धरान÷देशका आठवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमध्ये बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान यतिबेला चर्चाको शिखरमा छ । प्रतिष्ठानको मुख्य उद्देश्यहरु स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानको क्षेत्रमा कुनै ठूलो कृति राखेर वा आमूल परिवर्तन गरेर सक्षम भएर प्रतिष्ठान चर्चामा भने आएको होइन ।
विगत एक बर्ष यता प्रतिष्ठान विकृति र विसंगतिको केन्द्रको रुपमा र व्यापक कमिशन खोर, भ्रष्टाचारको अखडाको रुपमा विकसित भएको सम्बन्धमा यसको चर्चा चुलिएको हो । यतिबेला प्रतिष्ठानभित्रका चिकित्सकहरुको भ्रष्टाचार विरुद्धको आन्दोलन, स्थानीय नागरिक समाजको प्रतिष्ठानको विकृति र विसंगतिको अन्त्यको माग सहितका वृहत आन्दोलनले समेत राष्ट्रिय चर्चा पाएको छ ।
रजिष्ट्रारले नियुक्तिमा मन्त्री ढकाललाई सात करोड दिएको खुलासा
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रजिष्ट्रार नियुक्तिका लागि डा. मोहनचन्द्र रेग्मीले तत्कालीन स्वास्थ्यमन्त्री तथा (ओम्नी मन्त्री) कोे नामले बद्नाम भानुभक्त ढकाललाई सात करोड दिएर नियुक्ति लिएको खुलासा भएको छ ।
डा. रेग्मीको नियुक्ति प्रक्रियामा उपकुलपति डा. ज्ञानेन्द्र गिरीका सल्लाकारको हैसियतले प्रत्यक्ष संलग्न दिलिप भट्टराईको सार्वजनिक दाबीले प्रतिष्ठानमा यतिबेला थप हलचल ल्याएदिएको छ । प्रतिष्ठानको इतिहासमा पहिलो पटक चिकित्सक रजिष्ट्रार बन्नु, रजिष्ट्रार बनेका डा. मोहनचन्द्र रेग्मीले नियुक्तिको केही समय अधिमात्र राजधानीको वालुटारमा रहेको घर जग्गा बेचेको पैसा कुनै व्यापारीको खातामा जम्मा हुनु र पं्रतिष्ठानको नियमावलीले तोकेको मापदण्ड नपुग्दा नपुग्दै पनि जबरजस्ती निजको नियुक्ति हुनुले यो कुराको पुष्टि हुन्छ । रजिष्ट्रार नियुक्तिको समयमा एक हप्ता दिन रात डा. रेग्मीसँगै राजधानीमा बसेर संयुक्त रुपमा आर्थिक व्यवस्थापन गरेका र तत्कालीन समयमा प्रतिष्ठानका छायाँ उपकुलपति भनेर चिनिने सल्लाहकार भट्टराईले सार्वजनिक रुपमा यो कुरा राख्दा समेत डा. रेग्मीबाट कुनै खण्डन नहुनुले समेत नियुक्तिमा सात करोडको चलखेल भएको पुष्टि हुन्छ । यसैबीच प्रष्ठिानको सिटीस्क्यान खरिद प्रकरणमा कमिशनकै चक्करमा रजिष्ट्रार रेग्मी विगत एक बर्षदेखि भाँजो हाल्दै आएर खरिद पं्रक्रिया नै अवरुद्ध गरेको कुराले समेत भट्टराईको आरोप पुष्टि हुन्छ ।

धरानका एक मेडिकल माफियाले बर्षौदेखि प्रतिष्ठानका उपकलपति लगायत पदाधिकारीहरुलाई प्रलोभनमा पारेर ब्रम्हलुट गर्ने गरेको घामजस्तै छर्लङ्ग छ ।
वर्तमान उपकुलपति डा. गिरी समेत ती मेडिकल माफिया व्यापारीका साझेदारी बन्न पुगेका छन् । उपकुलपति नियुक्ति हुने वित्तिकै उपकुलपति डा. गिरीले बोलपत्र नखोली सार्वजनिक ऐन नियम विपरीत करोडौको उपकरण अमानतमा खरिद गरे । उक्त खरिदमा उपकुलपति डा. गिरीले आफ्ना भाई अजय गिरीमार्फत चालीस प्रतिशतसम्म कमिशन लिएको प्रतिष्ठानको लेखा स्रोतले जनाएको छ ।
यसैबीच प्रतिष्ठानले हाइ डेंसिटी युनिट (एच.डि.यु.) को निमित्त प्रथम चरणमा १२ वटा आइटम उपकरणको निम्ति खोलेको बोलपत्रमा धरानका मेडिकल माफियालाई कुनैपनि उपकरणको ठेक्का नपर्ने अवस्था आएको अवस्थामा पनि जबरजस्ती ६ वटा मात्र आइटम अन्य ठेकेदार भन्दा महँगो दरमा खरिद गरेर सो खरिदमा ५० लाख कमिशन कुम्लाएको मूल्यांकन समितिका एक जिम्मेवार अधिकारीले बताए । उनले भने ‘हामीले खरिद गर्न उपयुक्त छैन भनेको अवस्थामा पनि जबरजस्ती द मेडिकल सलुसन भन्ने धराने मेडिकल माफियाकै कम्पनीसँग ६ वटा आइटम खरिद गरेर सिधै अख्तियार दुरुपयोग गरियो । एच.डि.यु सम्बन्धी उपकरण खरिद गर्न स्वास्थ्य मन्त्रालयले थप ६ करोड बजेट प्रतिष्ठानलाई उपलब्ध गराएपछि सोही सम्बन्धी पहिलो ठेक्काका सबै उपकरणहश्रको स्पेसिफिकेशन धरानका मेडिकल माफियाको द मेडिकल सलुसन भन्ने कम्पनीलाई मात्र मिल्ने गरी जम्मा ५,७५,४०,००० लागत अनुमान तयार गरी उपकुलपति, अस्पताल निर्देशकले बनाएर सबै उपकरणको समग्रमा एउटा मात्र प्याकेज बनाएर ठेक्का गरे । हाल मूल्यांकन समितिको कार्यालयमा आइपुगेको सो ठेक्का सम्बन्धी फाइलमा सम्पूर्ण ठेक्का द मेडिकल सलुसनलाई पार्ने र ४,९८,९१,५०० मा दिने तयारी उपकुलपति र अस्पताल निर्देशकको रहेको स्पष्ट देखिएको सो समितिका एक पदाधिकारीले बताए । यी उपकरणहरुको ठेक्कामा पहिलो टेन्डरमा अन्य कम्पनीहरुको मूल्य दाबीलाई दाँज्ने हो भने प्रतिष्ठानलाई डेढ करोड घाटा हुने समेत उनले बताए ।
उपकुलपतिको प्राध्यापक उपाधि नै किर्ते ?
यसैबीच प्रतिष्ठानका प्राध्यापकहरुले उपकुलपति डा. गिरीको प्राध्यापक उपाधिप्रति प्रश्न उठाएका छन् । आफ्नो जीवनकालमा कुनै विश्वविद्यालयसँग आवद्ध नभएका र कुनै सोधकार्य नगरेका उपकुलपति गिरीले किर्ते तवरले आफूलाई प्राध्यापक बताउने र लेख्ने गरेको प्रतिष्ठानका एक प्राध्यापकले बताए ।
यस सम्बन्धमा धरान साप्ताहिकले काठमाण्डौ विश्व विद्यालय, त्रिभुवन विश्व विद्यालय, नेपाल मेडिकल काउन्सिल, चिकित्सा विज्ञान अध्ययन संस्थान लगायतका जिम्मेवार पदाधिकारीसँग हिजो दिनभरि सम्पर्क राख्दा कुनै संस्थाले उपकुलपति गिरीलाई प्राध्यापकको उपाधि दिएको पुष्टि गर्न सकेनन् । यसैबीच चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानमा एम.डि. अध्ययननार्थ कोटा निर्धारण गर्दा उपकुलपति डा. गिरीलाई प्राध्यापक नै नमानेको समेत आयोगको उच्च स्रोतले जनाएको छ ।
कार्वाहीको पत्रप्रति प्राध्यापक, चिकित्सक आक्रोसित


प्रतिष्ठानमा भएको व्यापक भ्रष्टाचार र अनियमितताका सम्बन्धमा आफ्ना धारणा राख्दै र संघर्ष गर्दै आउनु भएका चिकित्सा तथा दन्त चिकित्सा कल्याण समाजका अध्यक्ष डा. विष्णु पोख्रेललाई कार्वाहीको चेतावनी सहित पत्र काटेपछि प्राध्यापक, चिकित्सक आन्दोलनमा उत्रिएका छन् ।
डा. पोख्रेलले भ्रष्टाचार र बेथितिका सम्बन्धमा छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा प्रमुख आयुक्त प्रेम राईलाई विभिन्न माध्यमबाट ध्यानाकर्षण गराउनु भएको थियो ।
प्रतिष्ठानको हाडजोर्नी विभागका एसोसिएट प्रोफेसर पोख्रेलले सामाजिक सञ्जालमार्फत प्रतिष्ठानलाई ध्वस्त पारी निजी मेडिकल कलेजलाई काखी च्याप्ने माफियालाई कार्वाहीको माग गर्नुभएको थियो । उपकुलपति डा. गिरीले कार्वाहीको चेतावनीयुक्त पत्र दिएसँगै आन्दोलनमा उत्रिएका प्राध्यापक, चिकित्कको आन्दोलनलाई नागरिक समाजले समेत ऐक्यबद्धता जनाएको हो ।
यसै सम्बन्धमा चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजका अध्यक्ष डा. विष्णु पोख्रेलसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो हाम्रो आन्दोलन तबसम्म जारी रहन्छ जबसम्म मागहरु सम्बोधन हुँदैनन् । त्यसपछि आन्दोलनको प्रारुप चेन्ज हुन्छ । तपाईहरुका माग के के हुन त भन्ने सवालमा उहाँले भन्नुभयो हाम्रा माग साधारणै छन् । दुई बर्षदेखि उहाँले गरेका बाचाहरु पूरा गर्नुप¥यो, दोस्रो कुरा उहाँको प्राज्ञिकताको बारेमा उठेका कुरा क्लियर गरिदिनुपर्छ । जसले गर्दा प्रतिष्ठानको र उहाँकै इज्जतमा दाग लागेको छ । तेस्रो कुरा उहाँले पत्र काटेर सोधिएको स्पष्टीकरण फिर्ता लिनुपर्छ । स्पटीकरणमा प्रतिष्ठानको छविमा आँच आएको भन्ने छ । त्यस कुरामा डा. पोख्रेलको पूर्ण असहमति छ । पहिलादेखि नै भ्रष्टाचार र अनियमितताको सवाल उठाउँदै आउनु भएका डा. पोख्रेलले अख्तियारले छानविन गर्नुपर्छ भन्ने अडान राख्नु हुन्छ ।
प्रतिष्ठानमा रजिष्ट्रार डा. मोहनचन्द रेग्मी र उपकुलपति डा. ज्ञानेन्द्र गिरीका कारण अराजकता मौलाएको छ । डा. पोख्रेल भन्नुहुन्छ आज असार ४ गते भइसक्यो तर जेष्ठको तलब पाइएको छैन । रजिष्ट्रार रेग्मीले कमिशनमै बार्गेनिङ्ग नमिल्दा तीन पटकसम्म फार्मेसीको टेन्डर रद्ध गरेका छन् । त्यसरी टेन्डर रद्ध गर्ने रजिष्ट्रार नै हुन् । पोख्रेलले भन्नुभयो पक्कै पनि तीन पटक फार्मेसीको टेन्डर प्रक्रियागत त्रुटी त होइन । प्रतिष्ठानले धेरै बर्षदेखि टेन्टर प्रक्रियाबाट सामान लिँदै आएको थियो तर अहिले ल्याउन सकेको छैन ।
प्राध्यापक चिकित्सक र नागरिक समाजले आन्दोलन गर्न थालेपछि उपकुलपति डा. गिरी काठमाण्डौ गएर बस्नु भएको छ । स्रोतका अनुसार उहाँ एक सातापछि परिस्थिति मत्थर भएपछि आउने जनाएको छ । यसै सम्बन्धमा डा. पोख्रेल भन्नुहुन्छ उहाँले प्रतिष्ठानमा भएको समस्यलाई निक्यौल गर्नुप¥यो । एक महिना पछि, एक बर्षपछि आए पनि हुन्छ । प्रतिष्ठानमा कुन समस्या छ र उहाँ के को लागि भाइसचान्सलर बन्नु भएको हो भन्ने बुझ्नुपर्छ ।
अस्प्ताल निर्देशकको गोरस धन्दा
प्रतिष्ठानमा अहिले आर्थिक तथा प्रशासनिक अराजकता सिर्जना गर्न गोप्य रुपमा अस्पताल निर्देशक डा. गौरीशंकर साह लागेको आर्थिक प्रशासन शाखाका एक अधिकृतले बताए ।
मैले अस्पताल प्रशासन सम्हाल्दादेखि उहाँको मुख्य काम नै उपकुलपति, शिक्षाध्यक्ष, चिकित्सक, प्राध्यापक, रजिष्ट्रार बीचमा झगडा लगाउने र अराजकताबीच उपकरण खरिदमा चलखेल गरेर आर्थिक उपार्जन गर्ने देखेको अस्प्ताल प्रशासनका अर्का कर्मचारीले बताए । प्रतिष्ठानका एक प्राध्यापकका अनुसार हाल डा. विष्णुृ पोख्रेललाई कार्वाहीको निम्ति उपकुलपतिलाई उकास्ने डा. साह नै हुन् । उनले भने धरानका एक व्यापारी मार्फत अढाई करोड तिरेर नियुक्ति पाएका उनी पछि तिनै व्यापारीसँग झगडा भएपछि ती व्यापारीकी श्रीमतिले नियुक्तिको समयमा तिरेको पैसा माग्न तीन महिना अगाडि लगातार तीन दिन डा. साहको घरमा धर्ना दिएकी थिइन् । रातारात एच.डि.यु. खरिद गर्ने धराने मेडिकल माफियासँग सापटी लिएर ती व्यापारीलाई पैसा तिरेको र अहिले सोही पैसा राफसाफ गर्न निर्देशक साह लागि परेका छन् । लेखा शाखाका एक अधिकृतले भने म अस्पाल प्रशासनमा हुँदा बहुत तनावमा गुजारेँ । अस्पताल निर्देशक आफै शिक्षाध्यक्ष विरुद्ध उजुरी तयारी गर्न आदेश दिने गर्थे, मलाई त कम्तीमा ५ पटक इटहरी अख्तियार कार्यालय पठाएर उजुरी दर्ता गर्न लगाए, निर्देशक सरको एक मात्र उद्देश्य भनेको अराजकता गराउने र पैसा उठाउने हो उनले भने । यसै सम्बन्धमा हामीले बुझ्न विहीबार पटक पटक सम्पर्क राख्दा निर्देशक साहको फोनै उठेन ।



