धरान । नेपालका व्यवसायिक घरानाबाट सञ्चालित नीजि क्षेत्रका बैंकहरुको सिण्डिकेट र सरकारको गलत नीतिका कारण अर्थतन्त्र धराशायी बन्दै गएकोप्रति उद्योगी व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् । वर्तमान सरकारको गठनसँगै पेट्रोलियम पदार्थको खपतमा मात्र २६ प्रतिशतले गिरावट आएको छ । यतिबेला पेट्रोलियम पदार्थको व्यापार २६ प्रतिशतले घट्नुले अर्थतन्त्र धरासायीतर्फ उन्मुख भएको उनीहरुको ठहर छ । यसो हुनुको प्रमुख कारणमा बैंकको व्याजदर पनि हो । पेट्रोलियम व्यवसायी एवम् समाजसेवी रमेश अटल भन्नुहुन्छ, बंैकले निक्षेपकर्तालाई जुन व्याजदर दिइरहेको छ, त्यो व्याजदर नै घटाउनुपर्छ । बैंकहरुले ऋणीहरु अर्थात ग्राहकहरुबाट लिइरहेको व्याजदर घटाउनुको कुनै औचित्य रहँदैन । व्यवसायी अटलले भन्नुभयो केही उद्योगी व्यवसायीहरु बैंकले ऋणीहरुसँग १५–१६ प्रतिशतसम्म लिइरहेको व्याजदर घटाउनुपर्छ भनेर आन्दोलन गरिरहेका छन् । सरकारलाई ज्ञापनपत्र बुझाइरहेका छन्, धर्ना दिइरहेका छन् । त्यसको कुनै तुक छैन । बैंकले पब्लिकलाई जुन १२–१३ प्रतिशत ब्याज दिइरहेको छ त्यही पैसा १५–१६ प्रतिशतमा लगानी गरेर दुई चार प्रतिशत नाफा कमाइरहेको छ । बैंकले १२–१३ प्रतिशत व्याज दिन्छु भनेर हानाथाप गरेर जुन पैसा डिपोजिट
गराउँछन् त्यसको सट्टामा ब्याजदर घटाउनुपर्छ । हाम्रो छिमेकी मुलुक भारतमा बैंकले निक्षेपकर्तालाई ५–६ प्रतिशत ब्याज दिन्छ । यहाँचाहिँ १२–१३ प्रतिशत किन दिनु प¥यो ? उहाँको प्रश्न थियो ।
बैंकको ब्याजदर र तेलको खपत घट्नुको सम्बन्ध

बैंकको उच्च ब्याजदर र पेट्रोलियम खपत घट्नुमा धेरै ठूलो सम्बन्ध रहेको छ । किनभने यतिबेला आर्थिक चलायमान छैन अटल भन्नुहुन्छ । उहाँ भन्नुहुन्छ विगत सात बर्षदेखि धरानमा कुनैपनि कम्पनीले नयाँ गाडी खरिद गरेका छैनन् । उनीहरुले नयाँ गाडी खरिद नगर्नुको कारण बैंक ब्याज दर नै हो । नयाँ गाडी खरिद गर्दा उसले नाफा आर्जन गर्न सक्दैन । बरु उसले आफूसँग भएको रकम बैंकमा निक्षेप गर्दा १२–१३ प्रतिशत ब्याज पाउँछ । त्यसो भएपछि उसले किन व्यापार गर्ने ? किन टेन्सन लिने ? जसका कारण धरानमा सार्वजनिक यातायात साधन घटेका छन् । धरानमा मात्र नभएर अन्यत्रको अवस्था पनि यस्तै छ । गाडी घोडा घट्दा व्यापार घटेको छ । अर्थतन्त्र चलयमान नभएपछि कसैले पनि जेनेरेटर चलाएर उत्पादन गदैन । जेनेरेटर नलचलाउँदा तेल खपत हुने कुरा भएन । उता सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष, पेट्रोलियम डिलर एसोसिएसन कोशीका कोषाध्यक्ष एवम् पेट्रोलियम व्यवसायी गोपाल श्रेष्ठको कथन अटलको भन्दा फरक छैन । उहाँ भन्नुहुन्छ, २६ प्रतिशत खपत घट्नुको कारण एकातिर बैंकको ब्याजदर हो भने अर्कोतर्फ भारत र नेपाल बीचमा पेट्रोलियम पदार्थमा फरक मूल्य हुनु । पहिला तेस्रो मुलुकको सामान लिएर आएका लहरी, सीमा क्षेत्रका सवारी साधन नेपालमा आएर तेल भर्ने गर्थे । यतिबेला नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थ सस्तो छ । नेपालका सवारी साधन भारतीय सीमावर्ती क्षेत्रमा गएर फूल ट्यांकी गरेर फर्कन्छन् । भारतमा नेपाल भन्दा डिजल १२.९ पैसा प्रतिलिटर सस्तो छ । भारतमा डिजल १५३.४० पैसा छ भने नेपालमा प्रतिलिटर १६५.५० पैसा छ ।
अचानक खपतमा कमी आएको होइन
नेपालमा पेट्रोलियम पदार्थको खपत एक्कासी घटेको हैन । माओवादी नेतृत्वमा पौष ११ गते सरकार गठन भएपछि पेट्रोलियम पदार्थको खपत विस्तारै घट्न शुरु भएको अर्का व्यवसायीले बताए । मूल्य भारतको भन्दा बढी हुनु र खपत एक्कासी कम हुनु एकै पटक नभएर ग्रायजुअल्ली भएको हो । घट्दै घट्दै गएपछि हाल आएर २६ प्रतिशत खपत घट्यो भनेर अरुले पनि चाल पाए । तेलको खपत घट्नुको ‘इम्प्याक्ट’ के हुन्छ ? पेट्रोलियम पदार्थको खपत २६ प्रतिशतले घट्नुको ‘इम्प्याक्ट’ भनेकै अर्थतन्त्र चलयमान नहुनु हो, अर्का पेट्रोलियम व्यवसायीले भने । गाडी घोडा कम्ती चल्यो भने बुझ्नुपर्छ गाडीवालालाई मुनाफा भएको छैन । काठमाण्डौबाट धरान वा विराटनगर गाडी सञ्चालन गर्दा उसले कति कमाउँछ ? १८० रुपैया प्रतिलिटरको तेल जोड्दा उसलाई केही रिटर्न
हँुदैन । जसले गर्दा दिनप्रतिदिन व्यापार घाटा बढ्दै जान्छ ।
ट्रयाकमा ल्याउन के गर्नुपर्छ ?
पेट्रोलियम पदार्थको खपत बढाउन नेपाल आयल निगमले तेलको मूल्य घटाउनुको विकल्प छैन, अर्का व्यवसायीको कथन छ । पछिल्लो केही समयदेखि नेपाल आयल निगम मुनाफामा चलेको छ । घाटा पूर्ति भएको छ । यसको अलावा निक्षेपकर्ताको बैंकको ब्याजदर घट्नुपर्छ । उनले भने मानिस व्यापार केका लागि गर्छ ? पैसा कमाउँछु, परिवार पाल्छु भनेर नै हो । आफ्नो पैसा लगाएर व्यापार गर्दा रिटर्न आउँदैन तर त्यही पैसा बैंकमा निक्षेप राख्दा १२–१३ प्रतिशत ब्याज आउँछ भने उसले व्यापार किन गर्ने ? व्यापारमा नाफा मात्र हैन नोक्सान पनि हुन्छ । विभिन्न झन्झट व्यहोर्नुपर्छ । सामान कहाँबाट ल्याउने, कस्लाई बेच्ने, ग्राहक कहाँ खोज्ने, भाडा कसरी तिर्ने, विभिन्न किसिमका करहरु, भ्याटदेखि इन्कम टेक्सका बारेमा किन टेन्सन लिने ? त्यो भन्दा राम्रो आफ्नो पैसा बैंकमा
राख्यो, ब्याज आइहाल्छ, परिवार चलिहाल्छ । त्यसैले ट्रयाकमा ल्याउन बैंक ब्याज र तेलको मूल्य घट्नु आवश्यक छ ती व्यवसायीले भने ।
