धरान , धरान–१७ रेल्वेबाट दुई युवालाई लागू औषधसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३२ वर्षीय जीवन राई र २५ वर्षीय मनिष लिम्बु रहेका छन् । उनीहरूलाई आइतबार अस्थायी प्रहरी चौकी रेल्वेको प्रहरीले ट्रामाडोल ८२० ट्याब्लेट सहित पक्राउ गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार यसैगरी मेचीनगर नगरपालिका–६ बाट भारतदेखि नेपाल आउँदै गरेका १९ वर्षीय निर्दोष डाँगीलाई ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको टोलीले डाँगीबाट ३ ग्राम ५२० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको छ । यस्तै विराटनगर–१६ बाट २० वर्षीय जिवछ खत्वे र उर्लाबारी–४ का ३३ वर्षीय सबिन बुढाथोकीलाई लागुऔषध नियन्त्रण ब्युरोको प्रहरीले लागुऔषध सहित पक्राउ गरेको छ । प्रहरीले उनीहरूबाट लागुऔषध नाईट्रोजेपाम ३० चक्की बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।
