विकको राजीनामा
आयाराम गयाराम चरित्रका मिन विकले राजीनामा दिए रे । कँग्रेसमा कुनै दुःख नगरेका विकले राजीनामा दिँदा कसैले चर्चै गरेनन् । चर्चा गर्नुपर्ने कारन पनि छैन । त्यस्ता विक सिक काँग्रेसमा कति आए कति गए । तिनले राजीनामा दिँदा पहिरो जाने भए पो यसो चर्चा परिचर्चा हुन्थ्यो । एमालेबाट काँग्रसमा छिरेपछि जहिल्यै अवसरमात्र पाएका विकले यसपटक मन्त्री पड्काउला भन्ने सोच्या थे । तर गठबन्धनका पर्धानमन्तरीले भाउ नदिएसी तिन्ले राजीनामा फाल्या रै’छन् । सांसद पनि तिनैलाई चाहिने, केन्द्रीय सदस्ये पनि तिनैलाई चाहिने, दलित संघको अध्येक्षे पनि तिनैलाई चाहिने, मन्तरी पनि तिनैलाई चाहिने । देशाँ अरु विक छैनन् ? अरुलेचाहिँ सधै सुख्खै बस्नुपर्ने ? नेताहरुको परिक्रमा गरेर काँग्रेसमा लाभै लाभको खेति गर्दै आएका विकको घुक्याई कस्लेचाहिँ बुझ्या छैन र ? कुनै दिन विकले पार्टीबाटै बहिर्गमनको बक्तव्य निकाले भने अनौठो नमाने हुन्छ ।
खप्रओलाई हाइसञ्चो
एमालेभित्रका सधै टनटन टन्कने पिलो आफै निचोरिँदै फुट्दै जान थालेसी यतिबेला खप्रओलाई हाइसञ्चो भएको छ । आफैले निचोर्नुपर्दा कम्ता पीडा हुँदैनथ्यो । अब हेरम न अस्तिका दिन बाउदेउ गौतमले वक्तव्य निकालेर एमाले छाडेको घोषना गरेछन् । तिनको घोषना सुनेर बालकोटको बार्दलीमा खप्रओ छमछमति नाँचेछन् । सहनै नसकिने पिलो आफै फुटेर गएसी’ ननाच्ने कुरो पनि भएन । कहिले मलाई पर्धानमन्तरी बनाइदेउ भन्ने, कहिले के फत्तुर लगाउने । तिनका सधैभरिको गनगन विचरा खप्रओको जिउज्यानै सुकेर मुरली जस्तो भा’थ्यो । अबचाहिँ खप्रओ तंग्रिने भए । पिलो निचोरिएपछि कम्ता आनन्द आउँदैन । जे होस एमालेमा पिलो निचोरिने क्रम जारी छ ।त्यसका बाजे एमालेमा पिलाहरु पनि कति रै’छन् हँ ?
विचारा चैट हुन भए
बाह्र बर्षमा पोइ आको म जैरेलाई ज्वरो आको भन्ने उखान यतिबेला पर्देश नं. १ का मुखमन्तरी भीम आचार्यसँग ठ्याक्कै मिल्या छ । काकताली परेर बल्ल तल्ल मुखमन्तरी भाथे विचरालाई एक महिना पनि टिक्न नदिएर घुइक्याउने भए । बल्ल दोैरा शुरुवाल भिरेर गोडातीनेक करोडको गाडीमा अगवा पछुवा लगाएर हिँड्न थाल्या थे । पहिला पनि गोडादुईक भातमारा पर्दैश सभाका सांसदहरुले मत नदिँदा पछारिएका मुखमन्तरी एमालेभित्रका सबैभन्दा ठूलो पिलोे माकुन्याउको पछि लागेरै बिग्रिए । मुखमन्तरी पाएसी पुनः खप्रओतिर आ’थे । हिजो आज त आफूलाई मुखमन्तरी बन्ने इच्छै थिएन भनेर रुन्चे हाँसो हाँस्न थाल्या छन रे । क गर्नु नसिव अपना अपना ।
हतियार बोक्न निर्देशन

सत्ता गठबन्धनका मतियार प्रचण्डाउले आफ्ना कार्जेकर्तालाई हतियार बोक्न निर्देशन देछन् । हतियार अब किन र केका लागि बोक्ने भनेर विचरा कार्जेकर्ताले भेउ पाउनै सक्या छैनन् । पहिला हतियार बोक्नेहरुको अहिले बेहाल भा’छ । निर्देशन दिनेहरु राजा महाराजा भा’छन् । काठमाण्डौमा दर्जनौ घरका मालिक भा’छन्, बैंकमा अरबौ थन्माउने साहु भा’छन् । लितिक्क गिलो आँची आयो, हाँच्छिउ आयो, हल्काफुल्का ज्वरो आयो भने अमेरिका, सिंगापुर, थाइल्याण्ड पुगेर राज्येकै ढिुकुटीबाट उपचार गराउँछन् । हिजो पनि लुट्या थे अहिले पनि
लटिरा’छन् । फेरि हतियार बोक्न किन निर्देशन द्या होला ? अझ के के सुविधा चाहिया होला ? हुन त विनासकाले विपरीत बुद्धि भन्छन् । कि कसो हौ ?
घुमीफिरी रुम्जाटार
लाटो लड्छ एक बल्ड्याङ बाठो लड्छ दश बल्ड्याङ त्यसै भन्या होइन । झालेमाले फुटाउने मध्येका एक मतियार योगेश भट्टराईले लास्टाँ आएर तेस्रो धार भन्दै खप्रओतिर चोचोमोचो बढाए । समयसँगै सबै कुरा अगाडि बढ्छ तर यिन्ले चार बर्ष अगाडि कै अवस्थामा फर्कनुपर्छ भन्दै लुसुक्क खप्रओको शरणमा पुगे । पहिला माकुनेलाई नयाँ पार्टी खोल्नुपर्छ भनेर पछाडिबाट धकेलेका थिए । नया पार्र्टी खोलेर पछाडि फकेर हेर्दा भट्टराई लगायत टाप भइसकेका थिए । केटाले मौका पायो भने केही गर्छ कि भनेर खप्रओले शरणमा आएका भट्टराईलाई प्रवक्ताको जिम्मेवारी दिए । तर केटाको व्यहोरोमा सुधार नभएसी’ खपओले जोर लात्ती बजाएछन । अहिले केटो फेरि माकुन्याउको शरणमा गा’छ रे ।
अब के गर्लान् एमसिसी विरोधी
अमेरिकी विकास आयोजना एमसिसीको विरोध गर्नेहरुलाई अब गृहमन्त्रालयले गोर्खे लौरी ठोक्ने भएको छ । गृहले परमादेशको हुकुम जारी गरेको छ । एमसिसीको विरोधमा खुब उपिफ्ररा’ थे । अब मुचुक्क पर्ने भए । अब गृहमन्त्रालयले सामाजिक सञ्जालहरुमा नकारात्मक टिप्पणी गर्ने धम्कीपूर्ण अभिव्यक्ति दिनेलाई समक्ष निगरानी गरी कडा कार्वाही गर्ने भा’छ । बुझ्नु न सुझ्नु पुंग न पुच्छरले बुरुक बुरुक उफ्रनेलाई अब के गर्लान् ? अस्तिका दिन त अंशवण्डा लिएर अर्को माउवादी केन्द खोलेका गोपाल राई एमसिसीका अधिकारीहरुको स्वागतमा एक बोरा कालो मोसो र जुत्ताको माला तयार गरौ भनेर लेखेछन् । तिन्ले कालो मोसो र जुत्ताको माला तयार गरे कि गरेनन् ? फुइँ मात्र लडाका होलान् ? सामाजिक सञ्जालमा भुक्न सजिलो छ । कि कसो हौं सालदाई ।
गोप्य सहमति
सत्तामा गएर मजाले डकार्ने सपना देखेका माकुने, प्रचण्डाउ, उपिन्दरहरुले अब उत्तानोटाङ लगाउने भएका छन् । बुढानिलनकण्डे काजीलाई मुर्गा बनाएर हालीमुहाली गर्ने सपना विचराहरुले देख्या थिए । अर्काको वैसाखी टेकेर धेरै हिड्न नसक्ने देखेसी काजीले गोप्य रुपमा खप्रओसँग हिमचिम बढाएछन् । चुनाउमा जान दुई पटक खुट्टा उचालेको खप्रओलाई माकुने–प्रचण्डाउले अदालतमा पुगेर छिर्के लगाए । चुनाउमा जाँदा आफ्नै टुंगो नभएसी त्यसरी छिर्के लाका थे अब भने तिनको अपानवायु बन्द हुन भएको छ । खप्रओ र काजी बीचमा गोप्य सहमति भएको तिन्लाई पत्तै छैन । आफ्नो समर्थनमा पर्धानमन्तरी भा’ हो भनेर दिनैपिच्छे माग बढ्ने थालेसी काजी बुढा नि वाक्कदिक्क भा’छन् । भालुको कन्पट वित्थामा समातिएछ भनेर थक्कथक्क गर्न थाल्या छन् । कुन दिन बुढाले ब्वाङ्ग चुनाउको घोषण गर्दिन्छन् त्यसपछि पाहा पछारिए झै माकुने प्रचण्डाउ पछारिँदा थाहा हुन्छ ।
अन्तेमा
राजनैतिक दल आच्या राजनैतिक दलालहरु यतिबेला ठँसठँस्ती गन्हाउन थाल्या छन् । पद पाउन आफू सर्वाङ्गै नांगो हुन त लाज नमान्नेहरु कुहिएर गन्हाउँदा वास्तै गदैनन् । अब हेरम न पर्देशदेखि केन्द्रसम्म गन्हाएका राजनैतिक दलालहरुको लिष्ट बनाउने हो भने लामै बन्छ । बगमति पर्देशमा ठँवाँस्स गन्हाएकी शाक्य, पर्देश नं. १ मा उग्र गन्हाउका अचार्य, केन्द्रमा गन्हाएका विक, आले, श्रेष्ठ……। मन्त्री नपाएँदा यिन्ले दल बदलु गर्छन् , आफ्नै नेतालाई सक्तो सराप गर्छन् । पद पाएसपी राजकानीमा सान्डाको तेल घस्न पछि पर्दैनन् । अनि फुइँøयाँ बन्छ देश ?
