धरान । धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा चतराको कौशिकी नदीबाट जल ल्याएर चढाउने भक्तजनहरुको पहिलो सोमबर नै थामिनसक्नु भीड रहेको छ । भक्तजनहरुमा आर्थिक आस्था प्रगाढ बन्दै गएको पिण्डेश्वर मन्दिरमा जल चढाउन आउनेहरुको भीडले प्रष्ट पारेको थियो ।
सप्तरीका रामकुमार यादव आइतबार सार्वजनिक सवारी साधनमै धरान आउनु भएको् थियो । सार्वजनिक सवारी साधनमा परिवारसँग आउनु भएका उहाँ सवारी साधनमै चतरा पुग्नुभयो । विहान चतराबाट खाली खुट्टा हिडेर पिण्डेश्वर मन्दिरमा जल चढाउन आउनु भएका उहाँले बर्षौदेखिको भाकल पूरा गर्न पिण्डेश्वर मन्दिरमा जल चढाउन आएको बताउनुभयो । अहिले धेरैजसो चतराबाट सवारी साधनमै आएर चल चढाउने भए पनि कमैमात्रमा हिडेरै चतराबाट जल बोकेर पिण्डेश्वर मन्दिरमा आएर चढाउने गर्छन् । सप्तकोशीबाट ल्याएको जल पिण्डेश्वर मन्दिरमा चढाउदा परिवारमा शान्ति मिल्ने आस्थ बोकेर चारघण्टाको बाटो पैदलै हिडेर चल चढाउन आएको उहाँको भनाई थियो ।
नेपालका नजिकका जिल्लामात्र हैन दुरदराज पश्चिमका सर्वसाधारणहरु समेत आइतबार नै चतरा पुगेर सोमबार विहानै धरानको पिण्डेश्वर मन्दिरमा जल चढाउन आएका थिए । यस भन्दा अगाडिका बर्षहरुमा पिण्डेश्वर बाबाधाम समिति तथा मन्दिर व्यवस्थापन समितिले विहान ३ बजेदेखि नै जल चढाउनेका लागि मन्दिरको प्रवेशद्वार खुल्ला गरिदिने भएपनि अर्चना बाबाको आगमनका कारण विहान ८ बजेसम्म प्रवेशद्वार नखोलिदिँदा भने सर्वसाधारण रुष्ट बनेका थिए । स–साना बालबालिकादेखि बृद्धबृद्धासम्म लाइनमा बस्नुपर्दा भक्तजनहरुलाई समस्या भएको उनीहरुको भनाई थियो ।

बर्षेनी भक्तजनहरुको चाप बोलबममा बढ्दै गएको पिण्डेश्वर बाबाधाम समितिका कोषाध्यक्ष पञ्कज घिमिरेले बताउनुभयो । उहाँले नित्यपूजाका लागि समय लागेका कारण भक्तजनलाई पहिलो दिन केही समस्या भएको भए पनि भक्तजनका सुविधाका लागि विभिन्न संघ संस्थाबाट निःशुल्क स्वास्थ्य शिविर, शान्ति सुरक्षाको प्रत्याभूतिका लागि प्रहरी प्रशासनकाबाट प्रहरी खटाइएको बताउनुभयो । धरानको पिण्डेश्वरमा २०३९ सालदेखि कोशीको पानी ल्याएर जल चढाउने परम्परा धरानकै समाजसेवीहरुले गरेका थिए । पौराणिक कथा अनुसार देवता र दानव मिली समुद्र मन्थन गर्दा निस्किएको अमृतले भरिएको घडालाई दानवहरूबाट जोगाई यस स्थानमा ल्याई पु¥याएर शिवलिङ्गको रूपमा स्थापना गरेको भन्ने पुराण एवं धर्मशास्त्रमा व्याख्या गरिएको छ । यस मन्दिरमा अमृतपिण्ड पिण्डेश्वरका रूपमा भगवान शंकरको पूजा अर्चना गरिन्छ । यस मन्दिरमा श्रावण महिना भरी चतराको कोशी नदीवाट स्नान गरी जल ल्याई चढाउनको लागि देश विदेशका लाखौं भक्तजनहरूको भिड लाग्ने गरेको छ । भक्तजनहरुको विश्वास प्रगाढ बन्दैगएकोले बर्षेनी जल चढाउनेको संख्यामा बृद्धि हुदै गएको पिण्डेश्वर बाबाधाम समितिको दाबी छ ।
