बक्सिङ खेलाडीलाई धरान उपमहानगरपालिकाद्वारा पुरस्कृत

धरान ÷ २६ औं विश्व खेलकुद दिवसको अवसरमा धरानका ७ जना स्वर्ण पदक विजेता बक्सिङ खेलाडीहरुलाई प्रोत्साहन पुरस्कार वितरण गरिएको छ ।
आइतबार सुनसरी जिल्ला बक्सिङ संघले धरान १६ स्थित रंगशालामा आयोजना गरेको कार्यक्रममा धरान उपमहानगरका मेयर तिलक राईले खेलाडीहरुलाई जनही ५ हजार रुपैयाँ प्रोत्साहन पुरस्कार वितरण गर्नु भएको हो । धरानमा आयोजित गत चैत्र २५, २६ र २७ गते प्रदेश स्तरिय वीर गणेशमानसिंह नोभिस बक्सिङ च्याम्पियनसीप प्रतियोतामा धरानका ७ जना खेलाडीहरुले स्वर्ण पदक जितेका थिए । विजेता खेलाडीहरुलाई सुनसरी जिल्ला बक्सिङ संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा प्रोत्साहन पुरस्कार वितरण गरिएको हो । बक्सिङ खेलमा पहिलोपटक रिङमा प्रवेश गर्ने खेलाडीलाई नोभिस भनिन्छ । मेयर राईले स्वर्ण पदक विजेता खेलाडीहरुलाई जनही नगद ५ हजार रुपैयाँ दिने घोषणा गर्नु भएको थियो । सुनसरी जिल्ला बक्सिङ संघका अध्यक्ष विकास कुमार गुवाजुका अनुसार वीर गणेशमानसिंह नोभिस बक्सिङ च्याम्पियनसीप प्रतियोगितामा महिलातर्फ (५१ केजि) ओङबुङ्ला हाङमा शुभानी राई, (५४ केजि) एलिसका रत्न, (५७ केजि) सृजना गुरुङले स्वर्ण पदक प्राप्त गरेका थिए भने पुरुषतर्फ (५२ केजि) सिंहवीर लिम्बु, (५६ केजि) सौगात लामा, (६४ केजि) धिरज गुरुङ र (७५ केजि) अमृत लिम्बुले स्वर्ण पदक जितेका थिए ।
साथै, प्रशिक्षक शौरभ लामालाई पनि मेडल लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा मेयर राई र वडा नं. १८ का वडाध्यक्ष प्रविण राई (नरेन्द्र)ले बक्सिङ संघलाई ५ हजार रुपैयाँ सहयोग समेत गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया