७३ औं प्रजातन्त्र दिवस : दलभित्रै उत्साहमा कमी

राणाहरुको एकछत्र शासनबाट नागरिकले प्रजातन्त्र पाएको दिन फागुन ७ गते । प्रजातन्त्रका लागि नेपाली काँग्रेसको नेतृत्वमा २००७ साल कार्तिकदेखि मुलुकभरि आन्दोलन भएपछि भारतमा दिल्ली सम्झौता भएको थियो । आन्दोलनको मोर्चा सम्हालेका नेपाली काँग्रेस, राजा र राणाबीचमा भएको सम्झौतापश्चात नेपालमा प्रजातन्त्र बहाल भएको थियो । प्रजातन्त्रको बहाली पश्चात २००७ सालदेखि ०१५ सालसम्म मुलुकमा राजनैतिक उचारचढाप भइरहे । मातृका प्रसाद कोइराला, सुवर्ण शमशेर, डिल्लीरमण रेग्मी, केआइसिंह, टंकबहादुर आचार्य लगायतले त्यसबेला सरकारको नेतृत्व सम्हाल्ने अवसर पाए । २००७ सालदेखि २०१७ साल सम्मको राजनैतिक अस्थिरताको मुख्य जड निर्वाचन हुन नसक्नु र निर्वाचित जन प्रतिनिधिले सकारको नेतृत्व गर्न नपाउनु । त्यसबेला एकथरिले पहिला संविधानसभाको निर्वाचनालाई आफनो पहिलो एजेण्डा बनाएका थिए भने अर्को थरिले आम निर्वाचनको मुद्दालाई जोडतोडका साथ अगाडि सारेका थिए ।


अन्तत ः मुलकुलाई सदैव नेतृत्वविहीन अवस्थामा राख्नु उचित नहुने देखेर राजा महेन्द्रले आम निर्वाचनको घोषणा गरिदिए । आम निर्वाचनको घोषणापश्चात राजनैतिक दलहरु निर्वाचनमा होमिए । त्यसबेला नेपाली काँग्रेसले दुई तिहाई बहुमत ल्याएर बीपी कोइरालाको नेतृत्वमा सरकार गठन भयो । बीपीको सक्षम नेतृत्व भएपछि अन्य अक्षमहरुले देशका हरेक निकाय र क्षेत्रमा अराजकता मच्चाउन थाले । मुलुक अस्थिरतार्फ उन्मुख भयो । उत्तर र दक्षिणका छिमेकीहरु द्रुततर रुपमा आर्थिक तथा भौतिक रुपमा फड्को मारिरहँदा नेपालमा अस्थिरता गाँज्दै लग्वे । शायद यसैको परिणति हुनुपर्छ २०१७ साल पौष १ गतेको घट्ना क्रम । नेपालीहरुले पुन ३० बर्षसम्म प्रजातन्त्र पुर्वहालीका लागि आन्दोलन गर्नुप¥यो । पछिल्लो घट्नाक्रमले मुलुकलाई संघीय गणतान्त्रिक प्रणालीमा पु¥यायो ।
मुलुकमा व्यवस्था परिवर्तनका लागि नेपालका राजनैतिक दलहरु सफल भएपनि व्यवस्थापनमा सदैव चुक्दै आएका छन् । जुनसुकै व्यवस्था लागू भएपनि राणाकालमा एकछत्र राज गरेका राणाहरु भन्दा नेतृत्वमा पुगेका दलका नेताहरुको चरित्रमा समानता देखियो । हिजो जहाँनिया शासन भनेर दलका नेतृत्वले जनतालाई ठूला ठूला सपना देखाएर आफ्नो परिवारको भरण पोषणमा मात्र लाग्दा र जनतालाई उपेक्षित गर्दा प्रजातन्त्र, गणतन्त्र र संघीयताप्रति नै घोर वितृष्णा देखिएको छ । विगतमा जनतामा प्रजातन्त्र दिवसकाप्रति एउटा छुट्टै रौनक, उत्साह देखिन्थ्यो । अवस्था अहिले फेरिएको छ । दलले आयोजना गर्ने प्रजातन्त्र दिवसमा सबै तह र तप्काका मानिसहरुको सहभागिता रहन्थ्यो । यस पटक दल निकट कार्यकर्ताहरु समेत प्रजातन्त्र दिवसको कार्यक्रममा सहभागी भएनन् । औपचारिकता पूरा गर्न मात्र दलको विभिन्न पदीय लाभमा बसेका, पद भँजाएर कमाउ धन्दामा लागेकाहरु मात्र औलामा गन्न सकिनेहरु देखिनु शुभसंकेत पक्कै होइन । अन्य मुलुकमा एकपटक भन्दा बढी दुई पटक सरकारको नेतृत्व गर्नेहरुले ठूला ठूला चीरकालसम्म स्मरण रहने खालका उपलब्धी छाडेर गएका छन् । तर नेपालमा पाँच पटक प्रधानमन्त्री हुनेले लुट्ने र जनतालाई अभावमा धकेल्ने भन्दा अर्को काम नगर्नु व्यवस्थाप्रतिको चरम वितृष्णाको प्रमुख कारण हो ।

तपाईको प्रतिक्रिया