काठमाण्डौ । मुस्ताङ्ग जिल्लाको लोमान्थाङका गाउँपालिकास्थित लोबो निफुग नाम्ड्रोल नोर्बुलिङ्ग गुम्बा विद्यालयको छात्रावास भवनको असार १४गते एक भव्य समारोहबीच शिलान्यास गरिएको छ । आन्तरिक तथा वाह्य पर्यटकहरुका लागि आकर्षणको केन्द्र रहेको मुस्ताङ्ग जिल्लाको लोमान्थाङमा निर्माण गरिने उक्त छात्रावास भवनको असार १४ गते नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तव र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङ्गले संयुक्त रुपमा शिलान्यास गर्नुभएको थियो । नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको ४ करोड १४ लाखको आर्थिक सहयोगमा उक्त छात्रावास भवन निर्माण हुने भएको छ । नेपाल–भारत विकास सहकार्य अन्तर्गतको भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुने छात्रावास भवन आवश्यक सम्पूर्ण सुविधा सहित दुई तलाको हुनेछ । भारत सरकार र नेपाल सरकारबीच भएको द्विपक्षीय सम्झौता अन्तर्गत उक्त परियोजनालाई पनि उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइने दुतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । परियोजनाको कार्यान्वयन लोमान्ंथाङ गाउँपालिकाले गर्ने भएको छ ।

नेपालमा सम्पन्न भएका, सम्पन्न हुने चरणमा रहेका र शिलान्यास भएका अन्य उच्च प्रभाव सामुदायिक परियोजना झै यस परियोजनाले पनि नेपाल–भारत बीचको बलियो विकास साझेदारीको एउटा महत्वपूर्ण उदाहरण भएको दुतावासद्वारा जारी विज्ञप्तीमा भनिएको छ । सो अवसरमा लोमान्थाङका गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङ्ग, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, स्थानीय राजनैतिक दलका प्रतिनिधिले भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुने छात्रावास भवन अति नै उपयोगी हुने धारणा राख्नु भएको थियो । छात्रावास भवनको निर्माण पश्चात विद्यार्थीहरुको सिकाईमा सहजता आउने, विकास र धार्मिक समुन्नतिमा योगदान पुग्ने, यस क्षेत्रको सँस्कृति र परम्पराको संरक्षण हुने विश्वास उहाँहरुले व्यक्त गर्नुभएको थियो । यहाँ स्मरणीय कुरा के छ भने भारत सरकारले सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अगाडि बढाएकोमा ४९० वटा सम्पन्न भइसकेका छन् । यीमध्ये मुस्ताङ जिल्लामा १० वटा परियोजना रहेका छन् भने गण्डकी प्रदेशमा ५९ वटा परियोजना रहेका छन् । यसका साथै भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थाहरुलाई १००९ वटा एम्बुलेन्स र ३ सय वटा स्कुल बसहरु उपहार स्वरुप प्रदान गरिसकेको छ । यसरी उपहार स्वरुप प्रदान गरिएका एम्बुलेन्स मध्ये मुस्ताङ्ग जिल्लामा ११ र ५ वटा स्कुल बस सहित गण्डकी प्रदेशमा ११९ वटा एम्बुलेन्स र ४० वटा स्कुल बसहरु उपहार स्वरुप प्रदान गरिसकेको दुतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । नेपालको अत्यन्तै निकटको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अगाडि सार्नुभएको छिमेकी पहिलो नीतिका कारण भारत र नेपालबीच व्यापक र वहुक्षेत्रीय सहकार्य रहँदै आएको छ । विज्ञप्तीमा भनिएको छ, उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि प्राथमिकताका क्षेत्रमा पूर्वाधार विस्तारमा नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको छ ।
