमा जन्मनु भएका आचार्य झण्डै ९ दशक अगाडिदेखि धरानमा बसोबास गर्दे आउनु थियो । आचायले वि.सं. २००७ सालमा एसएलसी उत्तीर्ण गर्नुभएको थियो । तत्कालीन अवस्थामा प्राइमरी, मिडिल पब्लिक व्यवसायिक हाइस्कुल खोल्सापारी वास्तोला परिवारको घरमा रहेको थियो । राजेन्द्र प्रसाद आचार्यले प्राइमरी तहको अध्ययन त्यही गर्नुभएको थियो । पछि नयाँ भवन बनेपछि उहाँ त्यही पढ्न थाल्नु भयो । उहाँले तत्कालीन आदरणीय गुरुहरु स्व. हरिहर प्रसाद बर्मा, स्व.गंगाधार शर्मा पोखरेल जस्ता विद्वानको सामिप्यता पाउनु भएको थियो । राजेन्द्रप्रसाद आचार्यको समयमा आजको जस्तो सर्वसुलभ शिक्षा आर्जनको अवस्था थिएन । तत्कालीन अवस्थामा एसएलसी बोर्डसँगै उच्च शिक्षाका लागि भारतीय शैक्षिक बोर्डमा भर पर्नुपथ्र्यो । इस्वी सम्बत १९५३ सालमा विएचयुबाट आइए र इस्वी सम्बत १९५६ मा पटना विश्व विद्यालालय बोर्ड अन्तर्गत त्रिचन्द्र कलेज काठमाण्डौबाट विए उत्तीर्ण गर्नु भएको थियो । विए उत्तीर्ण भएपछि उहाँ शैक्षिक सेवातर्फ आकर्षित हुनुभयो । उहाँले केही बर्ष शारदा नमूना बालिका स्कुलमा अध्ययापन गराउनुभयो र पछि अर्थात २०१४ सालमा पब्लिक व्यवसायिक माध्यामिक विद्यालयमा अध्यापन गराउनु थाल्नु भयो । वि.सं. २०१५ सालमा उहाँ सहायक प्रद्यानाध्यापक हुनुभयो । सहायक प्रद्यानाध्यापकको रुपमा उहाँले लामो समयसम्म अध्यापन गराउनुभयो भने २०२७ सालदेखि २०३० सालसम्म उहाँले प्रद्यानाध्यापकको जिम्मेवारी सम्हाल्नुभयो । तत्कालीन अवस्थामा आजको पब्लिक हाइस्कुलमा रात्रीकालीन अध्यापनको व्यवस्था समेत रहेको थियो । उहाँले तत्कालीन पब्लिक व्यवसायिक माविमा १६ बर्ष अध्यापन गराउनु भएको थियो ।

वि.सं. २०३० सालमा उहाँको कार्यकौशलता, क्षमताको उच्च मूल्यांकन गर्दै राजनैतिक नियुक्ति दिइयो । विराटनगरस्थित कोशी आयोजनामा सम्पर्क तथा भू आर्जन कार्यालयको प्रमुख (सम्पर्क अधिकृत) भएर उहाँले काम गर्नुभयो । त्यसबेला भू–आर्जन कार्यालय प्रमुखको कार्यकाल चार बर्षको हुने गर्दथ्यो । उहाँले चार बर्ष इमान्दारिताका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्नुभएको थियो । त्यसपछिका दिनहरु उहाँको धरानको शैक्षिक गतिविधिमै केन्द्रित भयो । त्यसबेला धरानमा एक आद्य बाहेक समुदायिक विद्यालयहरु थिएनन् । धरानको जनसंख्या बढ्दै गएपछि विस्तारै अन्यत्र सामुदायिक विद्यालयहरुको स्थापना हुँदै गए ।
त्यसरी पछिल्लो कार्यकालमा स्थापना भएका विद्यालयहरुको स्थापनामा उहाँसँगको सरसल्लाह प्रायः अनिवार्य जस्तै भएको थियो । उहाँले शारदा बालिका नमूना उच्च माविको सञ्चालक समितको सदस्य र वि.सं. २०४९ सालमा अध्यक्षको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । स्व. राजेन्द्रप्रसाद आचार्यले शैक्षिक क्षेत्रमा अतुलनीय योगदान त पु¥याउनु भयो साथसाथै सामाजिक क्षेत्रमा समेत उहाँको उत्तिकै सक्रियता रहेको थियो । वि.सं २००५ सालमा हाल धरान उपमहानगरपालिका भवन रहेको स्थानमा पिताजी स्व. कुलप्रसाद आचार्यद्वारा स्थापित अक्षय राइस, आयल फलावर एण्ड स–मिल रहेको थियो । उहाँ त्यस मिलको बोर्ड अफ डाइरेक्टर रहनु भएको थियो । त्यतिमात्र नभएर बाल्य अवस्थामा कलाकारिता क्षेत्रमा धनकुटा सिभुवा पानधुरे घरमा पहिलो पटक कवि
शिरोमणि लेखनाथ पौड्यालद्वारा रचित ‘लक्ष्मी पूजा’ नाटकमा महिला पात्र सखीको भूमिका उहाँले निर्वाह गर्नुभएको थियो । उहाँ वि.सं. २०४२ सालमा गुठी संस्थानको बोर्ड अफ डाइरेक्टरमा सदस्य, सहरी योजना (टाउन प्लानिङ) मा धरान नगर समितिमा सदस्य, सरकारबाट गरिने धरानका दुइवटा चलचित्र हलमा प्रदर्शन हुने चलचित्रको सेन्सर बोर्डको सदस्य, वि.सं. २०४८ सालमा नेपाल परिवार नियोजन संघ धरानको उपसभापतिको जिम्मेवारी समेत उहाँले निर्वाह गर्नुभयो । मरणोपूर्व उहाँ धरान १२ स्थित गीता मन्दिरस्थित अरुणा धर्मशालाको सभापति रहनु भएको थियो । स्व. राजेन्द्रप्रसाद आचार्य पब्लिक हाइस्कुलको स्वर्ण महोत्सव २०५५ बाट सम्मानित हुनु भएको थियो । यसैगरि शारदा बालिका नमूना उच्च माविबाट २०५७, पब्लिक हाइस्कुलबाट २०७१, नरपतेश्वर शिवालय मन्दिर धनकुटाबाट २०७२, पब्लिक हाइस्कुल एलमुनाइ एसोसिएसन २०३१ द्वारा निर्माण गरिएको घण्टाघरको २०७३ मा उद्घाटन, धरान जेष्ठ नागरिक मिलन केन्द्रबाट २०७३ सालमा सम्मानित, कौडिण्य गोत्री आचार्य महिला समाजद्वारा २०७५ सालमा सम्मानित, २० औ छिमेकी साँझ २०७५ छिमेकी युवा समूह धरान १२ द्वारा वि.सं. २०७५ मा सम्मानित, धरान उपमहानगरपालका वडा नं. १२ द्वारा वि.सं. २०७५ सालमा जेष्ठ
नागरिक सम्मान, जेष्ठ नागरिक सरोकार समूह जिल्ला कार्य समिति सुनसरीद्वारा २०७६ मा सम्मान, चन्द्र प्रसाद श्रेष्ठ शिक्षा पुरकारबाट २०७८ द्वारा पुरस्कृत गरिएको थियो । उहाँका एक छोरी रमोला खरेल र ३ छोरा सुरेशप्रसाद आचार्य, नरेशप्रसाद आचार्य र दिनेशप्रसाद आचार्य रहनु भएको छ ।
