धरान । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था र हिन्दु राष्ट्रको पुनस्र्थापना भ्रष्टाचार र जनजीविकाको मुद्दा उठाएर निर्वाचन केन्द्रित आन्दोलन गर्ने भएको छ ।
पार्टी अध्यक्ष राजेन्द्र लिंगदेनको अध्यक्षमा काठमाण्डौमा बसेको वैठकले यसका लागि पार्टीका केन्द्रीय सदस्यको संख्या बढाइ जिम्मेवारी समेत सुम्पिने निर्णय गरेको छ । राप्रपाको केन्द्रीय कार्यसमितिको संख्या २५१ पु¥याउने निर्णय भएको अध्यक्ष लिंगदेनले बताउनुभयो ।

विधानतः राप्रपामा १९९ केन्द्रीय सदस्य रहने प्रावधान रहेको छ । मंसिरमा भएको राप्रपाको अधिवेशनबाट एक अध्यक्ष र आठ जना पदाधिकारी सहित १४१ जना केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन् । वैठकले निर्वाचन आयोगको पछिल्ला निर्णयहरुप्रति पनि आपत्ति जनाएको छ । निर्वाचन आयोगले राष्ट्रिय मान्यता प्राप्त दलहरुलाई मात्र साविकको चुनाव चिन्ह दिने निर्णय गरी अन्य दलहरुलाई विगतका चुनाव चिन्हबाट बञ्चित गराउन लागेकोप्रति आपत्ति जनाउँदै आएको छ । आयोगको उक्त निर्णय सर्वसत्तावादी र विभेदकारी रहेको वैठकले ठहर समेत गरेको छ । यसका लागि उसले निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै संघर्ष समेत गर्ने निर्णय गरेको छ । वैठकले पार्टीका महामन्त्री डा. धवल शमशेर जबराको संयोकत्वमा राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि संघर्ष समिति समेत बनाएको छ ।
निर्वाचन आयोगले राष्ट्रिय मान्यता प्राप्त गर्न नसकेका अन्य दलहरुको चुनाव चिन्ह यसपटक परिवर्तन गर्ने निर्णय गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्र नभएर अन्य साना तथा क्षेत्रीय दलहरुले पनि आन्दोलनको चेतावनी दिएका छन् । प्रदेश न. १ मा संघीय लिम्बुवान नेपालले पनि निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाउँदै आइतबार सुनसरी प्रशासन, निर्वाचन आयोगतमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । विगतमा उक्त दलले दाप सहितको खुकुरी चुनाव चिन्ह पाएको थियो । आगामी निर्वाचनमा पनि उसले सोही चुनाव चिन्ह पाउनुपर्ने माग गरेको छ ।
