धरान । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई उच्च अदालत विराटनगरले अर्काको जग्गामा जबरजस्ती वृक्षारोपण नगर्न, जग्गा धनीलाई बारम्बार नधम्क्याउन, धरपकड नगर्न अन्तरिम आदेश दिएको छ । उच्च अदालत विराटनगरका न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले त्यस्तो आदेश दिएको हो ।

मेयर साम्पाङले गत हप्ता धरान ४ को छोटी मोरङस्थित रेजिना अधिकारीको जग्गामा साउन ६ गते जलाधार क्षेत्रको जग्गा भन्दै जबरजस्ती वृक्षारोपण गरेका थिए । सर्वोच्च अदालतमा यस सम्बन्धी मुद्दा चल्दै गरेको र अदालतको पूर्ण इजलासले निर्णय नगरेको अवस्थामा राईले जबरजस्ती वृक्षारोपण गरेका थिए । उनले पटक पटक अधिकारी परिवारको नाममा रहेको जग्गा र सो स्थानमा भएको घर भत्काइदिने चेतावनी दिएपछि जग्गाधनी अधिकारी उच्च अदालत विराटनगर पुगेका थिए ।
