नेपालमा हरेक बर्ष असार १५ गतेलाई धान दिवसको रुपमा मनाइन्छ । विगतका बर्षहरुमा झै यस बर्ष पनि सत्तासीन राजनैतिक दलका नेता, सत्ता बाहिर रहेका दलका नेता, कृषि मन्त्रालयका कर्मचनरी, सचिवहरुले परम्परागत नौटंकीलाई निरन्तता दिएका छन् । असार १५ गते एक दिन त्यसमा पनि केही क्षणका लागि लोकलाज रिझ्याइँका लागि कृषकका खेतमा घुँडासम्म आउने जुत्ता लगाएर धानको विउ हातमा लिएर आफ्ना झोले झाम्टा, नन्दी भृंगीहरुलाई फोटो शेसन गर्न लगई सामाजिक सञ्जालमा पोष्ट्याएर धान दिवसको सार्थकता उनीहरुले महसुस गरेको यसपटक पनि देखियो । संसारमा हरेक राज्यले कृषिमा सबैभन्दा बढी खर्चेको हुन्छ । राज्यका सम्बन्धित निकाय धान दिवसको दिनमात्र नभएर हरेक समय कृषकका समस्या पहिचानमा खटिएका हुन्छन् । उत्तर कोरियाका नेता किम इल सुङ्ग आफै कृषकका खेत खेतमा पुगेर निरीक्षण गर्छन्, कृषककका लागि चाहिने आवश्यक कुराको बन्दोबस्त गर्छन् । तर उनलाई तानाशाहको पगरी संसारले गुथाइदिएको छ । उत्तर कोरिया बाहिरी संसारबाट अलग भएपनि ऊ खाद्यान्नमा आत्मनिर्भर छ । नेपालका नेताहरुले उत्तर कोरियाबाट पाठ सिक्नुपर्ने हो ।
नेपाललाई भन्न त कृषि प्रधान देश भनिन्छ तर बर्षेनी भारतबाट मात्र ५० अर्बको चामल आयात गर्छ । ३० अर्ब बराबरका अन्य खाद्यान्न समेत आयात गर्दै आएको छ । २०४६ साल अगाडिसम्म नेपाल खाद्यान्नमा आत्मनिर्भर रहेको थियो । सत्ता सञ्चालन गर्ने ने्तृत्वको अदुरदर्शी सोचका कारण मुलुक खाद्यान्नमा परनिर्भर बन्दै गयो । अन्न उत्पादन हुने जमिन तिब्र गतिमा प्लटिङ्ग भए, राज्यले कृषकका लागि समयमा मल, विउ समेत उपलब्ध गराउन सकेन, कृषियन्त्रका लागि छुट्याइएको बजेट मन्त्री, सचिव र दलका कायर्ककर्ताहरुले भागबण्डा गरे, कृषि अनुदानका लागि छुट्याइएको बजेट माफिया, उद्योगपति, दलाल, मन्त्री, सचिवले बर्षेनी भागबण्डा गरी खाँदै आएका छन् । वास्तविक किसानसँग कृषि अनुदानको रकम कहिल्यै पुगेन र पुगेको छैन ।
अनि धान दिवसका दिन सिंहदरबारमा बसेका दलालहरु केही क्षणका लागि किसानको खेतमा पुग्छन् । स्कुल, कलेजका प्रांगरणमा आलिसान मञ्च बनाउँछन् । खेतमा रोप्ने धानका विउ माला बनाएर घाँटीमा झुण्ड्याउँछन् । प्रसंग र सन्दर्भ विपरितका भाषण ठोक्छन् । यस्ता यावत गतिविधिले अन्न उत्पादन कसरी हुन्छ ? महिनौ लगाएर किसानले घाम, पानी, झरीको प्रवाह नगरी आधा पेट खाएर रोपाइका लागि जमिन तयार पार्छन् तर सत्ताका दलहरु गएर गिजोल्ने काम मात्र गर्छन् । आफूले जानिएन भने अरुले गरेको देखेर सिक्नुपर्छ । छिमेकी मुलुक भारतकै उदाहरण लिँदा पर्याप्त हुन्छ । कृषका लागि मल, विउ, विद्युत, यान्त्रिक उपकरण, डिजल लगायतका आवश्यक सम्पूर्ण कुराहरु कृषकलाई सरकारले उपलब्धगराउँछ । अन्त्यमा कृषकले उत्पादन गरेका सम्पूर्ण फसलहरु सरकारले नै खरिद गरिदिन्छ । जसका कारण आज भारत आफ्ना लागि पर्याप्त खाद्यान्नको जोहो गरेर संसारका अन्य २० भन्दा बढी देशमा खाद्यान्न निर्यात गर्छ । अवस्था यस्तोसम्म देखिएको छ नेपालमा उत्पादन भएको खाद्यान्नले दुई महिना पनि धान्न सक्ने अवस्था छैन । भारतले खाद्यान्न आयातमा कडाई मात्र गर्ने हो भने यहाँ भोकभरि चल्छ । त्यसैले सोच बदल्न जसरी छ, नाटक मञ्चन गरेर उत्पादन बढ्ने होइन ।
