धरान÷ आसन्न मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनको दौरानमा प्रचारप्रसारमा निस्किएका दल तथा स्वतन्त्र उमेद्वारहरुले निर्वाचन आचारसंहिता उल्लंघनको घट्ना व्यापक रुपमा गरिरहँदा समेत निर्वाचन आयोग मुक दर्शक भएर बसेको छ । आइतबार निर्वाचन अधिकृतको कार्यालय सुनसरी क्षेत्र नं. १ ले उमेद्वारहरुलाई भेला गराई निर्वाचनको तयारी, सवारी पास तथा निर्वाचनपछि हुने मतगणनाको विषयमा छलफल गर्न आहवान गरेको थियो । छलफलमा अधिकांश स्वतन्त्र उमेद्वार उपस्थित भए पनि पार्टीका तर्फबाट उमेद्वार दिनेहरुको उपस्थिति अत्यन्तै न्यून रहेको
थियो । सो अवसरमा निर्वाचन आचारसंहिताको कुरा प्राथमिकताका साथ उठ्यो । उमेद्वारहरुले आचारसंहिताको विषयलाई लिएर एकले अर्काको कटाक्ष गर्न पछि परेनन् । उनीहरुले मतदातालाई आफ्नो पक्षमा पार्न खुलेआम माइकिङ गर्ने, व्यापक रुपमा झण्डाका प्रयोग गर्ने, जनप्रनिधिको नाम भँजाएर प्रचारप्रसार गर्ने कुरा प्राथमिकताका साथ उठान गरे ।
छलफलमा बोल्दै स्वतन्त्र उमेद्वार कुमार कार्कीले कसैको नाम भँजाएर भोट माग्दा पनि निर्वाचन आयोग चूप लागेर बसेको प्रति आक्रोस पोख्नुभयो । उहाँले मेयर हर्क साम्पाङका नाम भँजाएर उमेद्वार बनेका प्रतिनिधिसभा सदस्य तर्क मगरप्रति लक्षित गर्दै ‘हर्क साम्पाङ समूह’ नै लेखेर चुनावप्रसार गर्दा समेत निर्वाचन आयोगले कारबाही गर्न नसकेको बताउनुभयो ।
यस्तै भनाई अर्का स्वतन्त्र उमेद्वार कृष्णकुमार राईको समेत रहेको छ । उहाले आफूबाट आचारसंहिता उल्लंघन भएको छ भने अहिले नै आत्मआलोचना गर्ने बताउनुभयो । तर आचारसंहिता उल्लंघन गर्नेलाई उमेद्वारी खारेजीसम्मको अधिकार निर्वाचन आयोगलाई भए पनि चुप लागेकोप्रति आश्चर्य व्यक्त गर्नुभयोे । उहाँले आचारसहिताको विषयमा निर्वाचन अधिकृतको कार्यालय, .निर्वाचन आयोगको केन्द्रीय कार्यालय, जिल्ला प्रशासन, इलाका प्रशासन, प्रहरी प्रशासनमा जानकारी गराउँदा समेत चूप लागेर बसेको आरोप लगाप लगाउनुभयो ।
आचारसंहिता उल्लंघनको व्यापक कुरा उठेपछि निर्वाचन अधिकृतको कार्यालयका सुनसरी १ का अधिकृत रुद्र अर्यालले स्वतन्त्र उम्मेद्वार तर्क बहादुर मगरको समूहलाई ‘हर्क साम्पाङ समूह’ हटाउन तत्काल पहल गर्ने बताएका बताउनुभयो । उहाले छलफलपश्चात उम्मेद्वार तर्क मगरलाई बोलाएर यस विषयमा स्पष्टीकरण सोधेको बताउनुभयो ।
उहाँले निर्वाचनको तयारीका लागि आयोजना गरिएको छलफलले निर्वाचन निष्पक्ष, भयरहित ढंगबाट सम्पन्न हुने विश्वास पनि लिनुभयो । आचारसंहिता पालनामा सबै उमेद्वारलाई गम्भीर भएर लाग्न आग्रह गर्नुभयो ।
