नौमति बाजा संरक्षणमा जुटे धरान १५ का महिला

धरान । धरानका महिलाहरुले पञ्जे बाजा संरक्षणका लागि संस्था नै गठन गरेर संरक्षणमा जुटेका छन् । आधुनिक बाजागाँजाका कारण नेपालका लोकसंस्कृति त्यसमा पनि शुभ कार्यमा प्रयोग गरिने नौमतिबाजा विस्थापित हुदै गएपछि धरान १५ का महिलाहरुले प्रगतिशील नौमति बाजा तथा पञ्जेबाजा महिला समूह संस्था गठन गरेर नै संरक्षणमा जुटेका हुन् ।
यो समूहमा अहिले ११ जना रहेका छन् । यो संख्या बढाउदै १५ जना पु¥याउने उद्देश्य उनीहरुको छ । खासगरेर वैवाहिक कार्यक्रममा प्रयोग गरिने पुरानो बाजाको रुपमा नौमति बाजालाई लिने गरिएको छ । नौमति बाजामा टेम्को, दमाहा, सनाई, नरसिंहा र झ्याम्टा लगायत रहन्छन् । तर यो बाजा अत्याधुनिक वेण्ड बाजा वैवाहिक समारोहमा अधिक प्रयोग हुन थालेपछि विस्थापित बन्दै गएको थियो ।
पश्चिममा जाँदा महिलाहरुले पञ्चे बाजाको संरक्षण गरेको देखेपछि आफूहरुले पनि संरक्षण गर्दै यससम्बन्धी तालिम लिएको प्रगतिशील नौमती बाजा महिला समूहकी अध्यक्ष लिला ढकाल बताउनुहुन्छ । एक बर्ष अगाडि नौमति बाजा संरक्षणमा समूह नै गठन  गरेर जुटेका महिलाहरु अहिले धरान उपमहानगरपालिकामा हुने हरेक सार्वजनिक समारोहमा समूहका महिलाहरुले नौमति बाजा बजाउने गर्छन । सार्वजनिक कार्यक्रममा बोलाउने क्रम बढ्दा भ्याइ नभ्याई भएको बताउने अध्यक्ष ढकालले नारी दिवसको अवसरमा धरान १४ र १५ मा नौमति बाजा प्रयोग गरिएको बताउनुभयो । उहाँले यो समूह सिक्ने चरणमा रहेकोले जानेका बुझेकाहरुबाट सिक्ने क्रम पनि जारी रहेको बताउनुभयो ।


महिलाहरुले नौमति बाजा संरक्षणमा जेटेको प्रति सबैले उनीहरुको प्रशंसा गरेका छन् । चितवनको कालिका नगरपालकाका प्रमुख प्रशासकीय अधिकृत केशव प्रसाद उपाध्यायले आफू पनि सहभागी भएर नौमतिबाजाको मनोरञ्जन लिन पाउँदा अत्यन्तै खुशी लागेको बताउनुभयो । पञ्जेबाजा संरक्षणले नेपालको संस्कार, संस्कृतिको प्रवद्र्धन हुने बताउदै प्रगतिशील नौमति बाजा महिला समूहको प्रयास सह्रानीय रहेको बताउनुभयो । महिलाहरुले चुला चौका छोडेर बाहिर निस्केर नौमतिबाजा सरक्षणमा जुटेको प्रति धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई प्रशंसा गर्नुभयो । उहाँले महिलाहरुले गरेको कार्यले नेपालको लोक संस्कृतिको जागेर्नामा ठूलो बल पुग्ने बताउनुभयो । प्रगतिशील नौमती बाजा महिला समूह धरान १५ को प्रयासलाई सबैले प्रशंसा गरेका छन् । दलित समुदायले मात्र बजाउने बाजाको रुपमा लिँदै आएको यो बाजा नेपाली बाजा हो, यो बाजा बजाउन पुरुषमात्र चाहिन्छ भन्ने मान्यतालाई चिर्दै यी महिलाहरु जुटेका छन् । यसले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।

तपाईको प्रतिक्रिया