पूर्व राजा ज्ञानेन्द्र शाह गाउ– गाउमा सर्वसधारणको आतिथ्य ग्रहण गर्दै

धरान÷झण्डै एक महिना अगाडि अर्थात पौष १२ गते आइतबार झापाको दमक बसाइमा आइपुग्नु भएका पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाह यतिबेला पूर्वाञ्चलको विभिन्न स्थानको भ्रमणका क्रममा सर्वसाधारणको आतिथ्य ग्रहणमा व्यस्त हुन थाल्नु भएको छ ।
कहिले एक्लै त कहिले परिवारका साथ पूर्व राजाको भ्रमण हुने गरेको छ ।
सुनसरीको कोशी गाउँ पालिकाका प्राविधिक रामेश्वर ठाकुर भन्नुहुन्छ पृथ्वी जयन्ति भन्दा अगाडि सुनसरीका विभिन्न ठाउँमा राजाको भ्रमण भएको थियो ।
प्राविधिक ठाकुरका अनुसार सुनसरीमा मात्र नभएर सप्तरीमा समेत राजा ज्ञानेन्द्रले भ्रमण गर्नुभएको थियो । उहाँले सप्तरीको भ्रमणका क्रममा प्रसिद्ध शक्तिपीठ कंकालिनी मन्दिरमा केही समय पूजापाठ समेत गरेको ठाकुर बताउनुहुन्छ । कहिले एक्लै त कहिले परिवारका साथ सुनसरी आउँदा कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्र,कोशी गाउँ पालिका, भोक्राहा गाउँ पालिका, हरिनगरा गाउँपालिका, बर्जु गाउँपालिका लगायतका स्थानमा पुगेर पूर्व राजाले भेटघाट गर्नुभएको थियो । आफ्नो झोपडी अगाडि एक्कासी
राजाको आगमन हुँदा कतिपय सर्वाधारणले विश्वासै गर्न सकेनन् । कतिपय सर्वसाधारण मेरो घरमा राजा आउनु भयो भन्दै खुशीले चिच्याएका थिए, गद्गद् भएका थिए, ठाकुरले भन्नुभयो ।
माघ ९ गते गुड फ्राइडेमा सरिक
पछिल्लो पटक पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाह माघ ९ गते राष्ट्रवादी मोर्चाका संयोजक सिनेट श्रेष्ठले आयोजना गर्नुभएको एक पारिवारिक खानपिन तथा भेटघाटमा सरिक हुनुभयो । शुक्रबार आयोजना भएकोले धेरैले त्यस खानपिन तथा भेटघाट कार्यक्रमलाई गुड फ्राइडेको रुपमा लिएका छन् ।
सुनसरी जिल्ला शेरेको उपमा पाएका र सम्बोधनमा सान्दाइको नामले पुकारिने दिलबहादुर श्रेष्ठका छोरा सिनेट श्रेष्ठले जिराइतस्थित आफ्नै कामत घरमा गुडफ्राइडेको आयोजना गर्नुभएको थियो । राजा ज्ञानेन्द्र शाहको अध्यक्षतामा २०६९ सालमा गठन भएको मन्त्री मण्डलमा राज्यमन्त्री समेत रहनु भएका सिनेट श्रेष्ठले राष्ट्रवादी मोर्चाका तर्फबाट राजसंस्था पुनस्र्थापनाको अभियानै चलाउदँै आउनु भएको छ । यसका लागि उहाँले आफ्नै कामत घर जिरायतमा सैयौ युवाहरुलाई प्रशिक्षण समेत दिनुभएको छ । युवाहरुलाई दिएको प्रशिक्षणका विरुद्ध जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी समेत परेको थियो ।
गुडफ्राइड खानपिन र भेटघाट कार्यक्रममा सहहभागी हुन राजा ज्ञानेन्द्र शाह साँझ सात बजे आउनु भएको थियो । दमकबाट आफै गाडी चलाएर परिवारकासाथ जिरायत पुग्नु भएका शाह रातको १ बजेसम्म बस्नु भएको थियो । राज परिवारको स्वागतमा राष्ट्रवादी मोर्चाका संयोजक श्रेष्ठ दम्पत्तिसँगै उपसंयोजक महिनारायण चौधरी, भुपाल प्रधान, रोशन अधिकारी खटिएका थिए । नितान्त पारिवारिक जमघट भनिए तापनि सैयौ स्थानीय सर्वाधारणको उपथिति रहेको थियो । उनीहरुले राजा ज्ञानेन्द्र शाहलाई पुष्पगुच्छाले स्वागत गर्दै जय जयकार समेत गरेका थिए । अघिपछि जस्तै सामान्य रुपमा पुग्नु भएका राजा शाहले पुष्पगुच्छा ग्रहण गर्दै हातमा सेनिटाइजर लगाएर भित्र प्रवेश गर्नुभएको थियो ।
अति गोप्य गुडफ्राइडे
पूर्व राजा सरिक हुनुभएको गुड फ्राइडेको उक्त कार्यक्रमलाई आयोजकले अत्यन्तै गोप्य राखेको भए पनि सैयौ राष्ट्रवादी, राजावादीहरु सरिक भएका थिए । उक्त कार्यक्रममा पूर्व अञ्चलाधीश तथा पूर्व भूमिसुधार मन्त्री रामकुमार सुब्बा, बल्लभ दहाल, पूर्व मन्त्री बद्री मण्डलहरुको समेत सहभागिता रहेको थियो । राजा शाहले उपस्थित सबैसँग भेटवार्ता गर्दै मुलुकको वर्तमान अवस्थाका बारेमा सहभागीहरुसँग जिज्ञासा राख्नु भएको थियो । थोरै खाजा लिएर भेटवार्ता गर्नुभएका राजा शाह समक्ष कार्यक्रममा सहभागी सबैले मुलुक दयनीय अवस्थामा रहेको, दण्डहीनता मौलाएको, भ्रष्टचारसंंस्थागत बन्दै गएको, असुरक्षा बढेको गुनासो गरेका थिए । सहभागीहरुको कुरा गम्भीरतापूर्वक सुन्दै मुन्टो हल्लाएका राजा शाहलाई मुलुक बचाउन केही गर्नेैपर्ने अवस्था आएको समेत बताएका थिए ।
स्वागतमा सांगीतिक कार्यक्रम


पूर्व राजा ज्ञानेन्द्र शाह तथा
परिवारका लागि गुड फ्राइडेको आयोजना गर्नुभएका राष्ट्रवादी मोर्चाका संयोजक सिनेट श्रेष्ठले स्वागतमा सांगीतिक कार्यक्रमको समेत व्यवस्था गर्नुभएको थियो । संयोजक श्रेष्ठले काठमाण्डौबाटै सांगीतिक टोली मगाउनु भएको थियो । भेटघाट कार्यक्रम पश्चात शुरु भएको सांगीतिक कार्यक्रममा राजा शाह झण्डै ४५ मिनेट बस्नु भएको सहभागी उपसंयोजक महिनानारायण चौधरीले बताउनुभयो । सांगीतिक व्याण्डले अधिकांश गीत र सगीत राष्ट्रिय भावनाबाट ओतप्रोत भएकै पस्किएका थिए । गीत र संगीत चलिरहँदा पूर्व राजा शाहले घरी ताली पिट्ने, घरी मुन्टो हल्लाउने गरेर गीत संगीतको रसास्वादन लिनु भएको चौधरीले बताउनुभयो । त्यसबेला रातको झण्डै एक बजिसकेको थियो र साथमा आउनु भएका परिवारका सदस्यहरुलाई निन्द्रा लाग्न थालेको जानकारी स्वकीय सचिवले दिएपछि राजा शाह उठेर आफै खाना लिनु भएको थियो ।
मोर्चा संयोजक राजाबीचको कुराकानी
गुडफ्राइडे कार्यक्रममा आयोजक एवम् राष्ट्रवादी मोर्चाका संयोजक सिनेट श्रेष्ठ र पूर्व राजा ज्ञानेन्द्र शाहबीचमा लामो कुराकानी भएको थियो । धरान साप्ताहिकसँगको फोन वार्तामा संयोजक श्रेष्ठले राजा शाहले मुलुकको वर्तमान अवस्थाप्रति गहिरो चिन्ता लिएको बताउनुभयो । देशको अवस्थाले मलाई दुःखी बनाएको छ, जनताले गरेको विश्वासमा संकट परेको छ र आपूmले जनताको नासो जनतामा सहजढंगले फिर्ता गरेपनि दलहरुले जनताको विश्वासमा विश्वासघात गरेको भन्दै राजाले दुःख व्यक्त गर्नुभयो । श्रेष्ठले पूर्व राजा शाहको भनाई उद्यृत गर्दै भन्नुभयो, मैले अहिलेको संकटबाट नेपाली जनताले चाडै मुक्ति पाउने छन् भन्ने विश्वास लिएको छु । श्रेष्ठले भन्नुभयो राजा शाहमा एक प्रकारको वेग्लै आत्म विश्वास देखें । बारम्बार उहाँले मुलुकको वर्तमान अवस्थाप्रति आफै भलिभाँति जानकारी रहेको र त्यसको निराकरण पनि हुने बताउनु भएको थियो । थप के के वार्ता भयो त भन्ने सवालमा श्रेष्ठले सबै कुरा खुलाउन चाहनु भएन । पटक–पटकको आग्रहमा उहाँले भन्नुभयो मुलुकको अवस्थाप्रति चिन्तित होइबक्सन्छ ।
रातको १ः३० बजे दमक प्रस्थानरात निक्कै छिपिइसकेको थियो तर पूर्व राजामा आराम गर्नुपर्छ भन्ने महसुस पटक्कै देखिएको थिएन, एक सहभागीले भने । सँगै आउनु भएका परिवारका सदस्यहरुमा निन्द्राको भान देखिन्थ्यो । परिवारकै आग्रहका कारण उहाँ फर्कन तयार हुनुभयो । रातको १ः३० बजे गुडफाइडे कार्यक्रमका आयोजक सिनेट श्रेष्ठ दम्पत्तिले पूर्व राजासहित राजपरिवारका सदस्यहरुको विदाई गर्नुभएको थियो । उहाँको विदाइसँगै पूर्व मन्त्री रामकुमार सुब्बा, बद्री मण्डल पनि फर्कनु भएको थियो ।

तपाईको प्रतिक्रिया