भूकम्पबाट घाइतेको उपचार सहज रुपमा हुन सकेन

गोविन्द बस्नेत
धरान/खोटाङ्गको दिक्तेल घर भएका ३५ बर्षीय सियोन राई लगायत उहाका पाच परिवार वैसाख १२ गते काठमाण्डौमा साततले घर ढलेर घाइते भएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार
गराइ रहनुभएको छ ।
सोही दिन कपनस्थित साततले घरमा रहेको सुब्रोत चर्चमा प्रार्थना गरिरहेको समयमा अकास्मात आएको महाभुकम्पमा परी घाइते भएका उनीहरुलाई प्रतिष्ठानमा उपचारका लागि ल्याएको हो । दुई दिन अगाडि प्रतिष्ठानमा ल्याएका उनीहरुको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने भनिए पनि अहिले आफै उपचार खर्च जुटाएर उपचार गराउदै हुनुहुन्छ । राज्यले अहिलेसम्म उपचार तथा राहत केही नदिएको उहाको भनाई छ ।
अहिले सियोन लगायत उहाकी धर्मपत्नी संगीता राई, छोरीहरु सोफिया
राई, एलिसिमा राईलाई प्रतिष्ठानमा उपचार गराइरहेता पनि उपचारमा लाग्ने सम्पूण खर्च आफूले नै व्यहोर्नुपरेको छ ।
खोटाङ्ग दिक्तेलकै दाजुपर्ने ३६ बर्षीय दिनेश राईले परिवारका सबैलाई सहयोग गर्दै आउनुभएको छ । खोटाङ्ग दिक्तेलमै घर भएपनि आफ्ना परिवारलाई काठमाण्डौ राखेर वैदेशिक रोजगारीमा जानुभएका दिनेश राईले समेत आफ्ना सबै परिवार गुमाए पनि उहाले आफ्ना भाइका परिवारलाई सहयोगका लागि लागि पर्नुभएको छ । साउदी अरब जानु अघि अर्थात एक बर्ष अगाडि आफ्नो परिवारलाई कपनको सोही घरमा डेरामा राखेर जानुभएका उहाले वैसाख १२ गते गएको महाभूकम्पले सबै परिवारलाई दैवको मुखमा पुर्‍यायो । अनेकन
गरेर आफूले काम गरेको स्थानमा विन्ति गरेर भुकम्प गएको दोस्रो दिन उहा नेपाल आएपनि उहाका अगाडि परिवार बसेको घर पुरिएर आफ्नी पत्नी
तारादेवी राई, छोरी रेजिना राई , कान्छी छोरी सेलिना राई, आमा देवकुमारी
राई र दाजु रमेशकुमार राईका एकै स्थानबाट शव निकालेको दृश्यले भावविहल बन्नुभयो । आफ्ना सम्पूर्ण परिवार गुमाउनुभएका उहाले भाइका घाइते परिवारलाई सहयोग गरिरहे पनि राज्यले अहिलेसम्म पीडित तथा घाइते परिवारलाई सहयोग नगरेको प्रति दु:खेसो व्यक्त गर्नुभयो । यी मात्र हैन प्रतिष्ठानमा विभिन्न स्थानमा भुकम्पमा परी ल्याइएका ६६ जना घाइतेहरुलाई सरकारले नि:शुल्क स्वास्थ्य सेवा र राहत दिने भनिएपनि अहिलेसम्म उनीहरुले त्यो पाउन सकेका छैनन् । प्रतिष्ठानमा अहिले पनि २६ जना भूकम्पबाट घाइते भएकाहरुको उपचार भइरहेको छ ।
ती मध्ये ७ जनाको प्रतिष्ठानको आकस्मिक कक्ष र अन्यको हाडजोर्नी विभागमा उपचार भइरहेको छ । प्रतिष्ठानमा उपचार गराउनेहरुलाई औषधि, ल्याव टेष्ट, एक्स–रे लगायतका सेवा नि:शुल्क गरिदिने भनिए तापनि प्रतिष्ठानले यस विषयमा गम्भीरतापूर्वक नलिएकै कारण आफैले खर्च गरेर उपचार
गराउनुपर्ने बाध्यता रहेको पीडितहरुको भनाई छ । प्रतिष्ठानमा आउने पीडितमध्ये काठमाण्डौ, सिराहा, सप्तरी, खोटाङ्ग, भोजपुर लगायतका विभिन्न स्थानमा भुकम्पमा परी घाइते भएकाहरु छन् तर सर्वसुलभ तरिकाबाट उपचार भने कसैले पाएका छैनन् ।

तपाईको प्रतिक्रिया