धरान । समयको अनुसार व्यवसायिक बन्न सके आत्मनर्भर बन्न सहजै रुपमा सकिन्छ । यसैलाई मध्यनजर गरी प्रदेश सांसद योसोदा कायस्थले सांसद कोषबाट आएको रकमबाट महिलालक्षित बरमाला, नरिबल, सुपारी सजाउने तालिम दिइएको छ । सिद्धि नेवा ः परिषद् धरान ७ को भवनमा आयोजित तालिममा विवाह लगायतका सामाजिक कार्यमा प्रयोग हुने बरमाला, नरिवल, सुपारी सजाउने तालिमबाट पनि महिलालाई व्यवसायिक बनाउन सहज हुने देखेर तालिम दिएको हो ।

सात दिने सो तालिममा आएका महिलाहरु तालिम सिकेर व्यवसायिक बन्ने उद्देश्यका साथ आएका थिए । सिद्धिः नेवा परिषद्को आयोजना तथा धरान उपमहानगरपालिकाको सहयोग र सहकार्यमा भएको तालिममा १९ जना महिलाहरु सहभागी रहेका छन् । प्रदेश सरकारको सांसद कोषबाट आएको रकम धरान उपमहानगरपालिकामा उपलब्ध गराएर तालिमको आयोजना गरिएको सिद्धि नेवा ः परिषद्का कोषाध्यक्ष मुकुल कायस्थले बताउनुभयो । महिला लक्षित तालिम भएकोले आठ वटा संस्थाका महिलाहरु यस तालिममा सहभागी रहेको उहाँले बताउनुभयो । तालिममा सहभागी महिलाहरु प्राय ः व्यवसायी महिलाहरु नै छन् । धरान १५ मा हातेमालो समूह महिला सञ्चालन गरेर धेरै महिलाहरुलाई व्यवसायिक बनाउदै आएको संस्थाकी प्रतिनिधि रिया बस्नेतले सिकेको कुरालाई हातेमाले
समूहको टिम बनाएर महिलाहरुलाई व्यवसायिक बनाउने बताउनुभयो । तामिलको सहजीकरण गर्दै आएकी जुनी ताम्राकारले विवाह लगायत सामाजिक कार्यमा बरमाला, नरिबल तथा सुपारी सजाउने प्रथा बढ्दै गएकोले महिलालाई यसमा लक्षित गरेर तालिम प्रदान गरिएको बताउनुभयो । सहभागी विभिन्न संस्थाका महिलाहरुले तालिम प्रभावकारी हुने र व्यवसायी बन्न मद्दत पुग्ने बताएका थिए ।
