गुरासको राजधानीमा आन्तरिक तथा वाह्य पर्यटक बढे

धरान । पूर्वका उत्कृष्ट पर्यटकिय स्थलहरूमध्ये तीनजुरे मिल्के जलजलेमा पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकको संख्या ह्वात्तै बढेको छ ।
गुरासको राजधानी भनेर चिनिएको यो क्षेत्रमा २८ प्रजातिका गुरास फूल पाइने भएकोले पनि गुरासको फूल हेर्न र गुरासमा फोटो क्लिक लिनकै लागि पनि आन्तरिक तथा बाह्य पर्यटक बढेको तीनजुरे मिल्ने जल्ले संरक्षण समितिका पूर्व अध्यक्ष एवम पूर्व प्रदेश पर्यटन मन्त्री लक्ष्मण तिवारीले बताउनुभयो ।


उहाँले अहिले प्रदेश नं. १ बाट मात्र हैन भारतका विभिन्न स्थानबाट लाली गुरास रमणीय दृश्य अवलोकन गर्न आउने गरेको बताउनुभयो । उहाँले भन्नुभया–‘पूर्वको सम्भावना बोकेको यो स्थानमा पर्यटक बढेका छन्, गुरास हेर्नकै लागि भएपनि यहा पर्यटक आउन थालेका हुन ।’
संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थलमा पर्ने तीनजुरेमा गुरासका अलावा वनभोज खाने रमणीय स्थल भएका कारण पनि गर्मी बढेसँगै पर्यटक बढ्ने लालीगुरास नगरपालिकाका तुलसी पौडेल बताउनुहुन्छ् । उहाँ भन्नुहुन्छ–‘पछिल्लो समय तीनजुरे, मिल्के र जल्जले पर्यटकको रोजाइ बनेको छ, यहा पर्यटकहरु दिनप्रतिदिन बढ्दै गएका छन् ।’ खास गरेर चैतको मध्यदेखि टिएमजे भ्रमण उपयुक्त हुने उहाँ बताउनुहुन्छ् । उहाँ भन्नुहुन्छ–‘चैत्र र वैसाखमा गुरास ढकमक भएर फुल्ने भएकोले पनि यो दुई महिनाचाहिँ धेरै पर्यटक आउँछन् ।’
टिएमजेसम्म पुग्न यातायात सुविधा रहेको छ । धरानबाट धनकुटा हुँदै हिले सम्मको ६७ कि.मिको यात्रा पश्चात लाली गुरास नगरपालिकाको वसन्तपुर पुग्न सकिन्छ । वसन्तपुरबाट केही किलोमिटर दुरीको टुटे देउरालीबाट टिएमजे क्षेत्र सुरु हुन्छ ।

 

तपाईको प्रतिक्रिया