धरान । नेपालको सबैभन्दा नजिकको छिमेकी तथा मित्रराष्ट्र भारतको ७८ औं स्वतन्त्रता दिवस आज धरानस्थित भारतीय राजदुतावास पेन्सन वितरण कार्यालयमा भव्यताका साथ सम्पन्न भएको छ ।
पेन्सन वितरण कार्यालयका प्रभारी अधिकारी मेजर भरत कनौजियाले कार्यालय परिषरमा झण्डोत्तोलन पश्चात वीर शहीदहरुको स्मारकमा पुष्पहार अर्पण गरेसँगै सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै प्रजिअ तिवारीले भन्नुभयो भारत १ सय ५० करोड जनसंख्या भएको संसारकै सबैभन्दा ठूलो लोकतन्त्र हुनुको नाताले हाम्रो अनन्य मित्रराष्ट्र भारतले आज सामाजिक, आर्थिक जीवनका सबै आयामहरुमा प्रगति गरिरहेको छ । असल र नजिकको मित्र हुनुको नाताले वास्तवमा सबै नेपालीहरु भारतको त्यो प्रगतिमा गौरव गर्छौं । भारतको प्रगतिले भोलिका दिनमा नेपालको समुदाय, नेपालको आर्थिक विकासमा योगदान पु¥याउँछ भन्ने हाम्रो विश्वास पनि छ । उहाँले भन्नुयो नेपाल र भारतको सम्बन्धको कुरा गर्दा नेपाल र भारतको सम्बन्ध सदियौ पुरानो छ । यो सम्बन्ध सभ्यता जतिकै पुरानो छ । यो सम्बन्ध आफैमा सनातनी छ र हामी बीचमा भाषिक हिसाबले, धार्मिक हिसाबले, भुगोलले मात्र हैन अन्य धेरै कुरामा एक अर्कामा जोडिएका छौं । हामी कहिलेकााहँी भन्छौं हाम्रो सम्बन्ध रोटीबेटीको छ । नङ र मासुको छ । कहिलेकाहीँ नजिकको छिमेकी हुँदा सामान्य मनमुटाव भएपनि दुई देशबीचको सम्बन्ध अहिलेसम्म मित्रता र सार्वभौम समानताका आधारमा रही आएको छ । भोलिका दिनमा यो सम्बन्ध जुन छ अझ प्रगाढ हुनेछ भन्ने मलाई विश्वास छ ।
प्रजिअ तिवारीले भन्नुभयो भारत सरकारले धेरै बहादुर नेपालीहरु जो भारतका विभिन्न संरचनामा रहेर भारत सरकार, भारतीय भूमि र भारत सरकारले खटाएको ठाउँमा कतिले आफ्नो जीवन उत्षर्ग गरे, कतिले आफ्नो बहादुरी प्रदर्शन गरे । त्यस्ता बहादुर योद्धा, उनीहरुका परिवारहरुले पाउनुपर्ने सेवा सुविधाहरु समयमै उपलब्ध गराउने, परिवारहरुलाई विभिन्न खालका स्वास्थ्य लगायतका सेवाहरु उपलब्ध गराउने उद्देश्यले पेन्सन पेइङ्ग कार्यालयले यहाँ जुन काम गरिरहेको छ त्यो अत्यन्तै राम्रो छ । भोलिका दिनमा पनि यहाँहरुले जे–जति सेवा सुविधा दिनु भएको छ त्यसलाई अझ सरलीकृत गरेर जाने विश्वास मलाई छ । यसैगरि पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर भरत कनौजियाले कार्यक्रममा सहभागी सबैलाई स्वागत गर्दै भन्नुभयो आजको दिन सम्पूर्ण भारतीय नागरिकका लागि गौरवमय र पावन दिन हो । आज भारतमा १५ अगस्तलाई हर्षोल्लासका साथ मनाइने गरिन्छ । उहाँले भन्नुभयो स्वतन्त्रता दिवसले हामीलाई सम्झाउँछ हामी केवल व्यक्ति नभई गौरवगाथा बोकेको सामुदायका अंश हौ । हामी सबै भन्दा ठुलो लोकतन्त्रका नागरिक हौँ । कुनै पनि देशको स्वतन्त्रता र अखण्डता कायम राख्नका लागि देशका सेना र अर्ध सेनाको ठूलो योगदान हुन्छ । उहाँले सम्पूर्ण ज्ञात अज्ञात स्वतन्त्रता सेनानी र निःस्वास्र्थ सेवा, बलिदानका लागि आभार एवम् धन्यवाद दिनु भएको थियो ।


भारतको स्वतन्त्रताका लागि नेपालीहरुको धेरै ठूलो योगदान रहेको छ । म उहाँहरुको त्याग र बलिदानलाई नमन गर्दछु । नेपालमा बसोबास गर्नुहुने भारतीय भूतपूर्व सैनिक तथा आश्रित परिवारलाई सेवा दिने अभिप्रायले नेपालमा पेन्सन वितरण कार्यालयको स्वाथापना गरी सर्वाङ्गिर्ण हितका लागि कल्याणकारी कार्य र उहाँहरुको जीवनमा भैपरि आउने समस्याको निवारण गरिने गरेको छ । हामीले पूर्वाञ्चलमा १५ हजार भन्दा बढी भूपू सैनिक तथा तिनका आश्रितहरुलाई सेवा प्रदान गरिरहेका छौ । उहाँले भन्नुभयो हाम्रो प्रमुख कार्य पेन्सन वितरण नै हो । उहाँले भन्नुभयो पेन्सन कार्यालयले कोशी प्रदेशमा रहेका सबै जिल्लाका भारतीय भूपू र मधेश प्रदेशका ४ जिल्ला र बागमति प्रदेश अन्तर्गतका दुई जिल्ला सिन्धुली र रामेछापमा रहेका पेन्सनरहरुलाई सेवा प्रदान गर्दै आएको छ । उहाँले भन्नुभयो दुर्गम पहाडी क्षेत्रहरुमा क्याम्प सञ्चालन भएका छन् । इलाम, भोजपुर, तेह्रथुम, फिदिम, ताप्लेजुङ, ओखलढुंगा, धनकुटासँगसँगै भूपूहरुको बाहुल्यता रहेका स्थानहरुलाई मध्यनजर गरी अगस्ट २०२३ मा सोलुखुम्बु र संखुवासभामा पनि क्याम्प सञलनमा आएको छ । यसका साथै तराइको उदयपुरको बेलटार र कटारी, सुनसरीको झुम्का, मोरङ र झापामा पनि क्याम्प सञ्चालन भइरहेको छ । यसका अलावा इचिएचएस (मेडिकल सुविधा) स्किमलाई आर्मी तथा आसाम राइफल्सका पेन्सनरहरुलाई स्वास्थ्य उपचार प्रदान गदै आएको छ । अब भोजपुर जिल्लाका पेन्सनरहरुलाई स्वास्थ्य सेवा दिने उद्देश्यले एचिएचएस पोलिक्लिनक स्थापना भएको पनि उहाँले जानकारी दिनुभयो । साथै पेन्सन क्याम्पस लगाइएको समयमा प्रत्येक क्याम्पमा मोवाइल मेडिकल युनिट लैजाने तयारी भइरहेको छ । पेन्सन वितरण कार्यालयको हाताभित्र भारतीय भूपू तथा तिनका आश्रितहरुको आवातजावत हुने भएकोले उहाँहरुको सुविधालाई धयानमा राखेर खाने र बस्ने राम्रो व्यवस्था गरिएको छ । पेन्सन सेट र डर्मेटरीमा निःशुल्क वाइफाइको प्रबन्ध समेत गरिएको छ । उहाँले भन्नुभयो पिपिओ हाताभित्र भूपू र उहाँहरुको आश्रितहरुलाई ध्यानम राखनेर एनएसविआइ र इभिएलको काउन्टरको व्यवस्था गरिएको समेत उहाँले जानकारी दिनुुभयो । उहाँले भन्नुभयो आधुनिकीकरणलाई ध्यानमा राखेर बीर नारी तथा युवा युवतीहरुको भविष्यलाई मध्यनजर गरी स्वरोजगारीका लागि कम्प्युटर तालिम, सिलाई बुनाई र व्युटी पार्लरको व्यवस्था गरेपछि धेरैले लाभ लिनु भएको छ । भूपू तथा उहाँहरुको आश्रितहरुको सहजीकरणका लागि भेइकल पार्किङ्ग सेडको पनि निर्माण भएको छ । नेपालमा सञ्चालित धेरै योजनाहरुमा भारत सरकारको योगदान रहँदै आएको छ र त्यस्ता आयोजनाहरुको निरन्तता रहने समेत उहाँले बताउनुभयो । पेन्सत वितरण कार्यालयले सामाजिक उत्तरदायित्वलाई वहन गर्दै प्रत्येक बर्ष रक्तदान कार्यक्रम समेत गर्र्दै आएको छ । गत बर्ष अर्थात २०२३ मा २८३ पिन्ट रगत संकलन गरेको थियो । यसैगरि शिक्षा नै धन को भन्ने नारालाई आत्मसात गर्दै यस बर्षदेखि लागू हुने गरी कल्याणकारी शाखा काठमाण्डौमा इङ्गलिस स्पिकिङ्ग क्लास र कम्प्युटर क्लास २०२४ अगस्ट १ देखि शुरु गरिएको समेत उहाँले जानकारी दिनुभयो । साथै भारतीय राजदुतावासले भूपूहरुको हकहितका साथै सामाजिक उत्तरदायित्वका निम्ति गरिआएका कार्यहरु धेरै नै रहेको समेत उहाँले प्रष्ट पार्नुभयो । कार्यक्रममा प्रमुख अतिथि रामचन्द्र तिवारीले बीर नारीहरु थ्रि÷फोर जिआरका गम्भीरबहादुर गुरुङकी धर्मपत्नी श्रीमति तिलक कुमारी गुरुङसेनी, सेभेन÷इलेभेन जिआरका धर्मपत्नी रमिला राई, थ्रि÷फोर जिआरका पूर्णबहादुर गुरुङकी धर्म पत्नी पदमकुमारी गुरुङलाई उपहार प्रदान गर्नुभएको थियो । यसैगरि प्रदेश प्रहरी कार्यालय विरानगरका एसएसपी भिम दाहालले दिलबहादुर मगरकी धर्मपत्नी धनुदेवी मगर, कालीबहादुर लिम्बुकी धर्मपत्नी जसमाया लिम्बुलाई ह्विल चियर, सशस्त्र प्रहरीका एसएसपी मनिष थापाले सनबहादुर लिम्बु, श्रीबहादुर राई, भीमबहादुर राईलाई वाकिङ्ग एड, दिल्ली पब्लिक स्कुलका नृत्य कलाकारलाई राष्ट्रिय अनुसन्धान कोशी प्रदेशका एसपी तुलसी कट्टेलले पुरस्कार वितरण गर्नुभएको थियो । साउन २२ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको भूपू व्याडमिन्टन प्रतियो्गिताका विजेता तथा उपविजेता, फुटबल प्यालेन्टी सुट आउटका विजयी खेलाडी लगायतलाई पनि उक्त अवसरमा पुरस्कृत गरिएको थियो भने कार्यक्रमको सञ्चालन एडम कृष्णबहादुर थापाले गर्नुभएको थियो ।








