किमाथांका ट्रयाक खुल्न अब पाँच किमी बाँकी

धरान । नेपालका दुई छिमेकी मुलुक भारत र चीन जोड्ने सबैभन्दा छोटो दूरीको संखुवासभा किमाथांका सडकको ट्रयाक खुल्न अब पाँच किमी बाँकी रहेको छ । नेपालको भारतीय सीमाना जोगवनीदेखि चीनको सीमा नाका किमाथांका सम्मको दूरी ३ सय १७ किमी रहेको छ । जोगबनीदेखि संखुुासभाको खाँदबारीसम्मको सडक कालोपत्रे रहेको छ भने खाँदबारी देखि फक्सिन्दा दोभानसम्मको ४५ किमी सडकको समेत कालोपत्रे भएको छ ।


संखुवासभा जिल्लाको भोटखोला गाउँ पालिकाको च्याम्ताङ–चुम्सुर घोङ्गगोप्पा खण्ड अत्यन्तै कडा चट्टाने भीर रहेका कारण विस्फोट गरेर सो सडक खण्डको ट्रयाक खोल्नुपर्ने भएकोले नेपाल सरकारले सन् २०१९ मे ५ मा मन्त्रिपरिषदको निर्णयबाट ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिएको थियो । उत्तर दक्षित कोशी सडक आयोजना खाँदबारीका अनुसार आयोजनाले सर्भे गरेको १४ किमी सडकलाई पुन ः नेपाली सेनाले सर्भे गरी १०.५ किमीमा छोट्याएको थियो । नेपाली सेनाले विस्फोट पदार्थ प्रयोग गरी १०.५ किमी सडक मध्ये हाल सम्म ५.५ किमी सडकको ट्रयाक खोलिसकेको छ भने बाँकी ५ किमी सडक आगामी २०८० फागुन अर्थात सन् २०२३ फेबु्रअरी सम्ममा खोल्ने लक्ष्य लिएको छ । ट्रयाक खोल्ने जिम्मा पाएको नेपाली सेनाका अनुसार मौसमले साथ दिएमा आगामी २०८० फागुनसम्ममा ट्रयाक पूर्ण रुपमा खुलिसक्छ । पहाडी ठाउँ कहिले मौसमले साथ दिँदैन, कहिले बर्षाका कारण सडक पहिरो गएर काम रोकिन्छ । यतिबेला हिउँ परिरहेकोले काममा अवरोध भएको छ सैनिक स्रोतले भन्यो । संखुवासभा किमाथांका सडक ६ देखि ९ मिटर चौडाइमा रहेको छ । ट्रयाक खोल्ने काममा नेपाली सनोका १५० र गैर सैनिक कामदार ५० जना रहेका छन् । यो सडकको ट्रयाक खोल्ने जिम्मा पहिला कान्छाराम जेभीलाई दिइएको भएपनि उसले नसकेपछि नेपाली सेनालाई जिम्मा दिइएको थियो ।

तपाईको प्रतिक्रिया